महिनावारी, जसलाई सामान्य भाषामा रजस्वला भनिन्छ । महिलाको प्रजनन जीवनको एक प्राकृतिक जैविक प्रक्रिया हो । अधिकांश महिलाहरुमा किशोरावस्थामा महिनावारी सुरु हुन्छ र रजोनिवृत्ति नहुँदासम्म नियमित रुपमा भइरहन्छ । तर, कहिलेकाहीँ महिनावारी अपेक्षित उमेरमा सुरु नहुन सक्छ, केही समयका लागि रोकिन सक्छ वा पूर्ण रुपमा बन्द हुन सक्छ । महिनावारी नहुने अवस्थालाई चिकित्सकीय भाषामा एमेनोरिया भनिन्छ । एमेनोरिया स्त्रीरोगसम्बन्धी चिकित्सकीय अभ्यासमा देखिने सामान्य समस्यामध्ये एक हो । यो आफैंमा कुनै रोग होइन, बरु शरीरको सामान्य प्रजनन प्रणालीमा कुनै समस्या भएको संकेत हो । कतिपय अवस्थामा महिनावारी नहुनु पूर्ण रुपमा सामान्य हुन्छ भने अन्य अवस्थामा यसले कुनै अन्तर्निहित स्वास्थ्य समस्यालाई जनाउन सक्छ, जसका लागि चिकित्सकीय मूल्याङ्कन र उपचार आवश्यक हुन्छ । महिनावारी किन बन्द हुन्छ भन्ने बुझ्नका लागि सामान्य महिनावारी चक्र कसरी सञ्चालन हुन्छ भन्ने बुझ्नु आवश्यक छ । महिनावारी चक्र मस्तिष्क, हर्मोन, डिम्बाशय, पाठेघर तथा प्रजनन मार्गबीचको जटिल समन्वयद्वारा नियन्त्रित हुन्छ । मस्तिष्कको हाइपोथालामस नामक भागले एक हर्मोन उत्पादन गर्छ, जसले मस्तिष्ककै पिट्युटरी ग्रन्थिलाई सक्रिय बनाउँछ । त्यसपछि पिट्युटरी ग्रन्थिबाट फोलिकल स्टिमुलेटिङ हर्मोनर ल्युटिनाइजिङ हर्मोन उत्पादन हुन्छ, जसले डिम्बाशयलाई इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन उत्पादन गर्न प्रेरित गर्छ । यी हर्मोनहरुले सम्भावित गर्भधारणका लागि पाठेघरको भित्री तहलाई तयार पार्छन् । यदि गर्भधारण भएन भने, पाठेघरको यही भित्री तह झरेर रक्तस्रावका रुपमा बाहिर निस्कन्छ, जसलाई महिनावारी भनिन्छ । त्यसैले सामान्य महिनावारी हुन मस्तिष्क, हर्मोन उत्पादन गर्ने ग्रन्थि, डिम्बाशय, पाठेघर तथा प्रजनन मार्ग सबैले सही रुपमा काम गर्नुपर्छ । यीमध्ये कुनै पनि भागमा समस्या आएमा एमेनोरिया हुन सक्छ अर्थात् महिनावारी रोकिन सक्छ । एमेनोरियालाई मुख्य रुपमा दुई प्रकारमा वर्गीकरण गरिन्छ— प्राथमिक (अर्थात् कारणरहित) र कारणयुक्त एमेनोरिया । प्राथमिक एमेनोरिया भन्नाले स्तन विकास तथा किशोरावस्थाका अन्य सामान्य शारीरिक परिवर्तन भइसकेपछि पनि १५ वर्षको उमेरसम्म महिनावारी सुरु नभएको अवस्थालाई जनाउँछ । साथै, यदि १३ वर्षको उमेरसम्म पनि किशोरावस्थाका कुनै लक्षण देखिएका छैनन् र महिनावारी सुरु भएको छैन भने पनि प्राथमिक एमेनोरियाको शंका गरिन्छ । कारणयुक्त खालको एमेनोरियाभनेको पहिले नियमित रुपमा महिनावारी भइरहेकी महिलामा लगातार तीन महिनासम्म महिनावारी नहुनु हो । यदि पहिलेदेखि महिनावारी अनियमित थियो भने लगातार छ महिनासम्म महिनावारी नहुनुलाई यस्तो खालको एमेनोरिया मानिन्छ । जीवनका कतिपय अवस्थामा महिनावारी नहुनु पूर्ण रुपमा सामान्य मानिन्छ । जस्तै— किशोरावस्था सुरु हुनुअघि, गर्भावस्थामा, स्तनपान