भक्तपुर निवासी अनामिका थापाले जग्गा बेचेको १२ लाख रकम बैकमा राख्नुपर्छ भनेर श्रीमानले भन्दा भन्दै नमानेर कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को- अपरेटिभ बनेपा शाखामा राख्न पुगेकी थिइन् । त्यहि रकम नलिई घर आए घरमा पस्न दिन्न भनेर श्रीमानले भनेपछि २ महिनादेखि अनामिका आफ्नो पैसा लिन बनेपा बसिरहेकी छिन् । सानु महत (बेथान्चोक-४) १३ लाख रुपैयाँ मुद्दतीमा राखेको रकम लिन उनी तीन दिनदेखि कान्तिपुर सेभिङ्गमा धाइरहेकी छिन् । दिपंङ्कर मिसा पुच बनेपाको समुहको) १२ लाख राखेकोमा ६ लाख फिर्ता पछि व्याजसहित ६ लाख ८६ हजार लिन बांकी रहेको कुरा मिसा पुचः की सोनी बज्राचार्यले काभ्रे टाइम्सलाई बताइन । त्यही रकम लिन कान्तिपुर सेभिङ्गमा पुग्दा त्यस्तै आफ्नो रकम फिर्ता लिन आएको २० जना भन्दा बढी बचतकर्ताहरू धर्नामा थिए । काभ्रे टाइम्स टिम पुग्दा बचतकर्ताहरू निराश अनुहार लगाउँदै हाम्रो आवाज लेखिदिनुहोस् भनेर अनुनय गर्दै थिए ।
कान्तिपुर सेभिङ्गमा बचतकर्ताको धर्ना बढेपछि शाखा प्रबन्धक पुष्पराज कोइरालाले केन्द्रिय अध्यक्ष हिमाल विक्रम मल्ल ठकुरी सहित सञ्चालक सदस्यहरुलाई बनेपा बोलाएका रहेछन् । हामीले अध्यक्ष ठकुरीलाई सोध्यौं, तपाईको सहकारीमा समस्या देखियो अब कसरी वचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्नु हुन्छ भन्ने प्रश्नमा उनले भने- विश्वमा नै आर्थिक मन्दी आएको त्यसको असर नेपालमा पनि परेको छ । हाम्रो लगानी शेयर सदस्यमा छ । एक्कै पल्ट बचतकर्ताहरु बचत अवधि नपुगी आफ्नो रकम फिर्ता माग्न आएपछि यो समस्या आएको हो । हामी सबैको रकम फिर्ता दिन्छौँ, भन्दै थिए ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ बनेपा शाखाका प्रवन्धक पुष्पराज कोइरालाले भने हामीले बजारबाट दैनिक रुपमा ४ देखि ५ लाख रुपैँया उठाउँदै बचतकर्तालाई दिइरहेका छौँ । काभ्रे टाइम्सले सहकारीहरुको अवस्था थाह भएका कारण यस विषयमा बढि नउछाल्न हामीलाई अनुरोध गरे । यसरी उनले अनुरोध गरिर हँदा कान्तिपुर सेभिङ्गका सञ्चालकहरु बचतकर्तालाई बचत फिर्ता दिने कुरामा आश्वस्त पार्दै सम्झौता गर्दै थिए । सम्झौता अनुसार पछिल्लो अवस्थामा आएर धर्ना बसेका बचतकर्ता र सञ्चालक समिति बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार कान्तिर सेभिङ्गले बचतकर्ताहरुलाई अगामी कार्तिक २३ गते भित्र पाकेको व्याज मध्ये ४० प्रतिशत फिर्ता गर्ने सहमति भएको बाँकी मंसिर ११ गते ३० प्रतिशत र मंसिर २८ गते ३० प्रतिशत गरी सबै व्याज भुक्तानी गरिने कुरा शाखा प्रवन्धक पुष्पराज कोइरालाले काभ्रे टाइम्सलाई बताए ।
बनेपा शाखामा बचतकर्ताको भिड भए जस्तै कान्तिपुर केन्द्रिमा पनि ५०० भन्दा बढि संख्यामा बचतकर्ताले धर्ना दिएको कुरा हाम्रा प्रतिनिधि गोविन्द प्रसाद मैनालीले बताए । सहकारीको सिद्धान्त अनुसार नचल्ने, ठुलो देखिएका तर व्यक्तिवादी सामन्ती सहकारीहरु गौतम श्री, गुण सहकारी, सिभिल जस्ता सहकारीहरु बचतकर्तालाई विचल्लीमा पारेर कुलेलाम ठोकी सकेका छन् । काभ्रे जिल्लामा पनि यो समस्या पहिलो पल्ट कान्तिपुरबाट देखिएको छ । यस्ता सहकारी संस्थाहरु कति होलान् ?
बैंक र समुदायमा चल्ने सहकारी संस्थामा भन्दा बढि व्याज पाइने लोभमा जाँदा दुःख पाइस मंगले आफ्नै ढंगले भने जस्तै तपाईलाई होला आफ्नो जीवनभरको कमाई सकभर बैकमा नभए सामुहिक भावनामा चल्ने सहकारी मुल्य, मान्यतामा चलेका सहकारीमा मात्र आफ्नो रकम राखे, सोझो बाटो हिड्नेलाई काँडाले पनि कोर्दैन भन्ने उखान लागू होला ।
