IMG-LOGO

उच्च रक्तचापको समस्या

 मंगल, जेठ १२, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    अघिल्लो हप्ता आईतबार अंग्रेजी महिना मे १७ तारिख विश्व उच्च रक्तचाप दिवस मनाइयो । उच्च रक्तचापको समस्यालाई साईलेन्ट किलरको रुपमा लिइन्छ । किनकि यसले लक्षण चिन्ह कुनै नदेखाई मानिसलाई एकैचोटी मृत्युको मुखमा पु¥याउन सक्छ । त्यसमध्ये यसले मस्तिष्कभित्र अधिक रक्तश्राव गराई मृत्यु गराउनु चाहिँ प्रमुख हो । त्यसो त उच्च रक्तचापकै कारण मुटु र मिर्गाैलामा पनि असर गराई कालान्तरमा यी अङ्गहरुको काममा जटिलता ल्याई बिस्तारै मृत्युको नजिक पु¥याउँछ । उच्च रक्तचापलाई सामान्य स्वास्थ्य समस्याका रुपमा लिने तथा यो समस्या भईसकेपछि पनि मद्यपान, धुम्रपान एवं खराब जीवनशैली जारी नै राख्ने गरेका कारण पनि अन्य स्वास्थ्य समस्या थपिई रहने परिस्थिती छ ।      पछिल्लो समय विकासोन्मुख राष्ट्रहरुमा नसर्ने रोगहरु सुषुप्त प्रकोपकै रुपमा बढिरहेको छ । नेपालमा नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुन्छ । उच्च रक्तचाप र मुटुसम्बन्धी रोगका कारण धेरैले ज्यान गुमाईरहेका छन् । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नेपालमा गरेको स्टेप्स सर्भे’ २०१९ को नतिजा अनुसार उच्च रक्तचाप र मुटुसम्बन्धी रोगका कारण ३९ प्रतिशत मानिसको मृत्यु भएको पाइएको हुन्छ । युवावस्थामै ३० देखि ६९ वर्षका २५ प्रतिशतमा उच्च रक्तचापको समस्या पाइएको छ । १५ देखि २४ वर्षको उमेर समूहमा १० प्रतिशतलाई उच्च रक्तचापको समस्या छ । र, अभैmपनि जनसंख्याको ठूलो हिस्सा उच्च रक्तचापका परीक्षण र उपचार भन्दा बाहिर छन् । धेरैले आफूलाई उच्च रक्तचापको समस्या भएको थाहै पाउँदैनन् र त्यसैपनि उचित उपचारमा ढिलाई हुनजान्छ । कतिपयले साइड इफेक्ट देखिन्छ भनेर औषधि नै शुरु गर्न मान्दैनन् । कतिपयले औषधि नियमित सेवन गर्दैनन्, बीचमै छोड्छन् । कति हुनुपर्छ रक्तचाप ? रक्तचाप उच्च हुनाको कारण के हो ?     अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । कालान्तरमा यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । उच्च रक्तचापको समस्या हुने भनेको प्रायसः वयस्कहरुलाई हो । वयस्क मानिसको सामान्य रक्तचाप १२०÷८० मिलिमिटर मक्र्युरी हुनुपर्छ । त्यो भनेको माथि (सिस्टोलिक) १२० सम्म र तल (डायस्टोलिक) ८०–९० भएमा रक्तचाप सामान्य भएको मानिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको अवस्थालाई भने प्रि–हाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप विकसित हुनुभन्दा अगाडिको अवस्था हो । अतः माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भएको मानिन्छ । उच्च रक्तचापका कारण रक्तनलीहरुमा दवाब बढ्छ ।      विज्ञका अनुसार उच्च रक्तचाप मुख्यतः दुई, तीन किसिमबाट हुन्छन् । प्राइमरी खालको उच्च रक्तचापमा कुनै प्रष्ट कारण भेटिँदैन तर यो खराब जीवनशैलीसँग सम्बन्धित हुन्छ । सेकेण्डरी प्रकारको उच्च रक्तचाप भने शरीरको अन्य कुनै रोगका कारण विकसित हुन्छ । जस्तै कि मिर्गौला एवं एड्रिनल ग्रन्थिको रोगका कारण उच्च रक्तचापको समस्या उत्पन्न हुन्छ । अर्कोथरि रक्तचापको गर्भावस्थाकै कारण देखापर्छ र सुत्केरी भएसँगै हराएर जान्छ ।     उच्च रक्तचापका मुख्य कारक तत्वहरुमा मोटोपना, तनाव, अस्वस्थ जीवनशैली वा आनुवंशिक कारणहरु हुन् । व्यस्त जीवन, महत्वाकांक्षी सोच, अनियमित निद्रा, सुर्ती सेवन, मदिरापान, अस्वस्थकर एवं जंकफुड, शारीरिक निष्क्रियता र प्रदूषणका कारण पनि उच्च रक्तचाप लगायतका नसर्ने रोगका समस्या बढिरहेका छन् । यसका साथै मधुमेह र उच्च कोलेस्टेरोलको समस्याले पनि उच्च रक्तचाप निम्त्याउँछ ।  