प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहको मञ्चमा ४ घण्टा बिताए ,शान्ति र संविधानको अगुवा भनेर खुलेर प्रचण्डको प्रशंसा गरे। संविधानसभा र संविधान निर्माणको एकलौटी जस माओवादी अध्यक्ष प्रचण्डलाई दिए । के देउवाले भने जस्तै संविधानसभा र संविधान निर्माणको एकलौटी जस प्रचण्डलाई जान्छ त ? कारण कार्य परिणामलाई हेर्दा यस्तो हुने सक्दैन । नयाँ जनवादी क्रान्ति गरेर नेपालमा जनगणतन्त्र स्थापना गर्ने भन्दै २०५२ फागुन १ गते शसस्त्र बिद्रोह गरेको नेकपा माओवादीले जन–गणतन्त्रको नारा छोडेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भन्दै २०५८ को पहिलो वार्ताकालमा सालमा सशस्त्र आन्दोलनको मुख्य मुद्दाका रूपमा संविधान सभाको माग गरेको थियो । त्यतिबेलाको शाही सरकारले स्वीकार गरेन । यद्यपि गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले संविधानसभाको एजेण्डा स्वीकार गरेपछि मात्रै नेपालमा संविधान सभाको एजेण्डा स्थापित भएको हो । त्यतिबेला देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापतिमात्रै थिएनन् ढिलोगरी ‘प्रतिगमनविरुद्धको आन्दोलन’ मा जोडिन पुगेका थिए ।
वीपी कोइरालाले देखेको संविधान सभाको सपनालाई गिरिजाप्रसादले सम्भव तुल्याएको कांग्रेसजनहरूको दाबी छ । गिरिजाप्रसादकै अगुवाइमा भएको १२ बुँदे समझदारी र लोकतान्त्रिक आन्दोलनको जगमा संविधानसभाको एजेण्डा कार्यान्वयन भएको थियो । यद्यपि संविधानसभाबाट संविधान बनेको हेर्ने गिरिजाप्रसादको चाहना पूरा भएन । पहिलो संविधान सभाकै अवधिमा कोइरालाको निधन भएको थियो। प्रचण्डको अति प्रशंसा गरेका देउवाले ‘गठबन्धनलाई धेरै अगाडिसम्म लैजाने आफ्नो इच्छा’ रहेको समेत बताए । कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जान नहुने मत अधिक छ ।
