IMG-LOGO

आकस्मिक गर्भ निरोध

 मंगल, पौष ८, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

     स्त्री तथा प्रसुती रोग बहिरङ्ग विभागमा अनिच्छित गर्भको सेरोफेरोमा जिज्ञासा राख्ने सेवाग्रहीहरुको जमात पनि ठूलो छ । यौनसम्पर्कको दौरान कण्डम फुट्यो भने के गर्ने ? विवाह लगत्तै कुन चाहिँ साधन अपनाउँदा उपयुक्त होला ? टिनएजरहरुबीच वा कलेजका साथीहरु विवाहपूर्व आकस्मिक यौनसम्बन्ध हुन जाँदा गर्भ रहन नदिन के गर्ने ? ७२ घण्टे चक्की खाएपछि भविष्यमा के कस्तो असर देखा पर्छ ? ७२ घण्टे चक्कीले भोली पर्सी गर्भ आउन समस्या गराउँछ हो भन्ने लगायतका जिज्ञासाहरु लिएर आउँछन् ।      असुरक्षित यौनसम्पर्कका कारण एचआईभी÷एड्स लगायतका यौनरोग सर्न समस्याको जोखिम त हुन्छ नै तर महिनावारी चक्रका सबै दिनमा असुरक्षित यौनसम्पर्क भैहालेपनि गर्भ आईहाल्ने भन्ने होइन । साधारण नागरिकले त कुरै छाडौं, कलेजस्तरमा अध्ययनरत टिनएजरहरुमा पनि महिनावारी चक्रको कहिले तिर डिम्ब निष्काशन हुन्छ र गर्भ रहन्छ भने खासै तात्विक जानकारी नहुँदो रहेछ । भलै प्रायसः ती सबैले माध्यमिक स्तर देखि कलेजस्तरको विज्ञानमा प्रजनन् प्रणाली अन्तर्गत यस मामिलामा निरन्तर पढ्नु पर्छ । यसले नेपालको शिक्षा नीतिको गुणस्तरयिता वा व्यवहारिकता पक्ष कस्तो छ भन्ने पनि दर्शाउँछ ।      त्यसैले यौनजन्य संक्रमणको जोखिम बाहेक असुरक्षित यौनसम्पर्कका कारण रहनसक्ने गर्भको मामिलामा महिनावारी चक्रका सबै दिन गर्भ रहन्छ भन्ने होइन । यसको अर्थ श्रीमती वा महिला पार्टनर वा केटी साथीको अन्तिम महिनावारी कहिले भएको भन्ने सामान्य जानकारी पनि नलिई सिधै ७२ घण्टे चक्की ख्वाउनु मुख्र्याईं हो । नियमित महिनावारी (२८ देखि ३२ दिनमा) हुने महिला वा युवतीहरुमा पछिल्लो महिनावारीको १४ औं दिन ताका डिम्ब निस्किन्छ । साधारणतः डिम्ब निस्केको वा डिम्ब निस्किने एक हप्ता अगाडि वा पछाडि गर्भ रहने सम्भावना निकै बढी हुन्छ । यही करिब दुई हप्ताको अवधीमा अस ुरक्षित यौन सम्पर्क रहन गएको भए मात्र गर्भ रहन सक्छ । अर्थात् आकस्मिक गर्भ निरोधका उपायहरु अपनाउनु पर्दछ । त्यसो भन्दैमा आकस्मिक गर्भ निरोधका लागि ७२ घण्टे चक्की मात्रै उपाय हो भन्ने चाहिँ होइन ।      यसो भन्दै गर्दा आकस्मिक गर्भ निरोधलाई परिवार नियोजनका साधनहरुका विकल्पका रुपमा लिने, गर्भपतनका विकल्पका रुपमा लिने गल्ती गर्नुहुँदैन । किनकि आकस्मिक गर्भ निरोधमा हाईडोजका हर्मोनहरु प्रयोग गरिने हुनाले महिला वा किशोरीको शरीरमा अल्पकालीन वा दीर्घकालीन असर पर्ने सम्भावना हुन्छ । यस मामिलामा पुरुष पार्टनर वा ब्वाईफ्रेण्ड पनि त्यति नै संवेदनशील, विचारपरक र जिम्मेवार हुनुपर्छ ।      तसर्थ कानूनी तवरले नेपालमा १२ हप्ता सम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवं सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौन सम्पर्क राख्नु नै बुद्धिमानी हुन्छ । यसका लागि नव विवाहित दम्पत्तीले सुरक्षित महिनावारी चक्रको सही प्रयोग वा कण्डमको उचित प्रयोग गर्नुपर्दछ ।      गर्भ रहने क्रममा डिम्ब निष्काशन, यौन सम्पर्क, वीर्य स्खलन, डिम्व निशेचन तथा डिम्वारोपणको तारतम्य मिल्नुपर्दछ । त्यसो त प्राकृतिक र चिकित्सकीय नै भएपनि थुप्रै खालका गर्भ निरोधका उपायहरु हुँदाहुँदै पनि सतर्कता नअपनाएर, परिवार नियोजनका साधन बेलैमा उपलब्ध नभएर वा फेल खाएर, यसको प्रयोगमा आलस्यता गरेर, बलात्कार (बलजफ्ती करणी) मा परेर असुरक्षित यौन सम्पर्क हुनु अनिच्छित गर्भ रहन सक्ने परिस्थितीहरु हुन् ।      माथि उल्लेखित परिस्थितिहरुको परिणाम स्वरुप गर्भ रहन नदिनको लागि अपनाउने कतिपय परिवार नियोजनका साधनहरुको प्रयोगलाई आकस्मिक गर्भ निरोध वा मेडिकल भाषामा ‘ईमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ । आकस्मिक गर्भ निरोधका साधनहरु      अचेल आकस्मिक गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यस अघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की प्रयोग गरिन्थ्यो । यी पिल्स चक्कीमा पनि साधारण पिल्स चक्कीकै हर्मोनहरु हुने हो तर हर्मोनको मात्रा भने बढ्ता हुन्छ ।      