फेरि वार्षिक क्यालेन्डर परिवर्तन भएको छ अर्थात २०८२ ले हामीबाट बिदा लिएको छ । नयाँ साल २०८३ आजबाट शुरू भएको छ । नयाँसालले हामी सबैलाई उर्जा दिओस् । नेपाल र नेपालीले विगतमा भोगेजस्तो दुःख कष्ट फेरि भोग्न नपरोस् यही सबैमा हार्दिक शुभकामना । २०८२ नेपालको इतिहासमा धेरै उथलपुथलको वर्ष रह्यो । विषेश त भदौ २३÷२४ को जेन्जी बिद्रोहले एमाले कांग्रेसको दुई तिहाइको सत्ता मात्रै ढालेन पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा ६ महिने अन्तरिम चुनावी सरकार बनाएर फागुन २१ गते निर्वाचन सम्पन्न ग¥यो । चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्यो । नेपालको संविधान २०७२ अनुसार एकल बहुमत झण्डै दुई तिहाईले जितेर पहिलो पल्ट कीर्तिमान कायम गरेको छ । २०७४ र २०७९ को चुनाव गठबन्धनमा भएका थिए । उही पार्टीका उही अनुहार, काम पनि उस्तै देखेर वाक्कदिक्क भएका जनताले नयाँ परिवर्तनको आशमा रास्वपालाई चुनेका हुन् । ओली सरकारले बिना सुझबुझ सामाजिक संजालमा प्रतिबन्ध लगाउदा जेन्जी विद्रोह भएको थियोे । २२ भदौमा जेन्जीका नाममा निवेदन दिनेहरूले माइतीघर मण्डलामा सामाजिक संजाल खोल्न र देशमा सुशासन कायम गर्न शान्तिपूर्ण धर्ना दिने भनेर बताइता पनि आन्दोलनले उग्ररुप लियो प्रहरीले टाउकोमा ताकेर गोली हान्दा २३ जनाको ज्यान गयो । जेन्जी विद्रोह नै हाइज्यक भयो । नेपालको संविधान नै कोमामा पुगेको बेला चुनाव भएर संविधान ट्रयाकमा फर्किएको छ । रास्वपाले पाँच वर्ष सरकार चलाउने जनमत पाएको छ । बालेन्द्र साहको नेतृत्वमा सरकार गठन भएको एक महिना पुग्दै छ । बालेन सरकारको एक महिनाको रहस्यमयी काम हेर्दा मुलुकले कुन दिशा लिन्छ ? ठेगान छैन तर पनि जनताका आशा र अपेक्षा पुरा गर्न यो एक महिना मै मुल्यांकन गर्नु गलत हुन्छ । सरकारले जन अपेक्षा अनुसार काम गरोस् । हाम्रो आवश्यकता पुरा गरोस् । शान्ति सुरक्षाको प्रत्याभूति दिदै तीव्रतामा विकास गरोस् । अन्त्यमा हाम्रा समस्त पाठकवर्ग विज्ञापनदाता आफन्त शुभचिन्तक सबैमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।
