IMG-LOGO

एथलेट्स फुट के हो ?

 मंगल, सावन ५, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    क्यान्डिडल इन्टरट्राइगोसँग मिल्दोजुल्दो छालाजन्य अर्को एउटा समस्या छ – एथ्लेट्स फुट । एथ्लेट भन्नाले खेलाडी भन्ने बुझिन्छ । एथ्लेट्स फुट भनेको पनि छालामा ढुसी (फङ्गस) को संक्रमणका कारण हुने रोग नै हो । यो प्रायः डर्माटोफाइट नामक ढुसीका कारण हुन्छ । यी ढुसीहरु न्यानो, ओसिलो तथा अँध्यारो वातावरणमा छिटो बढ्छन् । त्यसैले लामो समयसम्म जुत्ता र मोजा लगाइरहँदा खुट्टामा पसिना जम्मा भई संक्रमणको जोखिम बढ्छ ।     एथ्लेट्स फुट हुने प्रमुख कारणहरुमा लामो समयसम्म बन्द जुत्ता लगाउनु, धेरै पसिना आउने खुट्टा हुनु, भिजेको मोजा वा जुत्ता प्रयोग गर्नु, सार्वजनिक बाथरुम, स्विमिङ पुल तथा जिममा नाङ्गो खुट्टाले हिँड्नु, संक्रमित व्यक्तिको जुत्ता, मोजा वा तौलिया प्रयोग गर्नु, खुट्टा राम्रोसँग नधोई वा नसुकाई राख्नु, मधुमेह तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा संक्रमणको जोखिम बढी हुनु आदि हो ।      यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । संक्रमित व्यक्तिको छालासँग प्रत्यक्ष सम्पर्क हुँदा वा संक्रमित जुत्ता, मोजा, तौलिया, बाथरुमको भुइँ वा अन्य वस्तु प्रयोग गर्दा संक्रमण फैलिन सक्छ । एथ्लेट्स फुटका लक्षणहरुमा औँलाहरुको बीचमा चिलाउने, रातो दाग देखिने, छाला खुइलिने वा चर्किने, प्रभावित भाग पोल्ने वा दुख्ने महसुस हुने, छालामा सेतो र नरम तह देखिने, दुर्गन्ध आउने, स–साना पानीका फोका आउने, संक्रमण बढेमा नङ बाक्लो, पहेँलो वा बेरुपको हुने हुन्छ ।     खेलाडी, सैनिक, प्रहरी, मजदुर, धेरै समय जुत्ता लगाउने कर्मचारी, पौडी खेल्ने व्यक्ति, मधुमेह भएका बिरामी एवं कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरु जोखिममा रहने हुन्छन् । रोकथाम र उपचारको हकमा क्यान्डिडल इन्टरट्राइगोमा जस्तै हो । यसका लागि थप सावधानीमा सफा र सुख्खा मोजा प्रयोग गर्ने, हावा छिर्ने जुत्ता लगाउने, नियमित रुपमा नङ काट्ने, भिजेको जुत्ता मोजा प्रयोग नगर्ने गर्नुपर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्