पच्चीस वर्षिया शर्मिला (नाम परिवर्तन) तीन पटक गर्भ खेर गइसकेको गुनासो लिई अस्पतालमा आईन् । ती सबै गर्भहरु शुरुवाती तीन महिनामै तुहिएको रहेछ । त्यसरी पटक पटक गर्भ खेर जानुको कारण ठ्याक्कै पत्ता नलागेको रहेछ । यो पटक गर्भधारण गर्नु अगावै सल्लाहका लागि आईन् । फोलिक एसिड भनिने एक खाले भिटामिन राखी महिनावारी रोकिने बित्तिकै आउनको लागि सल्लाह दिइयो । केही हप्तापछि महिनावारी रोकिएको र घरमै पिसाबमा गर्भजाँच गर्दा पोजिटिभ रिजल्ट आएको भनेर पछि आईन् । धेरै पटक गर्भ खेर गएका गर्भवती महिलामा गर्नुपर्ने सबैखाले ल्याब परीक्षणहरु पठाइयो । तर तिनी त्यति निश्चिन्त थिईनन्, यो पटकको गर्भ पनि राम्रो होला भन्नेमा । यो पटकको भेटमा तिनलाई सम्झाउन, बुझाउन अनि काउन्सेलिङ गर्न निकै समय लाग्यो । पाँच, सात जना सेवाग्रहीकै समय भसक्कै खाईदियो । अनेक उदाहरण दिईकन लामो समयसम्मको परामर्शपछि जाने बेला तिनको अनुहारमा हल्का मुस्कान पोतियो । तिनी नियमित गर्भवती परीक्षणको लागि आईरहेकी छिन्, पाँच महिना कटिसक्यो, सबै राम्रो नै भईरहेको छ । अब चाहिँ मानसिक तवरमा पनि तिनी बलियो भैसकेकी छिन् । यो पटकको गर्भ राम्रो होला भन्ने विश्वास छ । गर्भाधानको क्रममा शुक्रकिट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा भई निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तश्राव देखिनु बाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिंदैन । गर्भावस्थाकै दोश्रो त्रैमासिक भित्र योनीमार्गबाट अत्याधिक रगत बग्नुको कारण गर्भ तुहिएर हुन सक्छ । यस क्रममा तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, बेहोश हुने पनि हुन सक्छ । गर्भावस्थाको कुन त्रैमासिकमा र कति पटक गर्भ तुहिएको छ त्यही अनुरुप कारण पनि फरक फरक हुन सक्छ । यस्तो समस्या भएका महिलाको उमेर र तिनीहरुको सरोकार अनुरुप गर्भ तुहिने समस्याको उपचार गर्नुपर्ने हुन्छ । गर्भ तुहिएको कसरी थाहा हुन्छ ? गर्भावधीको १२ हप्ता सम्मको अवधीलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्ता सम्मको अवधीलाई दोश्रो त्रैमासिक र गर्भ रहेको २९ हप्ता देखि ४० हप्ता सम्मको अवधीलाई तेश्रो त्रैमासिक भनिन्छ । विकासोन्मुख देशहरुमा गर्भावस्थाको २८ हप्ता सम्ममा (विकसित देशहरुमा २० हप्ता) पाठेघर भित्रको भ्रुण (गर्भे शिशु) तथा अन्य वस्तुहरु पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिनु भनिन्छ । अधिकतर महिलामा एक दुई पटक सामान्य तवरले गर्भ तुहिन सक्छ, थाहा नपाउनु छुट्टै कुरा हो । करीब १५ देखि २० प्रतिशत महिलामा क्लिनिकल रुपमा (पिसाब तथा रगत जाँचबाट) थाहा भएको गर्भ आफ से आफ गर्भ तुहिन सक्छ भने मुटुको धड्कन देखिए पछि वा सुनिए पछि चाहिँ यसरी आफ से आफ गर्भ तुहिने समस्या ६ देखि ८ प्रतिशतमा झर्दछ । समग्रमा करीब एक प्रतिशत गर्भवती महिलामा आफ से आफ गर्भ तुहिने समस्या हुन्छ । डिम्ब वा शुक्रकिटमा वंशाणुगत समस्या भएमा, पाठेघरमा भ्रुण बस्ने वातावरण अनुकुल नभएमा, पाठेघरमा मासु बढेमा, जननेन्द्रिय भित्र किटाणुजन्य संक्रमण भएमा, गर्भावस्थाको शुरु तिर अधिक ज्वरो आउने कुनै संक्रमण भएमा गर्भ तुहिन सक्छ । तर गर्भावस्थाको दोश्रो त्रैमासिक तिर गर्भ तुहिनुका प्रमुख कारणहरु मध्ये पाठेघरको मुख खुकुलो हुनु पनि हो । त्यसैगरी गर्भावस्थामा धेरै ज्वरो आउने, गन्धयुक्त योनीश्राव बग्ने, रगत देखापर्ने, तल्लो पेट दुख्ने आदि समस्या छ भने हेलचक्रयाँईं गर्नु हँुदैन । संक्रामक तथा यौन रोगहरुका कारण गर्भ तुहिन लागेको हुन सक्छ त्यसैले पनि तुरुन्त उपचार गर्न तर्पm