नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व छान्न मतदान समय हिजो राती १०ः३० बजे सकिएको छ । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गरेका थिए । यो समाचार तयार पार्दा सभापतिका ५ जना उम्मेदवारको भोट गन्ने (मत गणना) कार्य जारी छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था सहित प्रतिनिधिहरुले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको थियो । सभापतिका जित्नका लागि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनु पर्ने ब्यबस्था नेपाली कांग्रेसको विधानमा छ । यदि कसैले पनि ५१ प्रतिशत मत नल्याए आजै राति सम्म सभापतिका लागि दोश्रो चरणको निर्वाचन हुनेछ ।
सभापतिको दौडमा रहेका हरेक उम्मेदवारले मतदातालाई प्रभावित गर्ने काम गरेता पनि प्रतिष्पर्धा भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बीच भएको छ । देउवाले सत्ताको त्रास देखाएर भोटको राजनीति गरेता पनि कांग्रेस प्रतिनिधिहरुमा यस पटक शेखर कोइरालाको पक्षमा अनौठो खालको माहौल देखिएको छ । सभापतिका अन्य उम्मेदवारहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गरुङ्गको मत निक्कै तल छ । दोस्रो चरणमा सभापतिको निर्वाचन धकेलिएमा देउवाविरुद्ध सबैको मोर्चाबन्दी हुने पक्का छ । प्रकाशमान, बिमलेन्द्र र कल्याणले दोश्रो चारणमा शेखरलाई सघाउने निश्चित छ । त्यसैले पहिलो चरणमै देउवाले नजिते सभापति हुन मुस्किल देखिन्छ । कांग्रेसलाई लामो समयदेखि नेतृत्व गरेका शेरवहादुर देउवाले पार्टीलाई रसातलमा पुर्याएको कतिपय मतदाताहरु वताउँछन् । महाधिवेशन पछि पार्टीलाई एक ढिक्का वनाएर देशको अवस्था परिवर्तनमा जुट्न शेखर कोइरालालाई उनीहरुले सुझाव दिईरहेका छन् ।
देउवाको नेतृत्वमा पार्टी सरकार, सदन र सडक कतै पनि चुस्त नदेखिएकाले एक पटक नेतृत्व परिवर्तन जरुरी रहेको उनीहरुको भनाई छ । ‘देउवाको पुस्ताले पार्टीलाई कहाँ पुर्यायो हामी सवैले देखेका छौ, कांग्रेस कमजोर भएकै कारणले अहिले देशले दुर्गती भोगिरहेको छ’ एक महाधिवेशन प्रतिनिधिले नाम नछाप्ने सर्तमा हामीलाई बताए । उनको भनाईमा अव पार्टीलाई चुस्त वनाउन नेतृत्व परिवर्तन जरुरी छ। नेतृत्व अर्को पुस्तामा जान जरुरी छ ।’
तीन तहका पछिल्ला चुनावसँगै नेपालमा सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४–२९ सम्म भएको हो । नेपालको संविधान २०७२ अनुसार प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट चयन भएर आउने प्रतिनिधिहरूले आगामी चार वर्षका लागि कांग्रेसको नेतृत्व गर्ने छन् ।
महाधिवेशनमा पहिलोपटक सबै पदाधिकारीहरू, केन्द्रीय समितिको १३४ पदमा निर्वाचित हुनेछन । १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष चयन हुनेछन । नेपाली कांग्रेसको विधान अनुसार कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउने व्यवस्था छ ।
