मध्य पहाडी पूर्वीय जिल्लाको व्यापारीक नगरी बनेपाको मध्य भाग बनेपा वडा नं. ५ मा रहेको शीर मेमोरियल अस्पताल सन १९६० मा स्थापना भएको हो । पूर्वीय पहाडी जिल्लाहरु सिन्धुपल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्ला त्यस्तै गरी उपत्यका काठमाण्डौ, भक्तपुर, ललितपुर जिल्ला र काभ्रे जिल्लाका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शीर मेमोरियल अस्पतालको स्वास्थ्य सेवा प्रभावकारीताको सवालमा अस्पतालकी मेडिकल निर्देशक, इन्टरनल मेडिसीन विशेषज्ञ डा. एन्जीला बस्नेतसँग रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । विगत १० वर्षदेखि शीर मेमोरियल अस्पतालमा कार्यरत रहेर नागरिकहरुको स्वास्थ्य लाभ र नागरिकहरुलाई निरोगी बनाउने अभियानमा अहोरात्र खटिनु भएकी डा. एन्जीला बस्नेत निमित्त कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँसँग अस्पतालको भावि योजना र स्वास्थ्य सेवा प्रवाहको बारेमा गरीएको सवाललाई उजगार गरिएको छ :
शीर मेमोरियल अस्पताल बनेपाले नागरिकहरुको स्वास्थ्य लाभका लागि उपलब्ध गराएका सेवा सुविधाको बारेमा बताइदिनुस न ?
२ सय वेड क्षमताको अस्पतालले उपचारका लागि आउने विरामीहरुलाई गुणस्तरीय छिटोछरितो स्वास्थ्य सेवा प्रवाह गरेका छौं । २४ सै घण्टा इमरजेन्सी सेवा, हाडजोर्नी, मातृशिशु, आमा सुरक्षा, वालरोग, नाक कान धाँटी, आँखा, डेन्टल युरोलोजी, मनोसामाजिक परामर्श सेवा, महिलामा हुने ब्रेष्ट क्यान्सरको समेत उपचार गरीन्छ । प्रेसर, सुगर रोगीहरुको समेत उपचार गरिन्छ ।
एक दशक अघि सर्ने रोगहरु वेसी लाग्ने गरेको हाल कडा रोगहरु, मुटु, मृगौला क्यान्सर जस्तो रोगहरु लाग्नेको संख्या तीब्रहरुपमा किन बढेको होला ?
कुनैपनि व्यक्तिलाई रोगले संक्रमण गर्ने सवाल भनेको दैनिकरुपमा आफूले जीउने जीवन शैली, खानपान रहन सहनको कारणले हुनेगर्छ । नयाँ प्रविधिको विकास, दैनिक जीवन विलाशीतामा विताएको खण्डमा रोगले संक्रमण गर्ने गर्छ । जंगफुडको धेरै उपयोग, असन्तुलीत खानपानले मानिसलाई सुगर प्रेसर, मोटापन बढ्ने जस्ता रोगहरु लाग्न सक्छ ।
कस्तो खानालाई सन्तुलित खाना भन्न सकिन्छ ?
कार्वोहाइड्रेट, दाल, साग सब्जीको सन्तुलन मिलाएर खाना खानुपर्छ । प्रोटीन युक्त माछामासु गेडागुडीको तरकारी सबैलाई व्यवस्थित सन्तुलित मिलाएर खाना खानुपर्छ । कार्वाेहाइडेट बेसी खानु हुँदैन, नुन र चिनी बेसी भएको खाद्य बस्तु कम खानुपर्छ ।
रोग नै लाग्न नदिने उपाय बारे बताइदिनुस न ?
निरोगी बन्न मानिस कसरी स्वस्थ रहन सक्छ भन्ने सन्देश मुलक जानकारी लिनुपर्छ । सचेत हुनुपर्छ, दैनिक जीवन यापन सरल सहजढङ्गबाट जीउने, सन्तुलित खानेकुरा खाने, तौल र मोटोपना बढाउने खानेकुरा नखाने, जंङफुड, भुटेको तेलमा तारेको खाद्यबस्तु नखाने । विहान बेलुका नियमित शारिरीक व्याय गर्ने, योग ध्यान गर्ने, सकारात्मक सोच्ने, सत्कर्म गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, चिया, कफी सुर्तीजन्य पदार्थ सेवन नगर्ने, शरीरलाई बेसी हानी नोक्सानी गर्ने, पेय पढार्थ, जाड, रक्सी सेवन नगर्ने गरेमा निरोगी बन्न सकिन्छ ।
शीर मेमोरियल अस्पतालमा कस्ता खालका रोगीहरु उपचार गर्न बेसी आउने गर्छन् ?