गराइरहेको समयमा तथा रजोनिवृत्तिपछि । यस्ता अवस्थालाई शारीरिक प्रक्रियागत एमेनोरिया भनिन्छ र सामान्यतया उपचारको आवश्यकता पर्दैन । एमेनोरियासँग सम्बन्धित लक्षणहरुले यसको वास्तविक कारण पत्ता लगाउन महत्वपूर्ण संकेत दिन सक्छन् । वाकवाकी लाग्ने, स्तन दुख्ने वा संवेदनशील हुने, स्तनबाट दूधजस्तो तरल पदार्थ बग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने, अनुहारमा डन्डीफोर आउने, मोटोपन, शरीरमा तातो लहर उठ्ने, योनि सुख्खा हुने तथा प्रत्येक महिनामा तल्लो पेट दुख्ने जस्ता लक्षणहरुले विभिन्न कारणहरुतर्फ संकेत गर्न सक्छन् । विशेष गरी प्रत्येक महिनामा पेट दुख्ने तर महिनावारी नहुने अवस्था प्रजनन मार्गमा अवरोध भएको संकेत हुन सक्छ । रोगको सही कारण पत्ता लगाउन विशेषज्ञ चिकित्सकले सबैभन्दा पहिले विस्तृत रुपमा सोधपुछ गर्छन् । त्यसपछि आवश्यक शारीरिक परीक्षण एवं जननेन्द्रियको परीक्षण पनि गरिन्छ । सोधपुछ र परीक्षणका आधारमा विभिन्न प्रयोगशाला तथा इमेजिङ परीक्षणहरु गरिन्छन् । यसमा गर्भ परीक्षण, विभिन्न हर्मोनहरुको परीक्षण, अल्ट्रासाउन्ड तथा प्रजनन हर्मोनसम्बन्धी रगत परीक्षण समावेश हुन्छन् । आवश्यक परे एमआरआई, हर्मोन परीक्षण, जिनेटिक परीक्षण, हिस्टेरोस्कोपी (पाठेघरभित्रको दूरबिन परीक्षण) वा ल्यापारोस्कोपी (पेटभित्रको दूरबिन परीक्षण) पनि गर्नुपर्ने हुन सक्छ । एमेनोरियाको उपचार यसको मूल कारणमा निर्भर गर्दछ । केही महिलामा सन्तुलित आहार खाने, तनाव कम गर्ने तथा स्वस्थ तौल कायम गर्ने जस्ता जीवनशैलीमा सुधार मात्र पर्याप्त हुन सक्छ । अन्य अवस्थामा हर्मोनको असन्तुलन सुधार गर्न वा थाइराइड तथा पिट्युटरी ग्रन्थिका समस्याको उपचार गर्न औषधिको आवश्यकता पर्न सक्छ । पोलिसिस्टिक ओभरी सिन्ड्रोम भनिन अवस्थामा दीर्घकालीन व्यवस्थापन आवश्यक हुन्छ भने संरचनात्मक असामान्यता भएका बिरामीमा शल्यक्रिया आवश्यक पर्न सक्छ । गर्भधारण गर्न चाहने महिलाहरुलाई विशेष प्रकारको प्रजननसम्बन्धी उपचार आवश्यक हुनसक्छ । सबै प्रकारका एमेनोरिया रोक्न सम्भव हुँदैन । तथापि, स्वस्थ तौल कायम गर्ने, सन्तुलित आहार खाने, अत्यधिक व्यायाम नगर्ने, तनावको उचित व्यवस्थापन गर्ने तथा हर्मोनसम्बन्धी समस्या भएमा समयमै उपचार गराउने बानीले यसको जोखिम कम गर्न सकिन्छ । महिनावारी बन्द हुने मुख्य कारणहरु महिनावारी अचानक बन्द भएमा त्यसको पछाडि कुनै अन्तर्निहित कारण हुन सक्छ। प्रमुख कारणहरु निम्नानुसार छन् । तनाव, तौल घट्नु तथा अत्यधिक व्यायाम – शारीरिक तथा मानसिक तनावले महिनावारीलाई नियमन गर्ने हर्मोनहरुमा प्रत्यक्ष असर पार्न सक्छ । अत्यधिक तनाव, छोटो समयमा धेरै तौल घट्नु, पोषणको कमी, खानपानसम्बन्धी विकारतथा अत्यधिक व्यायामका कारण शरीरमा हर्मोनको सामान्य उत्पादन दबिन सक्छ र डिम्ब उत्सर्जनहुन छोड्न सक्छ । परिणामस्वरुप महिनावारी बन्द हुनसक्छ । यस्तो समस्या विशेष गरी खेलाडी, नर्तकी