पेटको साईडमा एक्कासी पीडा भई ईमर्जेन्सी धाउनुको कारण मध्ये यो पनि एक हो । मिर्गौलामा बनेको पत्थरी टुक्रिएर साँगुरो पिसाब नलीमा आईपुग्दा असह्य पीडाको समस्या आइपर्छ । पत्थर सर्दै गएर पिसाब थैलीमा पुग्यो भने क्षण क्षणमा पिसाब फेर्न मन लाग्नुका साथै पिसाब फेर्दा पिसाब पोल्ने हुन्छ । समग्रमा मिर्गौला पत्थरी हुँदाका लक्षण चिन्हमा एकापट्टिको मृर्गौला भएका ठाउँ वा पछाडि एक्कासी पीडा हुने, केही समयको अन्तरालपछि पीडा कम हुने, रगत मिसिएको पिसाब हुने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, उल्टी आउने आदि हुन् । यसका साथै पत्थर ठूलो भएर पिसाबको बहावलाई रोक्न थालेपछि असाध्यै दुख्ने गर्छ । त्यस्तै ढाड, मिर्गौलाको वरिपरि र तल्लो पेट पनि साह्रै दुख्ने हुन्छ । पत्थरीको कारणले पिसाब नलीको संक्रमण हुन गई काम ज्वरो आउने, जिउ तात्ने हुन सक्छ । पिसाबको सामान्य जाँच, कल्चर एवं पेटको तल्लो भागको एक्सरे तथा अल्ट्रासाउण्डबाट मिर्गौलामा पत्थरीको निक्र्यौल गर्न सकिन्छ । पत्थरीको समस्या देखा परेमा तुरुन्तै चिकित्सककहाँ सम्पर्क राखेर आफ्नो उपचारमा जुट्नु पर्दछ । पत्थरीको संख्या, प्रकृति तथा यसको अवस्थिति हेरी उपचारको छनौट गर्नुपर्ने हुन्छ । उपचारको हकमा सदैव शल्यक्रिया नै चाहिन्छ भन्ने छैन तर पत्थर धेरै ठूलो भएमा शल्यक्रिया नै चाहिने हुन्छ । पिसाबनलीमा भएका ६ मिलिमिटर भन्दा साना पत्थर प्रशस्त मात्रामा पानी तथा अन्य झोल खानेकुरा पिएको खण्डमा पिसाब मार्पmत् बाहिर निस्कन्छ । अवस्था हेरि भने केही दिनको लागि प्रतिजैविक औषधिका साथै तथा दुखाई कम गर्ने औषधि पनि चाहिन सक्छ । उपचार औषधि सेवनबाट यो समस्याको स्थायी समाधान हुँदैन । स्थायी निराकरणको लागि शल्यक्रियाको आवश्यकता भएपनि चिकित्सा विज्ञानमा आएको पछिल्लो प्रविधीले पत्थरीका लागि जटिल तवरको शल्यक्रिया चाहिँदैन । नयाँ प्रविधीहरुले पत्थरीको व्यवस्थापन गर्न सजिलो भएको छ । लिथोट्रिप्सीमा उच्च आवृत्तिका ध्वनी तरङ्गबाट पत्थरी फुटाइन्छ र स–साना पत्थर पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । अवस्था हेरि पिसाबको बहावमा अवरोध आई पिसाब नली फुलेको अवस्थामा पिसाबको बहाव सुचारु पार्न पेटमा सानो प्वाल बनाई सिधै मिर्गौलाबाट पिसाब निकाल्ने प्रक्रिया (पीसीएनएल प्रविधी) तथा दूरबिनको सहायताले पिसाब थैलीदेखि मृर्गौलासम्म कृत्तिम पाईप (डिजे स्टेन्ट) तथा दूरबिनको सहायताले पिसाब थैली तथा पिसाब नलीभित्र पत्थरी छ, छैन अवलोकन गर्ने प्रविधी (सिस्टास्कोपी वा युरेटेरोस्कोपी) को जरुरत पर्नसक्छ । यी इन्डोस्कोपिक पद्धतिबाट पत्थरीको उपचार गराएका विरामी केही दिनमै आफ्नो नियमित काममा फर्किन सक्छ । यी नौला उपचार पद्धति तुलनात्मक रुपमा अलि महँगो हुन्छ । एकपटक पत्थरीको समस्या भएकामा फेरि फेरि हुनसक्ने हुनाले एकपटक पत्थरीको उपचार गराएपछि खानपानमा ध्यान दिन जरुरी छ । उपचार गराईसकेका करिब २० प्रतिशत विरामीमा तीन वर्ष, ३० प्रतिशत विरामीमा पाँच वर्ष र ७० प्रतिशत विरामीमा २० वर्ष भित्र फेरि पत्थरी दोहोरिने गरेको छ । समग्रमा पानी बढी पिउने, नुन कम खाने, रातो मासु धेरै नखाने, फलपूmल तथा सागपात बढी खाने, व्यायाम गर्ने तथा मोटोपना घटाउने गरेमा पत्थरीको समस्याबाट बच्न सकिन्छ । त्यसैले दिनमा १२ गिलास पानी पिएको खण्डमा अत्याधिक पानीले मुत्र प्रणालीका स–साना पत्थरीलाई पिसाबबाट बगाई दिन्छ । यसै सम्बन्धमा क्यानाडाको किड्नी फाउण्डेशनले दिनमा घण्टैपिच्छे एक एक गिलास पिउन सुझाव दिएको छ । राति पनि बिउँझेपच्छिे एक गिलास पानी पिउनु निकै लाभदायक हुने बताएको छ । कफी, चिया, कोक भन्दा कागती, अदुवा पानी पिउनु स्वस्थ्यकर हुन्छ । चिया, कफी, कोकमा भएको क्याफिनले पनि पत्थरी बन्न सघाउँछ । पत्थरीबाट बचावट पत्थरीको प्रकार विभिन्न व्यक्तिमा फरक फरक हुने हुनाले विभिन्न उपायबाट यसको बचावट गर्न सकिन्छ । क्याल्सियम प्रकारका पत्थरी भएकाले कोदो, दुध तथा दुग्ध पदार्थ, साना माछा, हरियो सागपात कम मात्रामा खानु पर्दछ । त्यसैगरी फोसफेट प्रकारका पत्थरी भएकाले खस्रा अन्न, मकै, दाल, गेडागुडी, तिल, केरा, बदाम, गाजर, माछामासु, अण्डा, दुध, चिज, कलेजो, कोक खानु हुँदैन । अक्जालेट प्रकारका पत्थरी भएकाले चिया, कफी, बियर, चकलेट, अमला, अंगुर, कागती, काजु, पिँडालु, सखरखण्ड, पालुँगो, रायो साग, बन्दा, काउली, गोलभेंडा, भन्टा, रामतोरिया, तोफु कम मात्रामा खानु पर्दछ भने युरिक एसिड प्रकारका पत्थरी भएकाले माछा मासु, अण्डा, कलेजो, फोक्सो, मिर्गौला र गिदी खानु हुँदैन । केरा, बदाम, गाजर, कागती, भुईंकटहर, नरिवल पानीले पत्थरी बन्न दिँदैन । ग्यास्ट्राइटिस विरुद्ध खाइने एन्टासिड झोलको सेवनलाई पनि कम गर्नु पर्दछ ।
