सत्ताघटक नेपाली कांग्रेस पार्टी सँगको पाँचदलीय गठवन्धन भत्काउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए सँगै देशमा राजनीतिले नयाँ मोड लिएको छ । दोश्रो ठूलो दल नेकपा एमाले सहितको ७ दल र स्वतन्त्र सांसद सहित १ सय ६९ सांसदको समर्थन सहित प्रचण्ड प्रधानमन्त्री भएका हुन तर विश्वासको मत भने लिन बाँकी छ । प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाको समेत समर्थन छ । राप्रपाले प्रचण्डलाई नयाँ सर्त तेर्साएको छ । प्रचण्ड माथि आगामी पुष २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउँदै सार्वजनिक विदा दिनु पर्ने माग राखेको छ । राप्रपाले आफूहरुले राखेको माग पुरा नभए सरकारमा नजाने बताएको छ ।
राप्रपाको सो मागप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक छन् । तर यो विषयमा प्रधानमन्त्री प्रचण्डले भने कुनै निणर्य गरिसकेका छैनन् । प्रम प्रचण्ड राप्रपाको समर्थन गुमाउन पनि चाहँदैनन्, तर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलकै क्रममा छन् ।
राप्रपाले आफ्नोतर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममा पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने गरी समावेश गरेको छ । तर यो विषयमा निणर्य भइनसकेको कार्यदलका सदस्य एवं राप्रपा महामन्त्री धवलसमशेर राणाले जानकारी दिए। ’हामीले यो विषयलाई न्यूनतम साझा कार्यक्रममा आफ्नोतर्फबाट समावेश गरेका छौं,’ राणाले भने, ’तर यो विषयमा निर्णय भइसकेको छैन ।’ माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल यो विषयमा पहिला गठबन्धनभित्र छलफल हुनुपर्ने बताए । ’पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक विदा दिने विषयबारे पार्टीमा कुनै छलफल भएको छैन । छलफल गर्दा निष्कर्ष जे हुन्छ सोहि अनुसार अघि बढ्नु पर्ने उनको तर्क थियो ।
