नेपालमा लकडाउन लागू गरिएको ७० औं दिन बैतडीको जिल्ला अस्पतालमा १९ वर्षिया महिलालाई आकस्मिक सिजेरियनबाट बच्चा निकालियो । ती महिलामा उच्च ज्वरो आएका कारण आरडीटी परीक्षण गर्दा पोजिटिभ आएकाले उनका उपचारमा अपरेशन र उपचारमा संलग्न १९ स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो । लकडाउनका बेला सहज यातायात, नियमित गर्भ जाँचको अभाव तथा स्वास्थ्य सेवाको पहुँचको कमीले गर्दा गर्भ लम्बिन गई विभिन्न समस्या निम्तिन सक्छ । गर्भावस्थाको ४३ हप्था पुगिसकेकाले गर्भे शिशु वरिपरिको पानीको मात्रा निकै कमी हुन गएकाले सिजेरियनको आवश्यकता परेको हो । निश्चय पनि नियमित गर्भ जाँच गराईरहेका महिलाहरु अर्थात् स्वास्थ्यकर्मीको सुपरिवेक्षणमा स्वास्थ्य जाँच गराईरहेका गर्भवती महिलाहरुमा भन्दा अन्य गर्भवती महिलाहरुमा गर्भावस्था सम्बन्धी आवश्यक मात्रामा जानकारी नहुनाले तुलनात्मक रुपमा तिनीहरुमा गर्भ लम्बिने समस्या बढी हुन्छ । मानिसको गर्भ ४० हप्ता (२८० दिन) को हुन्छ । तर औसतमा १० देखि १५ प्रतिशत गर्भवती महिलाहरुमा गर्भावस्था लम्बिने समस्या हुन्छ । यसमा पनि ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गएको गर्भलाई भने राम्रो मानिँदैन । करिब ८० प्रतिशत गर्भवती महिलाहरुले सुत्केरी हुने मिती तोकिएको दुई हप्ता अघि देखि एक हप्ता पछिको अवधिमा बच्चा पाउँछन् । तर कुनै पनि गर्भवती महिलाको गर्भ ४० हप्ता नाघ्ने बित्तिकै आमाको तथा गर्भे शिशुको स्वास्थ्यमा पर्न जाने प्रतिकुल असरको मात्रा ४० हप्ता नाघेको अवधि अनुसार बढ्दै जान्छ । स्वीडेनमा गरिएको एक अध्ययन अनुसार व्यथापूर्व तथा सुत्केरी व्यथा दौरान हुने शिशुको मृत्युको सम्भावना ४० हप्ताको दाँजोमा ४१ हप्तामा १.५ गुणाले, ४२ हप्तामा २ गुणाले तथा ४३ हप्तामा ३ गुणाले बढेको पाइयो । त्यसैगरि एक अर्को अध्ययन अनुसार महिना नाघेपछि पेट भित्रै बच्चाको मृत्यु हुने सम्भावना ६ गुणाले बढेको पाइयो । गर्भावस्था लम्बिन सक्ने केहि कारणहरुमा महिनावारी रोकिएको गलत गणना, वंशानुगत कारण, पहिलो पटकको गर्भ, पहिले पनि लामै गर्भ अवधि, एकै ठाउँमा आराम गर्ने बानी, गर्भवती महिलाको ढल्कँदो उमेर, बच्चाको टाउको राम्ररी नबन्नु, सल्फेटेज नामक रासायानिक पदार्थको कमीले हुन् । मानिसको गर्भ अवधीलाई तीन वटा त्रैमासिकमा बाँडिएको हुन्छ । प्रत्येक त्रैमासिकमा गर्भवतीका लक्षण चिन्ह तथा त्यस अवधिमा उत्पन्न हुने समस्या भने फरक फरक हुन सक्छ । यस क्रममा बच्चा पाउने दिन नजिकिँदै आएपछि धेरैजसो गर्भवती महिलाहरुमा सुत्केरी व्यथा लागेका लक्षणहरु (जस्तै योनीद्वारबाट थोरै रगत मिश्रित बाक्लो सिंगान जस्तो योनीश्राव बग्ने, सानो सुतक भएको खण्डमा पिसाब जस्तै पानी बग्ने तथा ढाड वा पेटको अघिल्लो भागबाट दुख्न शुरु भई तल्लो पेट, जनेन्द्रिय वरिपरि र तिघ्राको भित्री भाग तर्फ सर्ने खालको पेट दुख्ने आदि) देखा पर्दछ । गर्भावस्था लम्बिए अनुसार साल पनि बढी पाको हुने हुनाले नकारात्मक समस्याहरु देखा पर्छन् । गर्भवती महिलालाई उच्च रक्तचाप र मधुमेह रोग पनि छ भने यस्तो समस्या झनै निम्तिन्छ । गर्भावस्था लम्बिनाले आउने सक्ने समस्याहरु गर्भावस्था, सुत्केरी व्यथा तथा सुत्केरी पश्चात् गरि तीनवटै चरणमा हुन सक्छ । गर्भावस्थामा बच्चा वरिपरिको पानी कम हुने, पानी खैरो वा हरियो लेदो जस्तो हुने, बच्चालाई पेट (पाठेघर) भित्र सकस