IMG-LOGO

रुघाखोकी

 मंगल, पौष १, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

     चिसो मौसमको आगमनसँगै स्वास्थ्यसंस्थाहरुमा रुघाखोकी ज्वरोको विरामीको संख्यामा बढोत्तरी हुने गरेको पाइन्छ । मेडिकल भाषामा श्वास प्रश्वास प्रणालीको माथिल्लो भागको भाइरल (विशेषतः) संक्रमणलाई रुघाखोकीका रुपमा लिइन्छ । सयौं खालका भाइरसद्वारा हुनसक्ने रुघाखोकी आपैंm निको हुने वा संक्रामक खालको हुन्छ । तुलनात्मक रुपमा चिसो मौसममा बढ्ता देखिने रुघाखोकी प्रत्येक पटक नयाँ खालका भाइरसले गर्दा हुने भएकोले यथेष्ट मात्रामा प्रतिरोधात्मक क्षमताको अभावमा पटक पटक लाग्दछ । किशोर तथा वयस्कलाई भन्दा स्कुले बालबालिकाहरुलाई वर्सेनी धेरैचोटी रुघाखोकी लाग्दछ । रुघा लाग्दा नाक बन्द हुने, पातलो सिँगान बग्ने, घाँटीमा खसखस हुने, हाच्छिउँ आउने, नाके स्वर हुने, खोकी लाग्ने, हल्का ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्ने हुनसक्छ । यस्तो लक्षण मोटामोटी एक हप्तासम्म रहनसक्छ । संक्रमित व्यक्तिले खोक्ने, हाच्छिउँ गर्ने क्रममा संक्रमित श्राव तथा श्वासबाट अन्यलाई सर्न सक्दछ । कहिलेकाहीँ रुघाखोकी संक्रमण कलम, मोबाइल, किताब, कम्प्युटर, भाँडाकुँडाको माध्यमबाट पनि सर्न सक्दछ ।      नेपालमै पनि बेलाबेलामा बर्ड फ्लू, स्वाइन फ्लू जस्ता भाइरल संक्रमण देखापर्न सक्ने हुनाले यस्तो महामारी पैmलिएको बेला रुघाखोकीलाई सामान्य तरिकाले लिनु हुँदैन । सामान्य रुघाखोकीको दाँजोमा फ्लू लाग्दा कडा खालको ज्वरो आउने, टाउको साह्रै दुख्ने, सुख्खा खालको खोकी लाग्ने र संक्रमित व्यक्ति निकै शिथिल हुने हुन्छ ।      रुघाखोकी सामान्यतः आपैंm निको हुने रोग हो तर अन्य संक्रामक खालको फ्लू हो, होइन छुट्याउन रगत वा ¥याल वा नाक एवं घाँटीको श्रावको ल्याब परीक्षणबाट निक्र्यौल हुन्छ । सामान्य रुघाखोकी प्रायस भाइरसको कारण हुने हुनाले यसको लागि व्याक्टेरिया विरुद्ध दिइने एन्टीबायोटिक औषधि चाहिँदैन । तर पनि सास फेर्न गाह्रो हुँदै जाने, तारन्तार बान्ता हुने, छाती दुख्ने, पाकेको खकार आउने, छटपटी हुने भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।      साबुन पानीले पटक पटक हात धुने, नाक मुख छोप्ने, टिस्यू पेपर वा रुमालले नाक मुख पुछ्ने, हात नधोई वा बारम्बार मुख नाक आँखामा हात नपु¥याउने, संक्रमित व्यक्तिबाट टाढै रहने गर्नु पर्दछ । प्रशस्त आराम, पोषिलो खाना, झोलिलो खानेकुरा बढी पिउने गर्नु पर्दछ । रुघाखोकीले धेरै सताएको बेला स्कुले नानी तथा वयस्कहरु केही दिन स्कुल, अफिस वा काममा नजानु राम्रो हुन्छ ।   बालबालिकामा रुघाखोकी      मानिसलाई लाग्ने कतिपय रोगहरुमा वातावरणीय प्रभाव प्रत्यक्ष रुपमा हुन्छ । जाडो मौसममा तुलनात्मक रुपमा सरुवा रोगहरू कम लागेपनि श्वासप्रश्वास सम्बन्धी समस्या (संक्रमण) भने बढ्दछ । यी श्वासप्रश्वास सम्बन्धी समस्या पाँच वर्ष मुनिका बच्चाहरुमा अझ बढी हुन्छ ।      श्वासप्रश्वास सम्बन्धी समस्याहरुमा रुघाखोकी, निमोनिया नै प्रमुख हो । फोक्सोमा असर गरिसकेको वा पाकीसकेको अवस्थालाई निमोनिया भनिन्छ । जुन पाँच वर्ष मुनिका बालबालिकाहरूको लागि जटिल अवस्था हो । यो उमेर समूहमा साधारण रुघाखोकीबाट निमोनिया लक्षण चिन्हहरुबारे जानकारी भएको खण्डमा तुरुन्त डाक्टर वा स्वास्थ्यकर्मीसँग आवश्यक सल्लाह लिन सकिन्छ ।      साधारण रुघाखोकी लाग्दा पातलो सिँगान आउने, पटक पटक हाच्छ्यूँ आउने, नाक बन्द, कान बन्द भएको जस्तै हुनुका साथै कान कम सुन्ने, आँखा रातो र रसिलो हुने, खोकी लाग्ने, घाँटी खसखसाउने, हल्का ज्वरो आउने, टाउको दुख्ने एवं जिउ र मांसपेशीहरुमा दुख्ने हुन्छ ।      साधारण रुघाखोकीका लागि घरेलु उपचार (जस्तै झोलिलो खानेकुरा बढ्ता खुवाउने, न्यानो राख्ने, चिल्लो खाद्य पदार्थ कम पर्ने, नाक सफा गरिदिने, नुन अदुवा कागती हालेको पानी खुवाउने आदि) को साथै ज्वरोका लागि सिटामोल औषधी (उमेर अनुसार) खुवाउनु पर्दछ भने एक वर्ष मुनिका बच्चाहरूलाई विशेषतः आमाको दूध खुवाई राख्ने र सुताउँदा दायाँ र बायाँ कोल्टे सुताउनु पर्दछ ।      रुघाखोकी बिग्रिएर वा बल्झिएर निमोनिया हुँदा प्रतिजैविक औषधी (एण्टीबायोटिक) को पनि जरुरत पर्ने हुनसक्छ । निमोनिया हुँदा रुघाखोकी लाग्दा कै लक्षण चिन्हहरुको अलावा सास छिटो छिटो फेर्ने, घ्यार–घ्यार हुने, मुख, हात, खुट्टा निलो हुने, आमाको दूध नचुस्ने, खाएको बान्ता गर्ने, कोखा हान्ने, धेरै ज्वरो आउने, खकार आउने, बच्चा शिथिल हुने हुन्छ । यस्तो परिस्थितीलाई जटिल अवस्थाका रुपमा लिनु पर्दछ । बढ्ता जटिल परिस्थिती आउँदा सलाइनबाट मात्र औषधी तथा पोषण पदार्थ दिनुपर्ने हुनसक्छ ।            

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्