आकस्मिक गर्भ निरोध अन्तर्गत युज्पे विधिमा ०.२५ मि ग्रा लेभोनोरजेस्टे«ल तथा ५० माइक्रोग्राम इथिनाइल इस्ट्राडिओलयुक्त ओभरल नामक पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ । त्यसको १२ घण्टा पछि पुनः थप दुई चक्की ओभरल खानुपर्दछ ।      त्यसैगरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको इक्सी नामक पिल्स चक्की दुई मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्दछ । इक्सीको पहिलो मात्रा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टा भित्र खाइसक्नुपर्दछ । यो १२ घण्टाको फरकमा दुई पटक वा एकैमात्रा गरेर पनि खान सकिन्छ ।      यस्ता खाले हर्मोनयुक्त औषधिहरुको प्रयोग असुरक्षित यौन सम्पर्क अगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टा भित्र गरिसक्नुपर्ने भएपनि विश्व स्वास्थ्य संगठनले भने परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधनहरु प्रयोग गर्न सकिने सल्लाह लिइएको छ । आकस्मिक गर्भ निरोधकै रुपमा असुरक्षित यौन सम्पर्कको ७२ घण्टा भित्र माथि उल्लेखित पिल्स चक्कीहरु खान भ्याइएन भने पाँचौं दिन भित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ । प्रभावकारीता र जोखिम      युज्पे विधिमा चाहिँ दुवै हर्मोनको मात्रा बढ्ता भएपनि प्रोजेस्टेरोन मात्र भएको पिल्स भन्दा कम प्रभावकारी छ । प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की ८९ प्रतिशत प्रभावकारी छ भने युज्पे विधिको प्रभावकारीता केवल ७४ प्रतिशत मात्र छ । यसरी साधन पिच्छे यसको प्रभावकारीतामा अलि भिन्नता चाहिँ छ । समग्रमा पिल्स चक्कीको प्रभावकारीता ७५ प्रतिशत छ । यसको अर्थ यी साधनहरुको प्रयोगले असुरक्षित यौन सम्पर्कका कारण गर्भ रहने सक्ने सम्भावनालाई ७५ प्रतिशतले घटाउँछ ।      गर्भावस्थामा गल्तीले वा आकस्मिक गर्भ निरोधका लागि औषधि खाँदाखाँदै पनि गर्भ निरन्तर हुन गएमा कुनै गर्भे शिशुमा कुनै हानी देखिएको छैन । तर गर्भ रहिसकेको अवस्थामा यी आकस्मिक गर्भ निरोधमा प्रयोग गरिने औषधिहरुको प्रयोगले कुनै फाइदा हुँदैन । आकस्मिक गर्भ निरोधका लागि पिल्सको प्रयोगले वा यी औषधि खाँदाखाँदै पनि गर्भ निरन्तरता भएमा पाठेघर भन्दा बाह्य भागमा गर्भ रहने सम्भावना हुँदैन ।      मस्तिष्काघात, माईग्रेन वा रगतको विकार समस्या भएका महिलाहरुमा प्रोजेस्टेरोन मात्र भएको पिल्सको प्रयोग राम्रो हुन्छ । छारेरोग विरुद्ध तथा क्षयरोग विरुद्धको रिफाम्पिसिन औषधि सेवन गरिरहेकी महिलामा पिल्सको प्रभावकारीता घट्न सक्छ अर्थात् उत्तिकै प्रभावकारीताको लागि यस्ता महिलाहरुलाई पिल्सको मात्रा बढाईदिनु पर्ने हुन्छ । अन्य बेला परिवार नियोजनको प्रभावकारी अस्थायी साधनको रुपमा प्रयोग गरिने कपर टी आकस्मिक गर्भ निरोधको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगलाई निरन्तरता दिई परिवार नियोजनका लागि उपयोग गर्न सकिन्छ । जटिलता      एकैपटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाक्वाकी लाग्ने (औषधि वा हर्मोनको प्रकार अनुसार घटीबढी), उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ ।      साधारणतया यी साधनको प्रयोग पश्चात् केहि समयसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ । आपत्कालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरुले महिनावारी केहि दिन पर सर्न सक्दछ । रगतको मात्रा पनि बढ्ता र अलि पिडादायी हुनसक्छ । यदि डिम्व निष्काशन हुनु अगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुने हुनसक्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्