IMG-LOGO

बालबालिकामा जन्मजात मुटुरोग पहिचानमा हार्ट फाउण्डेशनको अभियान

 मंगल, माघ २९, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

    यो हप्ता (फेब्रुअरी ७ देखि १४ सम्म) विश्वभर बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी जनचेतना बढाउने उद्देश्यले ‘जन्मजात मुटुरोग सचेतना सप्ताह’ मनाईंदैछ । जन्मजात रुपमा हुनसक्ने मुटुरोग समस्याबारे जनचेतना बढाएर यसको रोकथामको पहलकदमी तथा यथाशिघ्र उपचार गराउनु यस अभियानको मुख्य उद्देश्य हुन् । ‘प्रत्येक धड्कनको महत्व छ, साना मुटबारे जनचेतना जगाऔं, ठूलो प्रभाव पर्छ’ भन्ने नाराका साथ यसपटक सप्ताहव्यापी यो जनचेतनामूलक कार्यक्रम गरिँदैछ । यसै अवसरमा काभ्रेको बनेपामा पनि किवानिज क्लब अफ काभ्रे, रोटरी क्लब अफ धुलिखेल तथा धुलिखेल अस्पतालको बालरोग विभागको सहकार्यमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानले पनि बालबालिकामा हुने जन्मजात मुटुरोग सचेतना साप्ताहिक कार्यक्रम गरिंदैछ । ‘आई एम ईन वन हण्ड्रेड’ अर्थात् ‘एक सय बालबालिकामा म पनि एक हुनसक्छु, यो समस्या भएको’ भन्ने चेतना दिलाउनको लागि पनि यो अभियानमा सामेल गराई आफ्ना बालबालिकामा यस्तो समस्या छ छैन समयमै पत्ता लगाउन परीक्षणको लागि लान अपिल गरिएको छ ।      गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री बनावट तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘कन्जेनाइटल हार्ट डिजिज’ भनिन्छ । मानव शरीरका विभिन्न अंगमा जन्मजात तवरमा हुने विकृतिमध्ये बढीजसो मुटुमा हुने गरेको पाइन्छ । विभिन्न अध्ययनका नतिजा अनुसार प्रत्येक एक हजार जीवित नवजात शिशुमध्ये ८ देखि १० जनामा जन्मजात मुटुरोग हुने गरेको पाइएको छ । कतिपय शिशुमा यस्तो समस्या जन्मेलगत्तैका लक्षण चिन्हबाट थाहा हुन्छ भने कतिपय बालबालिकामा भने उमेर बढ्दै गएपछिका लक्षणहरुबाट जन्मजात मुटुरोगको आशंका गरिन्छ । जन्मजात मुटुरोगका कारण र प्रकार      जन्मजात मुटुरोगको कारण हुनाको कारण अहिलेसम्म १० प्रतिशत मात्र पत्ता लागेको छ । बाँकी ९० प्रतिशतमा यस्ता समस्याको ठ्याक्कै कारण खुट्याउन गाह्रो हुन्छ । कारण खुट्याउन सकिएकोमा (१० प्रतिशतमा) वंशाणुगत कारण, गर्भावस्थाका बेला मद्यपान, धुम्रपान, हानीकारक औषधिको सेवन, गर्भावस्थामा हुने मधुमेह र कतिपय भाइरल संक्रमण आदि मुुख्य हुन् । बालबालिकामा हुनसक्ने जन्मजात मुटुको समस्या मुटुको दुईतिरका कोठाहरुबीचको भित्तामा प्वाल भएर वा पल्मोनरी नली (मुटुबाट फोक्सोमा रगत प्रवाह हुने रक्तनलीे) साँघुरिएर हुन्छ । बालबालिकामा हुने जन्मजात मुटुरोगले बच्चा निलो हुने तथा निलो नहुने गरी पनि दुई भागमा विभाजन गर्न सकिन्छ ।      जन्मजात मुटुको समस्याको कारण शिशु निलो नहुने रोगमा मुटुको माथिल्लो कोठा (अट्रियम) र तल्लो कोठाहरु (भेन्ट्रिकल) बीचका पर्दामा प्वाल पर्ने, दुई ठूला मुख्य धमनीको बीच अस्वाभाविक रक्तप्रवाह हुने, रक्तनलीहरु वा भल्भहरु खुम्चिने समस्याले हुन्छ । यीमध्ये सबैभन्दा बढी देखिने समस्यामा मुटुको तल्लो कोठा (भेन्ट्रिकल) बीचका भित्तामा प्वाल परेर हो ।     