काभ्रे जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले एकसरो घरदैलो कार्यक्रम सकाएका छन् । अहिले सबै उम्मेदवारहरु निणर्ायक मतदातातिर आफ्नो जीतका केन्द्रित भएका छन् । काभ्रे जिल्लामा दुइ संसदीय निर्वाचन क्षेत्र छन् । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धन र एमाले उम्मेदवारहरुले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । गत निर्वाचनमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका गङ्गा बहादुर दोङ्ग र क्षेत्र नम्बर २ बाट एमालेका गोकुल बास्कोटाले वाम गठबन्धनका उम्मेदवारका रूपमा जित हात पारेका थिए। तर यस पटक भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएपछि जितेको क्षेत्र जोगाउन नै एमालेलाई कठिन भएको छ। क्षेत्र नम्बर १ मा भने यसै हो भन्ने अवस्था छैन ।
क्षेत्र नं. २ मा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहेता पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाई र नेकपा (एमाले) का गोकुलप्रसाद बाँस्कोटा बीच प्रतिस्पर्धा हुनेछ । गत स्थानीय निर्वाचनबाट पनि स्पष्ट चित्र आइसकेको छ कि स्थानिय मत परिणामलाई हेर्दा शिव हुमागाई सुरक्षित छन् तर दिनेश हुमागाई र मनोज पण्डित जस्ता केही स्वतन्त्र उम्मेदवारका कारण सत्ता गठबन्धन उम्मेदवारलाई होस् वा एमालेका उम्मेदवारहरुलाई पनि त्यति सहज भने देखिँदैन । जनताले कसलाई चुन्छन त्यो कुरा अहिले भन्न सकिने अवस्था पहिले जस्तो छैन ।
काभ्रेका १३ स्थानीय तहमध्ये कांग्रेसले ७, एमालेले १, माओवादी केन्द्रका ४ र नेकपा (एकिकृत समाजवादी) का १ उम्मेदवारले निर्वाचनमा प्रमुख पद जितेका थिए । कांग्रेसले प्रमुख पद जितेका स्थानिय निकाएका वडाहरुमा बहुमत एमालेले जितेको छ । त्यसै कारण एमालेको यो पल्ट आक्रमक चुनावी प्रचार देखिन्छ ।
प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का सूर्यमान दोङ लालध्वज र एमालेका रेशम लामाबीच प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिसभा क्षेत्र १ मा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा रहेका छन् ।
