पारिवारीक उत्सव मनाएर फर्किदै गरेको रिर्जभ बस गत मंगलबार दुर्घटना हुँदा गाउँ नै शोकमग्न भएको छ । बेथानचोक गाउँपालिका–५ च्याल्टिमा भान्जाको छेवर (ब्रतवन्ध) मा सहभागि भएर फर्किदै गरेका ७९ वर्षिया हजुरआमा निर्मलामाया तामाङको ८ जना परिवारको नै निधन भएको छ भने ६ वर्षिया श्रेया तामाङ भने अस्पतालबाट डिस्चार्ज भई सकेकी छन् । बा.३ ख ४३८५ नंं को बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटना हुँदा परिवारका सबै सदस्यको मृत्यु भएपछि बैदेशिक रोजगारिमा रहेका कान्छा छोरा अमर तामाङ र साँइलो छोरा जयराम तामाङ स्वदेश फर्किएसँगै उनीहरुको अन्तिम दाहसंस्कार बौद्ध परम्परा अनुसार स्वयम्भूमा गरिएको छ । बनेपाको अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत ६ वर्षिया श्रेया तामाङलाई भने आफ्नो सबै परिवार गुमाएको जानकारी छैन । बसमा सँगै यात्रा गरेकी श्रेयाको शरिरभरी सिसा र रगत थियो ।
उनलाई कुनै पनि चोटपटक भने थिएन । अमर–जयराम तामाङको परिवारका ७९ वर्षिय हजुरआमा निर्मलामाया तामाङ, ५५ वर्षिय बुबा कुमार तामाङ, २८ वर्षीय जेठी भाउजु मञ्जु तामाङ, ११ वर्षीय भतिज पुष्कर तामाङ, ३० बर्षीय माइलो दाई बुद्ध तामाङ, २७ वर्षीय माइली भाउजु कोपिला तामाङ, ५० वर्षिय काका आकुर तामाङ र ४३ वर्षीय काकी हेमा तामाङको मृत्यु भएको थियो भने जेठो दाई राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । बनेपा वडा नं. ११ का ८ जना र १४ का २ जना गरी १० जनाको निधन हुँदा सिंगो गाउँ शोकमा डुबेको छ । दुर्घटनामा तेमालका २, बेथान्चोकका २, मण्डनदेउपुर १, ललितपुर १, मकवानपुर जिल्लाका १ जना गरी जम्मा १७ जनाको निधन भएको थियो । दुर्घटनामा २२ जना घाइते भएकामा ३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
धुलिखेल अस्पतालमा पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, ३३ वर्षीया निरुमाया तामाङ, ३९ वर्षीय पेमा तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ र ३७ वर्षीय रवि तामाङ उपचाररत छन्। ३२ वर्षीय विकास तामाङ, ४१ वर्षीया कविता तामाङ, सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, २९ वर्षीय देवराज तामाङ र ३३ वर्षीय विजय वाइबाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंको वीर अस्पताल ट्रमा सेन्टर, ३ वर्षीय सुशान्त तामाङ, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङ र १९ वर्षीय निर्मला तामाङको अन्नपूर्ण न्युरो अस्पताल, बेथानचोक–५ का १३ वर्षीय योगेश तामाङको बालमैत्री अस्पताल, बनेपाका २० वर्षीय रुपक तामाङको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार पीडित, यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधिबीच भएको छलफलमा घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन यातायात व्यवसायी सहमत भएका छन् ।
