IMG-LOGO

क्यान्सरको कुरा

 मंगल, माघ २२, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

     सन् २००० मा क्यान्सर सम्बन्धी विश्वव्यापी जनचेतना जगाउने उद्धेश्यले अंग्रेजी महिनाको फेब्रुअरी ४ का दिन फ्रान्सको राजधानी पेरिसमा क्यान्सर विस्द्ध पहिलो विश्व सम्मेलनको आयोजना गरिएको थियो । आज अर्थात् हरेक वर्ष फेब्रु्‌अरी ४ का दिन विश्व क्यान्सर दिवस मनाउने क्रममा सन् २०२५ देखि २०२७ सम्मको लागि ॅपृथककै कारण एकता’ भन्ने नाराका साथ विश्वभर क्यान्सर दिवस मनाईंदैछ । यो नाराले क्यान्सर प्रभावित उपचार एवं हेरचाह र क्यान्सर प्रभावितहरुको कथाव्यथा अनुभव साटासाटको महत्वलाई जोड दिइएको छ ।      यसै अवसर पारेर नेपाल सरकारले स्कुले छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप (एचपीभी भ्याक्सिन) अभियान शुरुवात गर्दैछ । नेपाली स्वास्थ्य क्षेत्रमा कालान्तरमा यो कोशेढुंगा साबित हुनेछ ।       नेपालमा पनि पुरुषहरुमा फोक्सोको अनि महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको छ । त्यसो त नेपालीहरुको आयु वृद्धिसँगै बुढेसकालमा लाग्ने अन्य रोगसँगै क्यान्सरको जोखिम पनि बढ्छ । त्यसको अलावा पछिल्लो समय नेपालीहरुको दिनचर्या अनि खानपानमा आएको परिवर्तन नै क्यान्सरको कारक बन्न गएको छ ।       मानव शरीरका अङ्ग विशेषका कोषहरु अनावश्यक र अनियन्त्रित रुपले वृद्धि भयो भने ट्युमर पलाउँछ । त्यसो त ट्युमर पनि दुई खालको हुन्छ साधारण र खतरनाक (जटिल) खालको गरि । खतरनाक खालको ट्युमरलाई साधारण भाषामा क्यान्सर भन्ने गरिन्छ । क्यान्सरको समयमै उपचार गरिएन भने क्यान्सर लागेको अङ्गका नजिकका तन्तुहरुलाई पनि बिस्तारै असर गर्न थाल्छ । यस्तो ट्युमर क्यान्सरको प्रकार अनुसार शरीरको अन्य भागमा पनि फैलिन गई विरामीको मृत्यु पनि हुन्छ । शरीरको एक स्थानबाट अर्को स्थानको तन्तुमा रगत, लिम्फ आदि माध्यमबाट क्यान्सर सर्न सक्दछ । नसर्ने रोगहरु मध्ये क्यान्सर एउटा जटिल रोग हो । क्यान्सर किन हुन्छ ?      सामान्य अवस्थामा शरीरमा कोषहरु बन्ने र निश्चित समय पछि योजित तवरले नष्ट हुने प्रक्रिया जारी रहन्छ । यदि कुनै कारणले कोष विभाजनमा विचलन आएमा वा क्रमभङ्ग भएमा कोष तथा तन्तु बन्ने र नष्ट हुने प्रक्रियामा खलल पुग्छ । यसको परिणाम स्वरुप अनियन्त्रित रुपमा कोष विभाजन हुन थाल्छ । जसलाई ट्युमर भनिन्छ । यस्तो अवस्थामा अङ्ग विशेषले निश्चित आकार पनि ग्रहण गर्न सक्दैन । खतरनाक प्रकारको ट्युमर (क्यान्सर) मा रगतको बहाव नपुगी कुहिने, वरिपरिको भागमा फैलिने, यसको बाह्य सतह छेडिने र कतिपय ट्युमरले अनावश्यक रुपमा रासायानिक पदार्थ उत्पादन गरी थप जटिलता निम्त्याउँछ । सामान्य खालको कोष क्यान्सर खालको कोषमा परिणत हुन वंशाणु (जिन) को थुप्रै ठाउँमा असर पुग्नु पर्दछ ।      सारांशमा कोष विभाजन, यसको नष्ट र डीएनए निर्माणमा महत्वपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुग्यो भने कोष निर्माण प्रक्रिया अनियन्त्रित हुन्छ र क्यान्सर हुन्छ । यसरी क्यान्सर हुने गरी जिनमा असर पुर्‍याउने तत्वलाई अन्को जिन भनिन्छ । कतिपय रेट्रोभाइरसहरुमा यस्तै खाले अन्को जिन हुन्छ । अर्को खाले जिन (जसले ट्युमरलाई दबाउँछ) लाई यस्तै खाले विचलनले शिथिल गरायो भने पनि क्यान्सर निम्टिन्छ ।      तर पनि क्यान्सर किन हुन्छ ठ्याक्कै भन्न सकिन्न । ९० प्रतिशत क्यान्सर अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रभावले हुने विश्वास गरिएको छ भने त्यस बाहेक १० प्रतिशतमा उमेर, लिङ्ग, वंशाणुगत, जातिको भूमिका छ । साधारण भाषामा बासी तथा ढुसी परेका खाना, पोलेर डढेको मासु, सेकुवा, कीटनाशक एवं रासायानिक मल प्रयोग गरिएका खाद्यपदार्थको सेवन, सानै उमेर देखि तथा अधिक धूम्रपान, मद्यपानको सेवनले पनि यो भेगमा हालैको दशकमा क्यान्सरमा बढोत्तरी भएको मान्न सकिन्छ । यसको अलावा यो भेगका अस्पतालमा क्यान्सर निदान गर्न सक्ने चिकित्सक एवं अत्याधुनिक प्रविधिहरुको सुविधाले गर्दा पनि क्यान्सरको रोगी संख्या देखावटी रुपमा बढेको हुन सक्छ ।      उमेर बढ्दै गएपछि क्यान्सरको जोखिम बढ्दै जान्छ यसमा कुनै शंका छैन तर कुनैपनि उमेर समूह सुरक्षित भने छैन । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनी करिब १ करोड १० लाख भन्दा बढी मानिसहरु विभिन्न प्रकारका क्यान्सरबाट प्रताडित हुने गरेका छन् भने ७५ लाख भन्दा बढी मानिसको मृत्यु क्यान्सरबाट भइरहेको छ ।      नेपालमा पनि क्यान्सर रोगीको संख्या निकै बढ्दै गइरहेको छ । हाल नेपालमा ५० हजारमा भन्दा बढी क्यान्सर रोगी रहेको अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनी ३० देखि ३५ हजार नयाँ क्यान्सर रोगीहरु थपिने गरेका छन् । नेपालका क्यान्सर अस्पतालका तथ्यांक अनुसार पुरुषमा मुुख्यतयाः फोक्सो, आमाशय, कलेजो, मुखको क्यान्सर देखिएको छ भने महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर बढी हुने गरेको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्