निलो हुने खालको जन्मजात मुटु रोगहरु अन्य जन्मजात समस्याभन्दा जटिल किसिमको हुन्छ । त्यसमध्ये ‘टेट्रालोजी अफ फेलोट’ भनिने गर्भवती महिलाको पाठेघरमा शिशुको मुटुको विकास राम्ररी हुन नसक्दा यो समस्या देखिन्छ । जसकारण शरीरमा अक्सिजनयुक्त रगतको प्रवाह बन्द भई शिशुलाई आवश्यक पोषक तत्व र अक्सिजन प्राप्त हुन कठिन हुन्छ । भलै यस्तोे जन्मजात समस्या दुर्लभ भएपनि यसले मुटु फेल पनि गराउन सक्छ । लक्षण चिन्ह     जन्मजात मुटुरोगका प्रमुख लक्षणमा शिशु वा बालबालिकाको उमेरअनुसार तौल नबढ्नु, बारम्बार छातीको संक्रमण (निमोनिया) हुनु, राम्रोसँग आमाको दूध चुस्न नसक्नु, दूध खुवाइरहेको बेलामा निधारमा पसिना आउनु, तुलनात्मक रुपमा प्रभावित शिशु वा बच्चाको मुटुको चाल बढी हुनु, मुखको भित्री भाग निलो हुनु वा जन्मिँदै निलो भएर जन्मिनु लगायत लक्षण चिन्ह देखिन्छ । पहिचान एवं उपचार      नवजात शिशु वा बालबालिकामा माथि उल्लेखित लक्षण चिन्ह देखिए बाल मुटुरोग विशेषज्ञको निर्देशन अनुसार छात्तीको एक्सरे, नवजात शिशुको मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी) तथा ईसीजी, गर्भभित्र छँदै शिशुको मुटुको भिडियो एक्सरे (फिटल इकोकार्डियोग्राफी) बाट जन्मजात मुटुरोग पत्ता लगाउन सकिन्छ ।     जन्मजात मुटुरोगको उपचार प्रभावित शिशु वा बच्चाको अवस्था र उमेरमा भर पर्दछ । साना तथा सामान्य खालका मुटुका प्वालहरु आफैं टालिने हुन्छन् । यदि उमेर बढेसँगै आपैंm टालिएन र लक्षणहरु भईरहन्छन् भने शल्यक्रिया तथा बिना चिरफार गरी पनि मुटुको प्वाल टाल्न सकिन्छ । आजकल आफैं नटालिएका ठूलाखाले प्वालहरुलाई छाती नचिरिकन क्याथेटरको माध्यमबाट जाली राखी टाल्न सकिन्छ । त्यसैगरी जन्मजात साँघुरिएका भल्भहरुलाई पनि बेलुन जडित क्याथेटर (विशेष खालको तार वा पाईप) को माध्यमबाट फुकाउन (ठूलो पार्न) सकिन्छ, जसलाई मेडिकल भाषामा ‘बेलुन भल्भोटोमी’ भनिन्छ । यसरी क्याथेटरको माध्यमबाट उपचार सम्भव नभएका जन्मजात मुटुको समस्याको उपचारका लागि छात्ती चिरी शल्यक्रियाबाट निको पार्ने गरिन्छ ।     कतिपय निलो हुने जन्मजात मुटुरोग जटिल हुने किसिमको हुने भएकोले दुईदेखि तीन चरणसम्म पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । उपचारपछि जन्मजात मुटुरोगका बिरामी नियमित चिकित्सकको फलोअपमा बस्नुपर्छ । साथै, यसरी जन्मजात मुटुका समस्या भएका, आपंैm टालिएका, बेलुन वा क्याथेटरका माध्यमबाट उपचार गरिसकेका बालबालिकामा चिकित्सकको सल्लाह बमोजिम नियमित औषधिको सेवन गर्नुपर्ने हुन्छ । रोकथाम     गर्भावस्थामा मद्यपान, धुम्रपान गर्नुहुँदैन । चिकित्सकको सल्लाह बिना जथाभावी औषधि खानुहुँदैन । गर्भावस्थामा उच्च रक्तचाप तथा मधुमेहको समस्या भएकामा गर्भावस्थामै शिशुको मुटुको भिडियो एक्सरे (फिटल इकोकार्डियोग्राफी) गराउनु पर्छ । यसरी जन्मजात मुटुरोग कम गर्न वा समयमै पत्ता लगाउन सकिन्छ । अधिकतर जन्मजात मुटुरोग वंशाणुगत पनि हुने भएकाले आफ्नो परिवारमा जन्मजात मुटुरोग भएका व्यक्तिले आफ्ना बालबालिकाको एकपटक मुटु जाँच गराउँदा यसको जोखिमबाट बच्न सकिन्छ । समयक्रमसँगै मुटुसम्बन्धी रोगहरु बढ्दो क्रममा छ । उमेर बढेसँगै देखिने महिलामा मुटुरोग हुनसक्नेबारे भएपनि नवजात शिशु वा बालबालिकामा हुनसक्ने जन्मजात मुटुरोगबारे त्यति जानकारी नहुन सक्छ । जन्मजात मुटुको समस्याको उपचार सम्भव भए पनि जनचेतनाको अभावका कारण समयमै मुटुरोगको लक्षण पहिचान गर्न नसक्दा अभैmपनि कलिलै उमेरमा बालबालिकाको ज्यान गुमाईरहेका छन् । त्यसैले पनि बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी जनचेतना बढाउने उद्देश्यले वर्सेनी ‘जन्मजात मुटुरोग सचेतना सप्ताह’ मनाईंदै आएको छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्