तथा खानपानसम्बन्धी विकार भएका व्यक्तिहरुमा बढी देखिन्छ । मस्तिष्क तथा पिट्युटरी ग्रन्थिसम्बन्धी समस्या – मस्तिष्कभित्रको हाइपोथालामस र पिट्युटरी ग्रन्थिले प्रजनन हर्मोनको नियमनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छन् । मस्तिष्कमा हुने ट्युमर, टाउकोमा गम्भीर चोटपटक, मस्तिष्कको गम्भीर संक्रमण तथा विकिरण (रेडियेसन) उपचारजस्ता अवस्थाले यी अंगहरुको कार्यमा बाधा पु¥याउन सक्छ । त्यसैगरी, प्रोल्याक्टिन नामक हर्मोनको मात्रा असामान्य रुपमा बढ्ने अवस्था (हाइपरप्रोल्याक्टिनेमिया) पनि एमेनोरियाको कारण बन्न सक्छ । यस्तो अवस्था पिट्युटरी ग्रन्थिको ट्युमर, केही औषधिको प्रयोग वा थाइराइड ग्रन्थिको रोगका कारण हुन सक्छ । अर्को दुर्लभ अवस्था, शिहान सिन्ड्रोम हो, जुन प्रसूतिपछिको समयमा अत्यधिक रक्तस्राव भएपछि हुन सक्छ । यसले पिट्युटरी ग्रन्थिमा क्षति पु¥याउँदा स्तनमा दूध उत्पादन नहुने, अत्यधिक थकान हुने तथा महिनावारी बन्द हुने समस्या देखिन सक्छ । पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) र समयअघि डिम्बाशयको कार्य बन्द हुने अवस्था – पोलिसिस्टिक ओभरी सिन्ड्रोम भएका युवतीहरुमा महिनावारी अनियमित हुने सबैभन्दा सामान्य कारणहरुमध्ये एक हो । यो हर्मोनको असन्तुलन तथा नियमित रुपमा डिम्ब उत्सर्जन नहुने अवस्थासँग सम्बन्धित हुन्छ।सामान्यतया महिलाको डिम्बाशय रजोनिवृत्तिसम्म सक्रिय रहन्छ । तर केही महिलामा ४० वर्षको उमेर पुग्नुअघि नै डिम्बाशयको कार्यक्षमता कम हुन थाल्छ। यस अवस्थालाई समयअघि डिम्बाशयको कार्य बन्द हुने अवस्था भनिन्छ । यसको कारण आनुवंशिक, आत्मप्रतिरक्षात्मक रोग, क्यान्सरको उपचार वा कहिलेकाहीँ अज्ञात पनि हुन सक्छ । जन्मजात असामान्यता – केही बालिकाहरुप्रजनन अङ्गमा जन्मजात असामान्यतासहित जन्मिन्छन् । उदाहरणका लागि, टर्नर सिन्ड्रोमका कारण यौवनावस्थाको विकास ढिलो हुन सक्छ र प्राथमिक एमेनोरिया हुन सक्छ । त्यस्तै, मेयर–रोकिटान्स्की–कुस्टर–हाउजर नामक सिन्ड्रोममा स्तन तथा अन्य महिला विशेषताहरु सामान्य रुपमा विकास भए पनि पाठेघर जन्मजात अनुपस्थित हुन्छ, जसका कारण महिनावारी हुँदैन । यसका साथै कतिपय अवस्थामा पाठेघरको भित्री तह (इन्डोमेट्रियम) मा क्षति पुगेका कारण पनि महिनावारी बन्द हुन सक्छ । एशरम्यान सिन्ड्रोम समस्या पटक–पटकपाठेघरमा क्युरेट गर्नाले वा पाठेघरको गम्भीर संक्रमणपछि हुन सक्छ । यस अवस्थामा पाठेघरभित्र टाँसिने समस्या विकसित हुन्छ, जसले महिनावारी रोक्न सक्छ । कतिपय बालिकामा महिनावारीको रगत सामान्य रुपमा उत्पादन भएपनि प्रजनन मार्गमा अवरोध भएका कारण बाहिर निस्कन सक्दैन । यसको सबैभन्दा सामान्य उदाहरण प्वालरहित कन्याजाली (इम्परफोरेट हाइमेन)हो, जसमा हाइमेनले योनिद्वारको मुख पूर्णरुपमा ढाकेको हुन्छ । यस्ता बालिकाहरुलाई प्रत्येक महिनामा तल्लो पेट दुख्ने भए पनि बाहिरबाट महिनावारी भएको देखिँदैन ।
