IMG-LOGO

सेनामा सेवारत नारीको हत्याले उठाएका प्रश्न

 मंगल, जेठ २६, २०८३  -

    नेपाली समाज दिनदिनानु अनैतिक बन्दै गएको छ । सामाजिक संजालमा पाउने लाइक कमेन्ट म्यासेज मात्रै होला टिकटक भिडियोमा भाइरल हुने भ्रममा मान्छेले आफैंलाई बिर्सिएको छ । मानवीय भावना कमजोर भएर भत्किएका छन् । परिवारमा झगडा  वैमनस्य र विखण्डनका शृङ्खला बढेका छन् । शुक्रबार काठमाडौंमा एउटा घटना घटेको छ । काठमाडौँको तारकेश्वरमा घटेको सैनिक सुवेदार मेजर ईश्वरी भुजेलको बिभत्स हत्याले फेरि एकपटक हाम्रो समाज, कानुनी संयन्त्र र आधुनिक भनिने सम्बन्धहरूको खोक्रोपनलाई उदाङ्गो पारिदिएको छ । १५ वर्ष लामो वैवाहिक सम्बन्ध, दुई छोराहरू र एउटा स्थापित जीवनको अन्त्य जसरी आफ्नै श्रीमान् कुमार थापा (नेपाली ब्रो) को क्रूर खुकुरी प्रहारबाट भयो, यसले आम नागरिकको मुटु हल्लाइदिएको छ ।     सम्बन्धमा खटपट र आधुनिकताको गलत परिभाषा आजको आधुनिक समाजमा हामी स्वतन्त्रता र समानताका कुरा त गर्छौं, तर जब सम्बन्धमा असमझदारी, धोका वा अविश्वास पैदा हुन्छ, त्यसलाई व्यवस्थापन गर्ने हाम्रो सोच अझै पनि मध्ययुगीन नै देखिन्छ । ’चित्त नबुझे वा कुरा नमिल्दा छुट्टिन पाउनु र डिभोर्स (सम्बन्ध विच्छेद) को मार्ग रोज्नु एक आधुनिक, कानुनी र सभ्य समाजको विशेषता हो ।’ ईश्वरीले कुमारको शृङ्खलाबद्ध धोका र हिंसाबाट आजित भएर कानुनी रूपमै डिभोर्सको बाटो रोजेकी थिइन् । तर, कुमार जस्ता आपराधिक र प्रतिशोधी मानसिकता भएका पुरुषका लागि डिभोर्स ’सहमति’ नभएर अहंकारमा लागेको चोट बन्यो । सम्पत्ति बाँड्नुपर्ने डर र बदलाको भावनाले ग्रसित भएर उसले आफ्नै सन्तानकी आमाको ज्यान लिने आत्मबल पायो । के कुरा नमिल्दा शान्तिपूर्ण रूपमा अलग हुन खोज्नु नै अपराध हो ?      यो आधुनिक समाजका लागि एउटा गम्भीर र मार्मिक प्रश्न हो । कानुनी संयन्त्रको लाचारी र प्रहरीको उदासीनता यो घटना केवल एक पुरुषको आवेगको परिणाम मात्र होइन, बरु हाम्रो सुरक्षा संयन्त्रको चरम लाचारीको उपज पनि हो। ईश्वरीले आफूमाथि भएको शारीरिक र मानसिक हिंसा विरुद्ध पाँच–पाँच पटकसम्म बालाजु प्रहरी वृत्तमा गुहार मागेकी थिइन् । तर, ’के छ ब्रो ?’ भन्दै अपराधीसँग हात मिलाउने र पीडितको क्रन्दनलाई बेवास्ता गर्ने प्रहरीको ’खासखुस’ प्रवृत्तिकै कारण आज एउटा देशको सेवक र आमाले ज्यान गुमाउनु प¥यो । यदि समयमै प्रहरीले ईश्वरीको पीडा सुनेर कुमारलाई कानुनी कठघरामा उभ्याएको भए, आज यो बीभत्स दिन देख्नुपर्ने थिएन । यस अर्थमा, यो हत्यामा कानुनी निकायको उदासीनता पनि उत्तिकै जिम्मेवार छ ।हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग आफ्नो कर्तुत लुकाउन अदालत बाहिर कुरेर बसी, रातिको अन्धकारमा एउटी महिलामाथि निर्मम खुकुरी प्रहार गर्ने कुमार थापा कुनै पनि कोणबाट क्षमाको योग्य छैन । यस्ता जघन्य र योजनाबद्ध अपराधीलाई कानुनको कडा भन्दा कडा धारा प्रयोग गरेर आजीवन कारावास को सजाय हुनै पर्छ । यसले समाजमा एउटा कडा सन्देश दिनुपर्छ कि–सम्बन्धमा चित्त नबुझे डिभोर्स गर्ने अधिकार सबैलाई छ, तर कसैको जीवन लिने अधिकार कसैलाई पनि छैन । ईश्वरी भुजेलको यो दुःखद अन्त्यले हामीलाई ढिलो गरी भए पनि ब्युँझाउनुपर्छ । आधुनिकता केवल पहिरन वा बोलीमा मात्र होइन, सोचमा आउनुपर्छ । कुरा नमिल्दा डिभोर्स गर्नु अपराध होइन, तर डिभोर्स माग्दा ज्यान लिनु र त्यसलाई टुलुटुलु हेरेर बस्नु चाहिँ समाज र कानुन दुवैको साझा अपराध हो । ईश्वरीलाई न्याय मिल्नैपर्छ, र हत्यारा कुमारले हदैसम्मको कानुनी सजाय पाउनैपर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्