IMG-LOGO

सुत्केरी महिलामा अत्याधिक रक्तश्राव

 मंगल, जेठ ३०, २०८०  - प्रा.डा. सुमनराज ताम्राकार

                  सुत्केरी लगत्तै वा पछि महिलाको मृत्यु हुनुको मुख्य कारण स ुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारणले हो । विश्वभरि मुलुकहरु मध्ये नेपालमा महिला मृत्युदर धेरै हुनाको कारण पनि यही हो । यसैकारण अहिले पनि विकट वा दुर्गम क्षेत्रबाट रेफर भई आउने तथा हेलिलिफ्ट नै गर्नुपर्ने अवस्था आईलाग्छ । अस्पताल वा संस्थागत तवरमा सुत्केरी भईराख्ने स्वास्थ्यसंस्थाहरुमा पटक पटक यही समस्या भईरहन्छ । घरमै सुत्केरी हुनेहरुमा यो समस्याको लेखाजोखा नै छैन, आखिरी समस्या वा लौ बित्यासै पर्न लाग्यो भन्ने अवस्था नआएसम्म ।                   सुत्केरी व्यथाका चार चरणहरु मध्ये तेश्रो चरण आमाको लागि निकै महत्वपूणर् हुन्छ । प्रथम र दोश्रो चरणमा कुनै अनपेक्षित घटना नभएपनि तेश्रो चरणमा अत्याधिक रक्तश्राव हुने, साल (काँडा) अड्किने, धेरै रगत बग्नाले बेहोश हुने, छातीमा रक्तनली थुनिने तथा कहिलेकाहीं पाठेघर उल्टिने जस्ता जटिलता देखा पर्न सक्दछ ।                   परिभाषाकै कुरा गर्ने हो भने योनीद्वारबाट बच्चा जन्मिँदा ५०० मिलि भन्दा बढ्ता र सिजेरियन शल्यक्रियाद्वारा बच्चा निकाल्दा १००० मिलि भन्दा बढ्ता रगत बग्ने समस्यालाई सुत्केरी पश्चात अत्याधिक रक्तश्राव मानिन्छ । तर व्यवहारिक परिभाषामा बच्चा जन्मिए लगतै स्त्री जनेन्द्रियमा वा बाट सुत्केरी महिलाको स्वास्थ्य स्थितिका नकारात्मक असर पर्ने (प्रमाण स्वरुप नाडीको गति छिटो हुने तथा रक्तचाप घट्ने) गरि भएको जतिसुकै परिमाणको रक्तश्रावलाई पनि अधिक मानिन्छ ।                   नेपालमा अभैm करिब ४० प्रतिशत  सुत्केरी घरमै हुने गरेको छ । त्यसैले घरमै सुत्केरी हुनेहरुमा यसको समस्या कति छ सजिलै आँकलन गर्न नसकिए पनि अस्पतालमा सुत्केरी हुने तथा सुत्केरी व्यथा दौरान जटिल अवस्थाका कारण अस्पताल ल्याई पुर्‍याउने सुत्केरी महिलाहरु मध्ये २ देखि ५ प्रतिशतमा अधिक रक्तश्रावको समस्या पाइएको छ ।                   विकसित देशहरुको दाँजोमा नेपालमा मातृ मृत्युदर (गर्भवती तथा सुत्केरीका कारण अकालमा हुने महिलाहरुको मृत्युदर ) को संख्या कुनै समय ५३९ प्रति लाख छ जबकि विकसित देशहरुमा यो अंक दोहोरो अंकमा पनि छैन । अहिले यो दर घटेर करिब १८६ को हाराहारीमा छ । नेपालमा मातृमृत्युदर अभैm पनि बढी हुनुमा  सुत्केरी पश्चात अत्याधिक रक्तश्राव पनि एक हो ।                   नेपालका शहरी महिलाहरु र दुर्गम, विकट गाउँका महिलाहरु बीचको मातृ मृत्युदरमा निकै असमानता छ । छोरा नै पाउन धेरै बच्चा पाउने, जन्मान्तर नराखी पटक पटक बच्चा पाउने, स्वास्थ्य सेवा सुलभ भएका ठाउँमा पनि गर्भवती जाँच नगराउने, रगत बढ्ने औषधि तथा खानेकुरा नखाने चलन पिछडिएका, दलित तथा निरक्षर जमातमा अझै व्याप्त छ । उनीहरुलाई लक्षित गरि स्वास्थ्य चेतना तथा सेवा कार्यक्रम चलाए पनि विगत केही वर्षमा ह्वात्तै घटेको नेपालको मातृ मृत्युदर अब घटाउन भने धेरै मेहनत गर्नुपर्ने छ ।                   