IMG-LOGO

इन्डेमेट्रिओसिस

 मंगल, जेठ १६, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

     अल्ट्रासाउण्ड एवं ल्याप्रोस्कोपी प्रविधिको बहुउपयोगितासँगै विगत केहि दशक देखि इन्डेमेट्रिओसिसको समस्या अलि सहजै पत्ता लाग्ने गरेको छ । त्यसैले पनि इन्टेमेट्रिओसिसको केसहरु बढ्न गएको हो कि भन्ने गलत आभाष हुन्छ । त्यसो त पाठेघरको तीन वटा तह हुन्छन् । यसमध्ये पाठेघरको भित्री तहको सक्रिय तन्तु (ग्रन्थी सहितको) पाठेघरको भित्री तह वा पाठेघर भन्दा बाहिर रहने अवस्थालाई मेडिकल भाषामा इन्डेमेट्रिओसिस भनिन्छ । कथंकदाचित यस्तो तन्तु पाठेघरको मध्य तह (मायोमेट्रियम) मा पुगेको अवस्थालाई मेडिकल भाषामा एडेनोमायोसिस भनिन्छ । इन्डेमेट्रिओसिसका दाग पा फोका पाठेघर बाहिर डिम्बाशय, पाठेघर र गुदद्धार बीचको भाग, पाठेघरलाई अड्याइ राख्ने तन्तुहरु, पेटमा रहेको शल्यक्रियाको घाउ, नाइटो, योनी, पाठेघरको मुख, फोक्सोमा पनि हुन सक्छ ।      किशोरी वा महिलाहरुमा महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या अर्थात् भएको समस्याको कारण पिडादायी महिनावारी हुने कारणहरु मध्ये स्त्री जननेन्द्रियको माथिल्लो भाग वरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस) एवं उमेर पुगेका महिलामा पाठेघर समग्रमा बढ्ने स्थिति (एडेनोमायोसिस) पनि हुन् । सामान्यतया १० प्रतिशत किशोरी वा महिलामा यस्तो समस्या हुन्छ । जब कि निःसन्तान महिलाहरु मध्ये करीब ३० देखि ४० प्रतिशतमा इन्डेमेट्रिओसिसको समस्या हुन्छ ।      तारन्तार तल्लो पेट दुख्ने समस्याबाट प्रताडित महिलाका गुनासाहरुको सही विश्लेषण गरिएन भने वा आवश्यकता अनुसार अल्ट्रासाउण्ड एवं ल्याप्रोस्कोपी प्रविधि लगायतका जाँच प्रविधि अपनाईएन भने पटक पटक विभिन्न खाले एण्टीबायोटिक तथा पेट दुख्न कम हुने औषधिहरु मात्र लिइरहने सम्भावना बढी हुन्छ । प्रभावित महिला वा किशोरी यस्तो समस्या निराकरणका लागि क्लिनिक वा अस्पताल धाउँदैमा आजित हुन्छन् ।      इन्डेमेट्रिओसिसको समस्या हुनुमा थुपै्र सिद्धान्तहरु आँकलन गएिका छन् । यसमध्ये महिनावारीको समयमा रगतको बहाव डिम्बबाहिनी नली हुँदै उल्टो बहाव भई भित्री पेटमा रगत जम्छ भन्ने सिद्धान्तलाई बढ्ता विश्वास गरिएको छ । यसका साथै पाठेघरको भित्री तहमा हुने तन्तु जन्मजात रुपमा अन्यत्र हुनाले, शल्यक्रियाको दौरान भित्री पाठेघरको तन्तु भित्री पेटको मासु तथा घाउमा प्रत्यक्ष बस्न गएर, लिम्फेटिक वा रक्तसंचार प्रणाली बाट सर्नाले र कतिपय महिलामा वंशाणुगत वा इम्युनोलोजिकल कारणले हुन्छ भन्ने तर्कहरु पेश गरिएका छन् । कारण जुनसुकै भएपनि पाठेघरको भित्री तहको तन्तु अन्यत्र बस्न गएपछि त्यहाँ पनि प्रत्येक महिना इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको प्रभावमा मासिक श्राव जस्तै हुन्छ । ती स्थानहरुमा रगत बगेर जाने ठाउँ नहुनाले त्यहीँ जम्मा हुन्छ । यस्तो प्रकारको रगत जम्ने समस्या आपैंmमा चिडचिडाहट पूर्ण हुनुका साथै वरिपरिका तन्तुहरुमा पनि चिडचिडाहट ल्याउँछ । यसैकारण पिडा उत्पन्न गराउनुका साथै यताउती टाँसिने, त्यान्द्रा बनाउने तथा झिल्ली बाक्लो बनाउने गर्दछ ।      स्त्री जननेन्द्रियका अन्य अङ्गहरुमा भन्दा पुठ्ठा भित्रका अङ्गहरु (डिम्बाशय, पाठेघर वरिपरि अङ्गहरु तथा तन्तुहरु) इन्डेमेट्रिओसिसले बढ्ता प्रभावित गर्दछ । करीब ३० देखि ४५ वर्षका अविवाहित वा बच्चा नपाएका वा थोरै बच्चा भएकालाई बढ्ता प्रभावित गर्दछ । निसन्तान, विवाह पश्चात आपूm खुशी पहिलो बच्चा पाउन ढिलाई गरेका एवं उच्च घरानियाँका महिलाहरुलाई पनि यस्तो समस्या हुन्छ । करीब २५ प्रतिशत यस्ता खाले विरामीमा कुनै लक्षण चिन्हहरु नभएपनि महिनावारीको बेला सानो पेट दुख्ने (५० प्रतिशतमा), महिनावारी गडबड हुने (६० प्रतिशतमा), निसन्तानको समस्या (४० देखि ६० प्रतिशत), यौन सम्पर्क राख्दा पिडा हुने, कम्मर तथा पुठ्ठा दुख्ने तथा दिसा पिसाब गर्दा पोल्ने हुनसक्छ ।      