हुने, पेट भित्रै बच्चाको मृत्यु हुने हुन्छ । सुत्केरी व्यथामा व्यथा राम्ररी अगाडि नबढ्ने, खैरो पानी सर्किने, पानीको कमीले सालनाल च्यापिन (थिचिन) सक्ने, महिना नाघेकामा अनुपातिक रुपमा बच्चा ठूलो हुने तथा काँध अड्किने कारण सुत्केरी व्यथाको दौरान महिलाको योनीद्वार वा जनेन्द्रियमा चोट पुग्ने, बच्चा पाउन भ्याकुम वा फोरसेप नामक औजार हाल्नुपर्ने एवं सिजेरियन अपरेशनको सम्भावना बढ्ने हुन्छ । सुत्केरी पश्चात् खैरो पानी सर्किनाले नवजात शिशुको छाती पाक्ने, श्वासप्रश्वास फेल खाने, शरीरमा ग्लुकोजको मात्रा कमी हुने, रगत बाक्लो हुने हुन्छ । महिना पुगेकोमा भन्दा महिना नाघेकोमा नवजात शिशु रोगी वा मृत्यु हुने सम्भावना निकै गुणाले बढ्छ । गर्भवती महिला तथा सुत्केरी आमामा पनि त्यसैगरी समस्या बढ्छ । यसका साथै महिना नाघेकामा जन्मजात शारीरिक विकलाङ्ग तथा सुत्केरी व्यथा दौरान श्वासप्रश्वास कार्यमा खराबी आएर नवजात शिशुको मृत्यु हुने तथा सुत्केरी बेलामा चोट पुगेर तथा खैरो पानी सर्केर नवजात शिशुलाई जन्मिँदै रोगी बनाइदिन्छ । त्यसैले पनि महिना नाघेको गर्भवती महिला यथाशिघ्र स्वास्थ्य संस्था लगी चाँडो सुत्केरी गराउने उपाय गर्नुपर्दछ । यस्तो महिलामा सुत्केरी व्यथा लामो हुनसक्ने र बच्चाको काँध अड्किन सक्ने हुनाले थप सजगता अपनाउनुपर्दछ । बच्चालाई सकस भएको चिन्ह देखिनासाथ फोरसेप, भ्याकुम जस्ता औजारको वा सिजेरियन शल्यक्रियाको जरुरत पर्न सक्छ । यसो त्यसो अपरेशन गर्नुपर्ने सम्भावना निकै बढ्छ । गर्भ लम्बिन नदिन के गर्ने ? महिना नाघ्ने समस्याका यति विघ्न जटिलताहरु भएका कारण निश्चित समयमै बच्चा पाउन गर्भवती महिला तथा उनका परिवार एवं सम्बन्धित चिकित्सक (स्वास्थ्यकर्मी) ले सजगता अपनाउनु पर्दछ । नियमित गर्भ जाँचको क्रममा गर्भवती महिलाले महिनावारी रोकिएको सही सूचना दिनुपर्दछ । यस क्रममा स्वास्थ्यकर्मीले पनि महिनावारी रोकिएको मितिको निश्चित गर्नका लागि अघिल्लो बच्चालाई स्तनपान गराइरहेको तथा महिनावारी रोकिनु पूर्वका तीन महिना (कम्तिमा) नियमित रुपमा महिनावारी भएको एवं परिवार नियोजनका कुनै पनि साधन अपनाएको छ, छैन सोधपूछ गर्नुपर्दछ । वंशानुगत कारण, पहिलो पटकको गर्भ, पहिलको गर्भ अवधि, एकै ठाउँमा आराम गर्ने बानी, गर्भवती महिलाको ढल्कँदो उमेर, बच्चाको टाउकोको बनावट बारे हेक्का राख्नु पर्दछ । महिनावारी रोकेको मितीमा कुनै शंका लागेको खण्डमा यथाशक्य छिटो भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गराउनु पर्दछ । मिति निश्चितताको लागि महिनावारी रोकिए बाट जति छिटो अल्ट्रासाउण्ड गराउन सकियो त्यति विश्वसनीय बढ्छ । यसरी महिना नाघेकी कतिपय गर्भवती महिलामा अस्पताल आउनु पूर्व अर्थात् सुत्केरी व्यथा शुरु हुनु पूर्व नै पेटमै बच्चाको मृत्यु भैसकेर आउने गरेकोले गर्भावस्थाको अन्त्य तिर पेटमा बच्चा राम्ररी चल्छ, चल्दैन, गर्भे शिशुको मुटुको काम गर्ने तरिका थाहा पाउने सी टी जी जाँच, अल्ट्रासाउण्डबाट बच्चाको वरिपरि यथेष्ट पानी छ, छैन जाँच्नु पर्दछ । नियमित गर्भ जाँचको क्रममा ३७ हप्ता पूरा भएपछि बच्चा आउने बाटो यथेष्ट छ, छैन जाँच्ने क्रममा पाठेघरको मुख र गर्भे शिशु बीचको झिल्ली चलाएर व्यथा अलि चाँडै शुरु गराउन सकिन्छ । महिना नाघ्न लागेको छनक मिल्नासाथ स्वास्थ्यसंस्था लगी यथाशक्य चाँडो सुत्केरी गराउने उपाय गर्नुपर्दछ ।
