पछिल्लो समय नेपालमा मिर्गौला रोगीहरुको संख्या बढ्दो छ । जीर्ण खालका स्वास्थ्य समस्याहरुमा अनियन्त्रित मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको भित्रको आन्तरिक समस्या, वंशाणुगत तवरमा मिर्गौलामा धेरै सिस्ट आउने (पोलिसिस्टिक किड्नी डिजिज), पटक पटक मिर्गौलाको संक्रमण, पिसाब नलीमा अवरोध, अनुचित रुपमा प्रयोग गरिएका केही पेनकिलर सेवनका कारण मिर्गौला बिग्रिन सक्छ । त्यसैगरी आकस्मिक रुपमा अत्यधिक पखाला वा बान्ता, अधिक रक्तश्राव, बेहोश हुनु, सख्त संक्रमण, कतिपय औषधि वा विषाक्त पदार्थ सेवन, पिसाब नलीमा व्यवधान, मिर्गौलाको सुजन एवं ठूला खालका शल्यक्रिया वा गम्भीर दुर्घटनाका कारण पनि छिट्टै मिर्गौला बिग्रिन सक्छ । यस्तो परिस्थितीमा मिर्गौलाले शरीरको आवश्यक काम गर्न नसक्ने अवस्था र बिरामीको समग्र अवस्थाका आधारमा डायलाइसिसको अवस्था पहिचान गरिन्छ । लामो समय मिर्गौलाको समस्याका कारण शरीरमा पोटासियम थुप्रियो, फोक्सोमा पानी जम्यो, रगत गम्भीर तवरमा अम्ल र क्षारको सन्तुलन बिग्रियो, रगतमा युरियाको मात्रा अचाक्ली बढ्यो, मिर्गौला फेल खायो वा सघन खालको मिर्गौला समस्या भयो भने डायलाइसिस चाहिन्छ नै । कतिपय अवस्थामा मिर्गौला प्रत्यारोपण नै चाहिने हुन्थ्यो । तर विकल्पको रुपमा केही समय डायलाइसिस गराइ राख्नुपर्ने बाध्यता हुन्छ । पेटमा वा रगतमा मेशिन जडि क्रमशः पेरिटोनियल र हेमोडायलाइसिस गर्ने गरिन्छ । तर प्रभावकारिता र शिघ्रताको लागि हेमोडायलाइसिस नै प्राथमिकतामा पर्दछ । माथि उल्लेखित आकस्मिक कारकहरुका लागि एक, दुई पटकको डायलाइसिस गराए पुग्ने भएपनि जीर्ण खालका समस्याहरुमा भने नियमित तवरमा डायलाइसिस गराइ राख्नुपर्ने हुन्छ । यस्तो अवस्थामा हेमोडायलाइसिस गराईराख्नुपर्ने व्यक्तिमा आर्टेरियोभेनस फिस्टुला अर्थात् छोटकरीमा एभी फिस्टुला बनाउनु पर्ने नै हुन्छ । मेडिकल भाषामा अर्टरी भन्नाले धमनी र भेन भन्नाले शिरा भन्ने बुझिन्छ । त्यसैगरी शरीरमा अप्राकृतिक तवरमा दुवैतिर प्वाल भएको (नली जस्तो) मार्ग बन्ने प्रक्रियालाई सर्जिकल भाषामा फिस्टुला भनिन्छ । तर मिर्गौलाका दीर्घरोगीहरुको हकमा जानाजानी शल्यक्रियाकै माध्यमबाट धमनी र शिराबीचको कृत्तिम तवरमा फिस्टुला बनाएपनि प्रभावित व्यक्तिको स्वस्थतालाई विचार गरेर यसलाई प्राकृतिक नै मानिन्छ । यसरी सामान्यतया हातमा बनाइने हेमोडायलाइसिसका लागि बनाइने एभी फिस्टुला स्थायी रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) हो । यो नै दीर्घकालीन हेमोडायलाइसिसका लागि सबैभन्दा सहज एवं भरपर्दो पहुँच विन्दु हो । हेमोडायलाइसिसको माध्यमबाट प्रभावित व्यक्तिको शरीरबाट पर्याप्त मात्रामा रगत मेसिनमा निकालेर सफा गरी पुनः शरीरमा पठाइन्छ । त्यसका लागि सामान्य शिरा पर्याप्त बलियो एवं त्यसमा रक्तप्रवाह पनि पर्याप्त हुँदैन । यदि कृत्तिम तवरमा धमनीलाई शिरासँग जोड्यो भने धमनीभित्रको उच्च दबाबको रहेको रगत शिरातर्पm जान्छ । केही हप्तामा शिरा पनि मोटो, चौडा र बलियो हुँदै जान्छ । यसलाई परिपक्वता (म्याचुरेशन) भनिन्छ । डायलाइसिसका बेला त्यसमा दुईवटा डायलाइसिस सियो राखेर रगत निकाल्ने र फिर्ता पठाउने गरिन्छ । सामान्यतया प्रभावित व्यक्तिको कम प्रयोग हुने हात (ननडोमिनेन्ट) हात वा पाखुरामा बनाइन्छ । तर समयक्रममा यसरी बनाइएको फिस्टुलामा विभिन्न समस्या देखिन थाल्छ । फिस्टुला साँघुरिएर रक्तप्रवाह घट्ने, फिस्टुलामा रगत जमेर फिस्टुला अचानक काम गर्न छोड्ने, फिस्टुलामा संक्रमण हुने, पटकपटक फिस्टुलामा सियो घोचेका कारण फिस्टुलाको भित्ता पातलो भई बेलुन भैंm फुल्ने (एन्युरिज्म बन्ने), फिस्टुलातर्फ अत्यधिक रक्तप्रवाह भई हातका औँलामा रक्तसञ्चार कम हुने, फिस्टुला मार्पmत् धेरैे रक्तप्रवाह भएका कारण मुटुमाथि अतिरिक्त भार पर्ने तथा फिस्टुला परिपक्व नै नहुने समस्या हुनसक्छ । (बाँकी अर्को अंकमा)