स्त्री जनेन्द्रिय एवं तल्लो पेटको आन्तरिक परीक्षणमा खासै खराबी नदेखिन सक्छ । तर कहिलेकाहीँ पाठेघर मलद्वार तर्पm र्फिर्कएको र पाठेघर वरिपरिका अङ्गहरुमा टाँसिने कारण पाठेघर यताउती चलाउन नमिल्ने खालको हुन्छ । यदि डिम्बाशयमा रगत जमेको खण्डमा डल्लो भेटिन सक्छ । ल्याप्रोस्कोपी प्रविधि पुठ्ठा भित्रको स्त्री जनेन्द्रिय वरिपरि हुने इन्डेमेट्रिओसिस पत्ता लगाउनका लागि अति उपयुक्त प्रविधि हो । तर कहिलेकाहीँ रगत र भिडियो एक्सरे बाट पनि यो समस्या ठम्याउन सकिन्छ ।      स्त्री जनेन्द्रियको माथिल्लो भाग वरिपरि बाहेक अन्यत्र हुने इन्डेमेट्रिओसिसका आ–आफ्नै लक्षण चिन्हहरु हुन्छन् । त्यसैले विरामी सँग पूर्णरुपमा जानकारी लिनुपर्दछ । समग्रमा अन्यत्र इन्डेमेट्रिओसिस हुँदा महिनावारीको बेला डल्लो उठ्ने, सोही ठाउँमा केहि दिन अत्याधिक पिडा हुने, हल्का रगत बग्न सक्ने तथा दिसा पिसाब गर्दा पोल्ने हुन सक्छ । स्त्री जनेन्द्रिय वरिपरि बाहेक अन्यत्र हुने इन्डेमेट्रिओसिस समस्याको उपचार धेरैजसो साधारण शल्यक्रिया बाट गर्नुपर्ने हुन्छ । तर छोटो समयका लागि महिनावारी नगराउने हर्मोनयुक्त औषधिहरु चलाउन सकिन्छ ।      इन्डेमेट्रिओसिस समस्याको ठ्याक्कै रोकथाम गर्ने कुनै उपायहरु नभएपनि महिनावारी वरिपरि पाठेघर तथा डिम्बबाहिनी नलीमा गरिने परीक्षणहरु नगर्न तथा विवाह पश्चात् बच्चा पाउन धेरै ढिलो नगर्नु वेश हुन्छ । यस समस्याको उपचारको क्रममा पिडा गर्ने तथा महिनावारी नगराउने हर्मोनयुक्त औषधिहरु दिन सकिन्छ । कतिपय अवस्थामा हर्मोनयुक्त औषधिले सुधार नभएमा, डिम्बाशय तथा डिम्बबाहिनी नलीलाई बेरुप बनाएमा तथा पुरानो रगत जमेर ठूलो डल्लो बनेमा शल्यक्रियाकै जरुरत पर्न सक्दछ । इन्डेमेट्रिओसिससँगै निःसन्तान समस्याको व्यवस्थापन विशेष तवरले गर्नुपर्दछ ।      महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) को बेलामा जस्तै इन्डेमेट्रिओसिसका कारणले हुने पिडाबाट छुटकारा पाउन कतिपय घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानी लाई रबरको थैली वा सिसाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा पानी तताएर पिए आराम मिल्छ । आफ्नो दैनिक क्रियाकलाप जारी राख्न सकिन्छ । व्यायाम र घुमफिर गर्नाले आफ्नो ध्यान अन्यत्र मोडिने हुनाले फाइदै पुग्दछ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्दछ । एडेनोमायोसिस      विशेष प्रकारको इन्डेमेट्रिओसिसको समस्या अर्थात् एडेनोमायोसिसमा पाठेघभित्री तहको तन्तु किन पाठेघरको मध्य तहमा पुग्दछ भन्ने प्रष्ट कारण थाहा नभएपनि पटक पटक गर्भ रहेको, बलपूर्वक पाठेघर सफा गरेको तथा महिलाको शरीरमा अत्याधिक मात्रामा इस्ट्रोजेन हर्मोन उत्पादन भएको खण्डमा यस्तो स्थिति सिर्जना हुन सक्छ । करीब ४० प्रतिशत विरामीमा भने एडेनोमायोसिससँगै पाठेघरको वरिपरि इन्डेमेट्रिओसिसको समस्या पनि हुनसक्छ ।      एडेनोमायोसिसको समस्यामा पाठेघरको समग्र क्षेत्रमा असर गर्ने हुनाले महिलाको उमेर अनुसार पाठेघरको आकार ठूलो हुन्छ । यस्ता महिला प्रायसः बच्चा पाइ सकेका तथा ४० वर्ष नाघेका हुन्छन् । पाठेघर ठूलो हुनुको साथै महिनावारी हुँदा धेरै रगत बग्ने, सानो पेट दुख्ने, पिसाब वा यौन सम्पर्क राख्ने बेलामा दुख्ने हुन्छ । यस समस्याको निदान अल्ट्रासाउण्डबाट गर्न सकिन्छ । सन्तान पुगिसकेका महिलामा पाठेघर निकाल्ने शल्यक्रिया गर्नु पर्दछ । महिनावारी हुँदा दुखाई कम गर्नु बाहेक अन्य उपचारले खास फाइदा पुग्दैन ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्