देशका दुरदराजको सडक जीर्ण हुनु, सहरी क्षेत्रमा समेत सडक व्यवस्थित नहुँदा यातायातका साधन दुर्घटना हुँदा मानिसको ज्यान गुमीरे क्षति बढ्नुका साथै अङ्ग भङ्ग भइ हाड जोर्नीको समस्या धेरै लिएर आउनेको संख्या बेसी छ । त्यस्तै दीर्घ रोगीहरु प्रेसर, सुगर, दमका रोगीहरु, तेश्रोमा बालरोग जुन दैनिक रुपमा १ सय २० को हाराहारीमा उपचार गर्न आउने गर्छन् । गर्भवती महिला सुरक्षित ढङ्गबाट शिसु जम्माउन आउने गर्छन् ।
जेष्ठ नागरिकहरुमा अनिन्द्रा हुने कम निद्रा लाग्ने हुनुका कारण ?
बालबालिकाहरु १८ घण्टा सुत्न सक्छन्, युवा अवस्था ६ देखि ८ घण्टा सुत्नुपर्छ, सामान्यता जेष्ठ नागरिकहरु पनि ६ देखि ८ घण्टा सुत्नु राम्रो मानिन्छ । स्वास्थ्यको लागि राम्रो हुने वैज्ञानिक कारण छन् । शारिरिक व्याम नहुने, नियमित काम नगर्ने, बस्ने खाने मात्र गर्दा र चिया कफी धेरै खाँदा अनिद्रा हुने शरिर आलस्य हुने, खाना खान नरुच्ने हुन्छ । उमेर घढ्दै गएपछि पुरुषमा प्रोष्टेट हुँदा पिसाब फेर्न राती ३÷४ पटक शौचालयमा जानुपर्ने हुनसक्छ । त्यसैले पनि निद्रा कम लाग्ने हुन्छ । कसैलाई घुर्ने समस्या हुन्छ । यावत कुराले गर्दा निद्रा नलाग्ने हुन सक्छ ।
बहिरङग विभागको भवन नयाँ बन्यो, नागरिकले अब थप सेवा सुविधा के प्राप्त गर्न सकिन्छ ?
बहिरङग विभागमा फर्निचर रङरोगनको कार्य भइरहेको छ । स्वस्थ्य उपचारको लागि विरामी र आफन्तको उपयोगको लागि १२ वटा प्राइभेटरुपमा कोठा प्रयोग गर्न सकिन्छ । अपरेशन कक्ष पहिला ५ वटा थिए, अब थप दुईवटा थपिन्छन् । ९ वटा नयाँ अत्याधुनिक मेशिन जडान हुन्छन्, मृगौला रोगीहरुको लागि डायलसिस गर्ने मेशीन समेत जडान गरी विरामीहरुको लागि उपचार गरिने व्यवस्था हुन्छ ।
अन्त्यमा केही भन्नु छ की ?
गुणस्तीय स्वास्थ्य सेवा सहर देखि गाउँका दुरदराजका नागरिकहरुको स्वास्थ्य लाभको लागि शीर मेमोरियल अस्पताल व्यवस्थापन टिम स्वास्थ्य कर्मी नर्स तथा प्रशासनिक कर्मचारीहरु सेवामा जुट्नुभएको छ । पैसाको अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भनेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने समिति बनाएका छौं । २ सय वेड क्षमताको अस्पताल, १० वटा इमरजेन्सी कक्ष ७ वटा थप्ने योजनामा छौं । ४ वटा अब्जर भेसन कक्ष अब २० वेड थप्ने छौं । आसियु कक्ष ५ वटा छ, अब १५ वटा पु¥याउँछौ, ६ वटा (NICU) ५ वटा (PICU) सिटी स्क्यान मेसिन समेत जडान गरेर स्वास्थ्य सेवा उपचार गरिरहेका छौं । ७० जना डाक्टर, १ सय ९४ नर्स, प्रशासन कर्मचारी समेत गरी ४ सय ५० जनाले सेवा प्रदान गरेका छौं ।
प्रस्तुतकर्ताः रमेशप्रसाद न्यौपाने