त्यसो त सुत्केरी पश्चात पाठेघर खुम्चिन सकेन, पाठेघर वा योनीमार्गमा चोट लाग्यो (च्याटियो) वा रगत जम्ने प्रक्रियामा कुनै खराबी उत्पन्न भयो भने अनपेक्षित रुपमा सुत्केरी पश्चात अत्याधिक रक्तश्राव हुन सक्छ ।                   सुत्केरी पश्चात हुने अत्याधिक रक्तश्रावको कारणहरु मध्ये करीब ८० प्रतिशत महिलामा पाठेघर खुम्चिन नसक्नाले हो । चार भन्दा बढी बच्चा पाइसकेका, जुम्ल्याहा बच्चा पाएका, बढी वजन भएका बच्चा पाएका, गर्भावस्थामा बच्चा वरिपरि बढ््रता पानी भएका, कुपोषित वा रक्तअल्पता भएका, गर्भावस्थाको तेश्रो त्रैमासिक तिर रक्तश्राव भएका, लामो तथा कष्टपूणर् व्यथा भएका, गर्भावस्थाको निर्धारित समयमा सुत्केरी हुन नसकेर व्यथा शुरु गर्न औषधि दिनु परेका, सुत्केरी व्यथाको तेश्रो चरण राम्ररी व्यवस्थापन नगरिएका महिलामा बच्चा पाएको लगतै पाठेघर राम्ररी खुम्चिन नसकेर अधिक रक्तश्राव हुन्छ ।                   त्यसैगरी सुत्केरी पश्चात रक्तश्राव अत्याधिक हुनुको दोश्रो मुख्य कारण योनीद्वार वरिपरिको चोटपटकले गर्दा हो । करीब २० प्रतिशत महिलामा यस्तै किसिमको जटिलताको कारणले सुत्केरी पश्चात रक्तश्राव अत्याधिक हुन्छ । भर्खरै सुत्केरी भएकी महिलामा पाठेघर नरिवल जस्तो कडा हुनेगरि डल्लो र खुम्चिएको छ, योनीद्वारबाट ताजा आलै रगत बगिरहेको छ भने योनीमार्ग वा पाठेघरको मुखमा कतै चोट पुगी रगत बगेको हुनसक्छ ।                   पहिलो चोटी बच्चा पाउन लागेका महिलालाई सुत्केरी व्यथाको दोश्रो चरणमा सहज बच्चा पाउन योनीेमार्गमा बनाउनुपर्ने घाउ (इपिजिओटोमी) समयमै नबनाएमा योनीद्वार च्याटिन सक्छ । त्यसैगरि फोरसेप वा भ्याकुम जस्ता औजार प्रयोग गरि बच्चा निकाल्नु अघि पनि यथेष्ट मात्रामा इपिजिओटोमी दिएन भने पनि यस्तै जटिलता उत्पन्न सक्छ । बच्चा ठूलो छँदा र सुत्केरी व्यथाको दोश्रो चरणको अन्त्यतिर योनीद्वार र मलद्वारको बीचको भागमा राम्रोसंग टेवा दिएन भने पनि योनीद्वार धेरै च्याटिन सक्छ । चिकित्सकको मद्धतमा कहाँबाट रगत बगिरहेको छ पत्ता लगाई बगिरहेको रक्तनली बाँध्ने तथा च्यातिएको वा काटिएको भाग मिलाएर सिलाउनु पर्दछ ।                   रगतमा अन्तर्निहित खराबी (रगत नजम्ने वा धेरै बेर बगिरहने समस्या) भएका महिलाहरुको संख्या चाहिं नगण्य छ । सुत्केरी व्यथा पूर्व नै पाठेघरबाट साल छुट्टियो, गर्भावस्थामा जण्डिस देखा पर्‍यो, बच्चा पेट भित्र मर्‍यो, रगतमा प्लेटलेट्सको संख्या निकै कमी भयो भने रगत धेरै बग्ने समस्या हुन्छ ।                   