लक्षण चिन्ह     विज्ञका अनुसार शुरुमा उच्च रक्तचापका विरामीमा कुनै लक्षण नहुन सक्छ । अर्थात्, ९० प्रतिशत उच्च रक्तचापका विरामी लक्षणविहीन हुन्छ भने करिब १० प्रतिशतमा मात्रै लक्षण देखिन्छ । चिकित्सकका अनुसार उच्च रक्तचाप हुँदा अत्याधिक टाउको दुख्ने, एक्कासी नाकबाट रगत बग्ने, रिंगटा लाग्ने, थकाइ महशुश हुने, कानमा समस्या आउने, चिन्ता हुने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्ने र बीचबीचमा मुटुको धड्कन रोकिए जस्तो हुने लक्षण देखा पर्छन् ।  रोकथाम     उच्च रक्तचापलाई लामो समयसम्म नियन्त्रणमा राखिएन भने हृदयघात, मस्तिष्काघात एवं मिर्गौला सम्बन्धी समस्याको जोखिम बढाउन सक्छ । नियमित स्वास्थ्य परीक्षण नगर्ने हुँदा उच्च रक्तचाप सजिलै पत्ता लाग्दैन । जोखिम नियन्त्रणका लागि रक्तचाप मापन गर्नु एक मात्र उपाय हो । डिजिटल मेशिनको सहायताले घरमै पनि नियमित रुपमा रक्तचाप नाप्न सकिन्छ । तर कहिलेकाहीँ क्लिनिक वा अस्पतालमा मेशिन लिएर गई क्यालिब्रेसन अर्थात् ठिक छ छैन चेक गराउनु पर्छ । यसको रोकथामका लागि विद्यालय तहदेखि नै रक्तचाप एवं मुटुको रोग सम्बन्धी पठनपाठनको व्यवस्था र समुदायस्तरमै परीक्षण गर्नुपर्ने देखिन्छ । ४० वर्ष माथिका सबैले वर्षेनी कम्तिमा एकपटक रगत र पिसाब पनि परीक्षण गर्ने बानी गर्नुपर्छ ।  उच्च रक्तचाप नियन्त्रण गर्ने खानेकुरा     पोटासियमले सोडियमको प्रभावलाई कम गर्ने हुँदा पोटासियमयुक्त फलफूल, सागसब्जी बढी खानुपर्छ । दूध, दही र मोहीमा क्याल्सियम हुन्छ, जसले रक्तचापलाई  नियन्त्रण गर्न मद्धत गर्छ । नुनलाई चटक्कै छाड्न हुँदैन । धेरैले उच्च रक्तचाप भएपछि नुन नै नहाली सागसब्जी खाने गरेका हुन्छन्, जुन गलत हो । उच्च रक्तचाप भएकाहरुमा पनि नुन आवश्यक हुने भएकाले नुन खानुपर्छ तर यसको मात्रा घटाउनुपर्छ । म्याग्नेसियमको कमीले रक्तचापको समस्या निम्तिने भएको म्याग्नेसियमयुक्त खानेकुराको सेवन गरेर रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । केरा, ब्रोकाउली, सिमी काजु, बदाम, एभोकाडो, माछा, ओखर, हरियो सागपात, गेडागुडी, फर्सीको बीउ, भटमास, तिल, तोफु लगायत खानेकुरा म्याग्नेसियमका प्रमुख स्रोत हुन् । यसका साथै स्याउ, अनार, किवी, कागती, सुन्तला, अंगुर, खर्बुजा, गोलभेंडा, लसुन,अमिल्याइएको खानेकुरा (तर कम नुनिलो), माछा पनि उच्च रक्तचापको लागि राम्रो मानिन्छ ।     ग्रिन टी, करेला जस्ता तीतो खानेकुराले पनि रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयका लागि मात्र हुन्छ । त्यस्तै, म्याग्नेसियमले रक्तनलीलाई लचिलो र फराकिलो बनाउँछ र रगतको चाप कम गराउँछ । तर यी लवणयुक्त खानेकुराको सेवन अघि चिकित्सकको सल्लाह भने लिनुपर्छ ।     चिकित्सकले औषधि खान सुझाएका छन् भने त्यो नियमित रुपमा खानुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहने, रिस नियन्त्रण गर्ने, योग र ध्यानलाई दैनिकीमा समावेश गर्ने, व्यस्त रहने, हिँडडुल गर्ने, तनावलाई आफूमा हाबी हुन नदिने र खानेकुरा नियमित तालिका बनाएर ठिक्क मात्रामा खाने गर्दा रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ ।     मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट (असंतृप्त चिल्लो) ले खासमा उच्च रक्तचापको विरामीलाई पनि फाईदा पु¥याउँछ । अनस्याचुरेटेड फ्याटले शरीरमा राम्रो कोलेस्टेरोल (एचडीएल) लाई बढाएर खराब कोलेस्टेरोल (एलडीएल) लाई घटाउँछ । खराब कोलेस्टोरोलले धमनीमा बोसो जम्मा भएर रक्तसञ्चार अवरोध गर्ने काम गर्छ भने राम्रो कोलेस्टेरोलले रक्तसञ्चार राम्रो गराएर उच्च रक्तचाप घटाउँछ । तोरीको तेल, जैतुन, बदाम, सोयाबिन र सनफ्लावरको तेल अनस्याचुरेटेड फ्याट (असंतृप्त चिल्लो) का श्रोत हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्