वर्षौंको मेहनतपछिको एसईई परीक्षामा असफल हुँदाको भन्दा कयौं गुणा बढी पीडा हुँदो रहेछ नौ महिनासम्म हुर्काइएको शिशुको मृत्यु गर्भमै हुँदा । प्रसुतीरोग विशेषज्ञको नाताले प्रसुती सेवाको सेवाग्रहीहरुसँगको सानिध्यले पाएको ज्ञान यही हो । मृत्यु कुनै हिसाबले पाच्य विषय हुँदै हुँदैन, जुनसुकै उमेरको मृत्यु भएपनि । तर पनि जन्म अगाडि नै, आफ्नो अंशको मुख नै देख्न नपाईकनैको मृत्यु बढ्ता पीडादायी हुँदोरहेछ । गर्भे शिशुको मृत्युका कारण गर्भावस्थामा वा प्रसुती व्यथाको दौरान मृत अवस्थामा ५०० ग्राम भन्दा बढी तौलको शिशुलाई मृत शिशु मानिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा २८ हप्ता भन्दा पछिको अवधिमा जन्मिने यस्तै खाले शिशुलाई मृत शिशु मानिन्छ । किनकि २८ हप्ता भन्दा अगाडिको यस्तो समस्यालाई गर्भ तुहिएको मानिन्छ । गर्भे शिशुको मृत्यु गर्भवती महिला, साल तथा गर्भे शिशुसँग सम्बन्धित हुनसक्छ । सारांशमा कुनै कारणवश सालमा वा सालबाट रगत प्रवाह पुगेन अप्रत्याशित रुपमा गर्भे शिशुको मृत्यु हुन्छ । तर २५ देखि ३५ प्रतिशत महिलामा बिना कारण पनि यस्तो समस्या देखिन्छ । गर्भवती महिलामा उच्च रक्तचापजन्य समस्या, अनियन्त्रित मधुमेह, गम्भीर खालको रक्तअल्पता, उच्च ज्वरो (३९.४ डिग्री भन्दा माथि) (तराई क्षेत्रमा औलो, इन्सेफलाइटिसका कारण) छ वा पाठेघरमा साल ठाउँमा नबसेर वा समय अगावै साल छुट्टिएर सुत्केरीपूर्व योनीद्वारबाट रगत देखा प¥यो भने पनि गर्भे शिशुको मृत्यु हुनसक्छ । त्यसैगरी गर्भवती महिलामा हेपाटाइटिस, पोलियो, हर्पिस, इन्फ्लुएञ्जा, हाँडेज्वरो, टोक्सोप्लाज्मोसिस लगायतका विभिन्न खाले संक्रमण तथा रगतजन्य विकार छ भने पनि यस्तो समस्या आउँछ । दम्पत्ति बीच रगत समूह नमिल्दा पनि दोश्रो पटकको गर्भ देखि यस्तो समस्या उब्जिन्छ । गर्भे शिशुमा वंशाणुअंश (क्रोमोजोम) मा खराबी, रुबेल्ला, साइटोमेगालोभाइरस तथा पार्वोभाइरस नामका भाइरलजन्य संक्रमणबाट अकालमा गर्भे शिशुको मृत्यु हुनसक्छ । यस बाहेक स्वास्थ्यकर्मीले पेट बाहिरबाटै बच्चाको अवस्थिति (पाठेघरमा गर्भे शिशुको बसाई) परिवर्तन गर्न खोज्दा, बच्चा पाउनु पर्ने समय सीमा नाघ्दा, कतिपय औषधी सेवनले पनि गर्भे शिशुको मृत्यु हुनसक्छ । करिब ८ प्रतिशत महिलामा भने यो समस्या दोहोरिन सक्छ । दम्पत्ति बीच अमिल्दो रगत समूह, गर्भवती महिलामा मधुमेह, भिरिङ्गी, रगतजन्य विकार, जीर्ण खालको मृर्गौलाको समस्या तथा गर्भे शिशुमा वंशाणुअंशमा खराबी छ भने यस्तो समस्या दोहोरिन सक्छ । गर्भे शिशुको मृत्युको निदान कसरी ? गर्भे शिशुको मृत्युपूर्व गर्भवती महिलाले थाहा पाउने मुख्य लक्षण बच्चा कम चल्ने हो । अर्थात् गर्भमै शिशु मृत्यु भएका धेरैजसो गर्भवती महिलाले यहि शिकायत गर्ने गरेको पाइएको छ । त्यसैले पनि यसलाई हेलचक्रयाईंको रुपमा लिनु हुँदैन । गर्भ भित्रको शिशु मृत्यु भएको निकै समय भैसकेको छ भने गर्भावस्थाका लक्षण चिन्हहरु बिस्तारै हराउँदै जान्छ । जाँचको क्रममा गर्भे शिशुको मुटुको ढुकढुकी सुनिँदैन । वर्तमान समयमा अल्ट्रासाउण्डबाट गर्भे शिशुको मृत्युको निक्र्यौल गरिन्छ । अर्थात् आपूmलाई बच्चा कम चलेको वा चल्दै नचलेको शंका लाग्ने बित्तिकै भिडियो एक्सरे गराई हाल्नु पर्दछ । गर्भमै मृत शिशुको डेलिभरीका लागि स्वास्थ्यसंस्थामा दक्ष प्रसुतीकर्मीको सहयोग लिनु पर्दछ । व्यवस्थापन यस्तो अवस्थामा गर्भ भित्रै शिशु भएको गर्भवती महिलालाई यसको दोषारोपण गरेर गाली गर्नु भन्दा मानसिक ढाडस दिने, मन हल्का हुने सल्लाह दिनु पर्दछ । मृत शिशु पाएपछि दुध सुक्ने औषधिको अलावा अवस्था हेरिकन एन्टिबायोटिक औषधिको जरुरत पर्दछ । सुत्केरीको छ हप्तापछि चेकअपमा जानु पर्दछ । कम्तिमा ६ महिना अर्को बच्चा नपाउनु राम्रो हुन्छ । जन्मान्तरको लागि उपयुक्त परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ । अर्को बच्चा पाउनु (गर्भ आउनु) पूर्व फेरि चिकित्सकको सल्लाह लिनु पर्दछ । त्यसबखत उच्च रक्तचाप, मधुमेह, रगतको विकार तथा अन्य कुनै संक्रमण छ भने त्यो निराकरण एवं नियन्त्रणमा ल्याउनु पर्दछ । साथै चिकित्सकको सल्लाहमा दैनिक रुपमा फोलिक एसिड नामको भिटामिन सेवन गर्नु पर्दछ ।