लाग्नु पर्दछ । यदि पहिले एक पटक जीवित बच्चा जन्माइसकेको महिलामा यो पटक गर्भ तुहिने सम्भावना १२ प्रतिशत हुन्छ भने पहिले एक पटक, दुई पटक, तीन पटक, चार पटक र सो भन्दा बढी पटक गर्भ तुहिसकेकामा यो पटक क्रमशः २४ प्रतिशत, २६ प्रतिशत, ३२ प्रतिशत, ४६ प्रतिशत र ५० प्रतिशत फेरि गर्भ तुहिन सक्छ । तर यदि पहिले कुनै जीवित बच्चा जन्माइसकेको छैन भने दुई वा सो भन्दा बढी पटक गर्भ तुहिने बित्तिकै यो पटक गर्भ तुहिने सम्भावना ४० देखि ४५ प्रतिशत हुन्छ । बिना कारण गर्भ तुहिने क्रममा तल्लो पेट दुख्ने एवं योनीद्धार बाट रगत बहने (हल्का वा धेरै मात्रामा) प्रक्रिया सँगै पाठेघरको मुख खुल्ला छ वा बन्द छ, गर्भे भ्रुणको मुटुको धड्कन बाँकी छ, छैन एवं पाठेघर भित्रको गर्भ सम्बन्धि पदार्थहरु सबै निक्लिएको छ, छैनको आधारमा गर्भ तुहिने प्रक्रियालाई विभिन्न थरिमा छुट्याइएको हुन्छ । पटक पटक किन गर्भ तुहिन्छ ? कुनैपनि महिलामा तीन वा सो भन्दा बढी पटक लगातार गर्भ खेर जाने प्रक्रियालाई पटक पटक गर्भ तुहिएको भनिन्छ । कुनै कुनै महिलामा धेरै पटक गर्भवती भैसकेपछि एउटा पनि जीवित बच्चा हुँदैन । प्रसुतिको दृष्टिले यो त्रासदीपूर्ण परिस्थिति हो । यस्ता खालको महिलासँग पटक पटक गर्भ खेर जानाको कारण पत्ता लगाउनु तथा त्यही अनुसार सही उपचार दिन सजग हुनुपर्छ । वंशाणुगत, जन्मजात पाठेघरको खराबी, इन्डोक्राइन ग्रन्थि सम्बन्धि (अनियन्त्रित मधुमेह, थाइरोइड) गडबडी, पाठेघर तथा स्त्री जननेन्द्रियको व्याक्टेरियल एवं भाइरल संक्रमण, मादक पदार्थ तथा धुम्रपान गर्ने बानी र रक्तनली भित्र रगत जम्ने (बाक्लिने ) समस्या भएकामा (गर्भावस्थाको पहिलो त्रैमासिक तिर) पटक पटक गर्भ तुहिने समस्या हुन्छ । यस्ता खाले महिला पहिलोपटक गर्भ जाँचको लागि आउँदा पुराना रेकर्ड छ भने सबै विस्तृत तवरले केलाउनुपर्दछ । कतिपय महिलामा कारण पत्ता नलाग्न सक्दछ । तर मधुमेह, रक्तनली भित्रै रगत जम्ने समस्या, उच्च रक्तचाप, मृर्गौलाको खराबी, जन्मजात बिकलाङ्ग (शारीरिक दोष), आमाको रक्त समूह निगेटिभ थियो कि जाँच गर्नुपर्दछ । नेपाल जस्तो विकासोन्मुख देशमा यस्तो अप्रिय घटना अपर्याप्त गर्भवती जाँच, सुत्केरी सेवा एवं नवजात शिशुको नपुग हेरचाह सँग सम्बन्धित हुनसक्छ । पटक पटक गर्भ खेर गएकी महिलामा गर्भपूर्व नै फोलिक एसिड र गर्भवती बेलामा एस्पिरिन, हेपारिन (रगत जम्न नदिने) औषधि ख्वाउनु पर्ने हुन्छ । महिना पुग्नासाथै वा बच्चाको फोक्सो परिपक्व भएको निक्र्यौल हुनासाथ सिजेरियन अपरेशन गरेरै भए पनि सुत्केरी गराउन ढिलो गर्नु हुँदैन । एकपटक सफल भएपछि त्यसपछिका गर्भ त्यति समस्यापूर्ण नहुन सक्छ । गर्भावस्थाको दोश्रो त्रैमासिक तिर पटक पटक गर्भ तुहिने कारण पाठेघरको मुख खुकुलो हुनाले हो । यस्ता खाले गर्भ तुहिँदा सानो सुतक (बच्चा वरिपरिको पानीको थैली फुटेको) भएको केहि समय पछि नै दुखाई बिना व्यथा लागी गर्भ खेर जान्छ र गर्भे शिशु पनि जन्मेको केहि क्षण सम्म चल्मलाउँछ । यस्तो शिशु बच्ने सम्भावना निकै कम हुन्छ । गर्भवती हुनु पूर्व तथा गर्भावस्थामा आन्तरिक तथा अल्ट्रासाउण्डको माध्यमबाट पाठेघरको मुख खुकुलो छ, छैन पत्ता लगाउन सकिन्छ । यस्ता समस्या भएका महिलाहरुमा अर्को पटकको गर्भ रहेको १४ देखि १६ हप्ता वा पहिले गर्भ तुहिएको अवधी भन्दा कम्तिमा २ हप्ता अगाडि म्याक डोनाल्ड भनिने खालको पाठेघरको मुखमा टाँका लगाइदिएको खण्डमा परिणाम राम्रो निस्कन्छ । अचेल यस्तो खाले टाँकाको सट्टामा गर्भावधीको २८ हप्तासम्म प्रोजेस्टेरोनयुक्त सूई प्रत्येक हप्ता दिँदा पनि उस्तै राम्रो परिणाम देखिएको छ ।
