संजिवनी नमुना माध्यमिक विद्यालय धुलिखेलको ७६ औ बार्षिकोत्सव समारोह धुलिखेल नगरपालिका कार्यवाहक प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता तथा विद्यालय ब्वस्थापन समितिका अध्यक्ष बेदप्रसाद कोँजुको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख जंगमले लामो शैक्षिक इतिहास बोकेको विद्यालय सञ्जिवनी र धुलिखेल नगरपालिकाले लिएको शैक्षिक गुणस्तरको अभियानलाई संगै लैजान पहल गर्ने बताउनुभयो । १ हजार १ सय ५० जना विद्यार्थीहरु अध्ययन गरिरहेको उक्त विद्यालय जिल्लामा धेरै विद्यार्थी हुने विद्यालयमा पर्दछ । २००६ सालमा धुलिखेलेहरुले मुठीदान गरी सक्रिय सहयोग उपलब्ध गराइ निर्माण गरेको संजीवनी विद्यालय काभ्रे जिल्ला कै सानकोरुपमा चिनिन्छ । बालविकासमा ६१, कक्षा १–५ सम्म २५१, कक्षा ६–८ सम्म २४१, कक्षा ९–१० सम्म २७६ र ११–१२ मा २ सय ९३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययन गरेका विद्यार्थी मध्ये ९० जना दलित समुदायका छन् । ३० जना अपाङ्गता भएका विद्यार्थी छन् भने २२ जना सिमान्तकृत समुदायका विद्यार्थी छन् । ५ सय १४ छात्र र ५ सय ९८ छात्रा अध्ययन गरिरहेको उक्त विद्यालयमा शिक्षक र कर्मचारी समेत गरी ७१ जना कार्यरत छन् । विद्यालयको बार्षिकोत्सवको अवसर पारी विद्यार्थीहरुले पढाईसँगै सिकेका विषयहरुको प्रर्दशनी गरेका थिए । प्रर्दशनीमा स्मार्ट सिटी, त्यसको परिकल्पना तथा त्यहाँ हुने पूर्वाधार तथा सुविधा, ग्रिन, क्लिन इनर्जी, शहरको सरसफाई विद्यालय भवन तथा हाईड्रोपावर लगायतका विषयहरु प्रर्दशनीमा देखाएका थिए । विद्यालयका नाममा ५० रोपनी भन्दा धेरै जमिन छ । ९ वटा ब्लकमा ३२ वटा कक्षा कोठा छन् । ३ सय भन्दा फर्निचर सहित सुविधायुक्त कक्षा कोठाहरु उपलब्ध छन् । विज्ञान प्रयोगशाला, जीवन विज्ञान प्रयोगशाला, प्राविधिकधारको प्रयोगशाला, ब्यवसायीक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, ईपुस्तकालय, आईसिटी ल्याव लगायतका पूर्वाधारहरु रहेको प्रधानाध्यापक टंक थापाले बताउनुभयो । प्रअ थापाले शैक्षिक उपलब्धीको बारेमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा एसईईमा उत्कृष्ट अंकल्याउने छात्रछात्रा र विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सुन्दरलाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, विद्यालयका शिक्षक शकर शर्मा, विभिन्न क्षेत्रका ब्यक्तिहरु, पुर्व प्रधानाध्यापक सानुकाजी महत, शिक्षकहरु, चन्दादाता तथा सहयोगीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पुर्व विद्यार्थीहरु, अभिभावकहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयको लेखापरिक्षण प्रतिवेदन लेखा प्रमुख श्रीओम ब्याञ्जुले प्रस्तुत गर्नुभएको थियो ।
