IMG-LOGO

स्थानीय चुनाव सार्ने गठबन्धनको चाल

 मंगल, माघ ११, २०७८  ---

     जसरी पनि केपी ओली र ओलीको पार्टी एमालेलाई हराउन सत्तामा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाख र जेठमा संसदीय र नजुटे स्थानीय तहको चुनावमा जाने आन्तरिक  समझदारी गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गत बिहीबार तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्ने विषयमा समेत छलफल भएको थियो । गत मंगलबार समन्वय समिति बैठकमा माओवादी अध्यक्ष प्रचण्डले वैशाख र जेठमा संघीय र कात्तिक र मंसिरमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गरेपछि राजनीतिमा तरंग उत्पन्न भएको थियो । यो विषयमा सकारात्मक भन्दा नकारात्मक टिप्पणी भए पछि प्रचण्ड हच्किएका छन् । विपक्षी एमालेको विरोध जारी छ ।

     स्थानीय चुनाव वैशाखमा गराउन निर्वाचन आयोगले लगातार सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका बेला प्रचण्ड प्रस्तावको नेकपा एमालेले खुलेर घोर विरोध गरेको छ ।  प्रतिनिधिसभा पूरा कार्यकाल रहनुपर्नेमा सत्ता गठबन्धनले जोड दिइरहेका बेला सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाख र जेठमा नै किन संघीय चुनाव चाहेका छन् त ? आश्चर्यको विषय नै यही हो । माओवादी  निकट नेताहरूका अनुसार मूलतः गठबन्धन सुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा प्रचण्डले अगाडि संघीय चुनाव गराउन प्रस्ताव गरेका हुन् । एमालेले संसद् चल्न नदिने हो भने भंग गर्दिने र चुनावमा जाने सम्भावना बढी छ । एमाले रवैयाका कारण स्थानीय चुनावलाई धकेल्ने र सम्सदीय चुनाव पहिला गर्ने बारेमा सत्ता गठबन्धनको चौथो शक्ति जसपा पनि प्रचण्डको प्रस्तावमा नकारात्मक देखिदैनन् । तर गठबन्धनको पहिलो दल कांग्रेसमा पहिला संघीय कि स्थानीय निर्वाचन गर्ने भन्नेमा साझा धारणा बनेको छैन । कांग्रेस भित्र चुनावी गठबन्धनप्रति पनि एकमत छैनन् । हिजो मात्र शेखर कोइराला पक्षले गठबन्धन माफर्त चुनावमा जान नहुने बताएको छ ।

     प्रतिगमनकारी शक्तिले संसदलाई बन्धक बनाएको  एमालेले संसद चल्न नदिएको  र केपी ओलीले पहिला पनि दुई पटक संसद्को हत्या गरेकै कारण यो अवस्था आएको गठबन्धनका नेताहरू बताउँछन् । अहिले एमालेले भत्ता खाएर  संसद्लाई बेकामे बनाएका छन् । ओलीलाई नै यो संसद चाहिएको छैन । यस्तो प्रमुख प्रतिपक्ष देशलाई घाँडो भयो त्यसैले पहिला संघीय चुनावको प्रस्ताव गरेको  प्रचण्डले बताउदै आएका छन् । मूलतः कांग्रेस सहमत भए वैशाख र जेठमा संघीय चुनावमा जान सकिने प्रचण्डको विश्लेषण छ । गठबन्धनमा संघीय चुनावलाई लिएर सहमति जुटेन भने स्थानीय तहकै निर्वाचनमा अगाडि बढ्नुपर्ने प्रचण्डको भनाई छ । गठबन्धनमा वैशाख र जेठमै संघीय चुनाव गराउँदा कार्यकाल छँदै प्रतिनिधिसभा विघटन गर्नुपर्छ । त्यसैले यो कदम संविधान र सर्वोच्च अदालतको फैसला विपरीत हुने तर्क कतिपयले गरिरहेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्