सामान्यतया बच्चा जन्मिएको ३० मिनेट सम्ममा साल (काँडा) पनि पाठेघरबाट बाहिरिनु पर्दछ । धेरै बच्चा पाइसकेका, गर्भावस्थामा पेट अनपेक्षित रुपमा ठूलो भएका, लामो व्यथा लागेका, पाठेघरको बनावटमा जन्मजात खराबी भएका तथा ठूलो साल (सुत्केरी महिलामा मधुमेह, निगेटिभ रक्तसमूह, रक्तअल्पता वा जुम्ल्याहा बच्चा बोकेका कारण) भएकामा साल अड्किने सम्भावना बढी हुन्छ । त्यसैगरि पहिले पटक पटक गर्भ तुहिएका/तुहाएका, पाठेघर सफा (क्युरेट) गराएका, सिजेरियन गरि बच्चा पाएका तथा पाठेघरमा अन्य कुनै शल्यक्रिया गरेकामा साल टाँसिने खतरा हुन्छ । साल अड्कियो वा समयमै निकालेन भने पनि पाठेघर राम्ररी खुम्चिन नसक्ने हुनाले अधिक रक्तश्राव हुन्छ ।                   जेसुकै कारणले अत्याधिक रक्तश्राव भएपनि तुरुन्तै गर्नुपर्ने उपचारको क्रममा सहयोग गर्ने व्यक्तिहरु बेलाउने, ठूलो प्वाल भएको सूई प्रयोग गरि सलाइन चलाउन थाल्ने, सुत्केरी महिलाको रक्त समूह अनुसार कम्तिमा दुई पोका रगत क्रसम्याच गरि ल्याउनको लागि भन्ने तर त्यतिन्जेल सलाइन पानी दिइ राख्ने गर्नु पर्दछ । र, अबेला नगरिकन सुविधासम्पन्न अस्पतालमा लाने चाँजोपाँजो गर्नु पर्दछ । अस्पतालमा मात्र पाठेघर खुम्च्याएको धेरै थरिका उपचारका विकल्पहरु सम्भव हुन्छ । त्यसैले संस्थागत वा अस्पतालमै स ुत्केरी गराउनु बुद्धिमानी हुन्छ ।                   यदि सुत्केरी पश्चात साल अड्केर रगत अधिक मात्रामा बगेको भए विरामीलाई तुरुन्तै सलाइन पानी दिने, रगतको बन्दोबस्त गर्ने, पिसाबको थैली खाली गर्ने गरेपछि उचित तवरले साल निकाल्नु पर्दछ । यसका लागि पनि अस्पताल नै उत्तम विकल्प हो । यी सबै किसिमका समस्याहरुको व्यवस्थापन गर्न अनुभवी विशेषज्ञ, २४ घण्टा नै अपरेशन थियटर (शल्यक्रिया कोठा) एवं एनेस्थेसिया, रक्तसंचार सुविधा  हुनु पर्दछ ।                    यस्तो अधिक रक्तश्रावको रोकथामको लागि गर्भावस्थामा हेमोग्लोबिनको मात्रा बढाउने (१० ग्राम प्रतिशत भन्दा बढी), रक्तअल्पता हुन नदिने, जुकाको औषधि एक मात्रा खुवाउने, आइरनयुक्त खानेकुरा (हरियो सागपात, फापर, सिस्नु, गोलभेंडा, फलपूmल आदि) तथा आइरन चक्की नियमित खान सल्लाह दिनु पर्दछ । सुत्केरी पश्चात अत्याधिक रक्तश्राव हुन सक्ने जोखिम भएका महिलाहरु (जुम्ल्याहा बच्चा बोकेका, अनपेक्षित रुपमा पेट ठूलो भएका, धेरै बच्चा पाइसकेका, सुत्केरी पूर्व रक्तश्राव भएका, पहिलेको गर्भमा रगत बगेका, कडा रक्तअल्पता भएकी महिला) समयमै पत्ता लगाई तिनीहरुलाई सुविधायुक्त अस्पतालमा मात्र सुत्केरी गराउन जोड दिनु पर्दछ । यस्ता खाले महिलाको रगत कुन समूहको हो थाहा पाई राख्नुपर्दछ । सुत्केरी दौरान अनुभवी प्रसुती रोग विशेषज्ञको निगरानीमा उचित तरिकाले सुत्केरी व्यथाको व्यवस्थापन गर्नु पर्दछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्