IMG-LOGO

अन्धविश्वास विरुद्धका मेरा आत्मसङ्गर्षहरू

 मंगल, मंसिर ९, २०८३  नरेन्द्रजंग पिटर

    म हिन्दू कर्मकाण्डी ब्राह्मण परिवारमा जन्मिएको हुँ । अहिले उमेरको आठौँ दशकको जीवनयात्रामा छु । ५६ वर्षदेखि कुनै पनि संगठित धर्ममा मेरो आस्था, विश्वास वा अनुयायीभाव रहेको छैन । ‘पिटर’ उपनामका सन्दर्भमा गुरु हिलारियन टिरदासको स्मृति मात्र हो भन्ने कुरा यहाँ फेरि दोहो¥याउनुपर्ने भयो ।     मेरा जिज्ञासाले नै मलाई दुःख दिँदै गएको हो । जबसम्म कुनै पनि विषयमा पत्यारिलो जवाफ पाउँदिनथेँ, तबसम्म मलाई चैनसँग रहन नसक्ने रोग लागेको थियो । त्यो बिरामी अझै निको भएको छैन । यसले मेरो जीवनलाई त प्रभाव पारेकै थियो, नातासम्बन्ध र संगतमा समेत असर पु¥यायो । कतिपय टाढिए पनि ।     जिज्ञासाले बालापनलाई खलबल्याउँदै गयो । मानवीय बगैँचामा अनेकौँ रङ्गीबिरङ्गी फूलहरू देख्दा अनेकौँ सोच मन र मस्तिष्कमा खेल्न थाल्थे । हाम्रो घरको पूर्व पलाञ्चोक डाँडाबाट सधैँ घाम उदाउँथ्यो र काभ्रे डाँडामा अस्ताउँथ्यो । घाम अस्ताएपछि रात पथ्र्यो । चकमन्न रातमा आकाशमण्डलमा तारा र जून देखिन्थे– कुनै टिलपिल, कोही चम्किला । एकाबिहानै ती अलप भएपछि मात्रै घाम झुल्किन्थ्यो । भस्मेको जङ्गलमा बाघ र स्याल कराउँथे । टाढा–टाढाबाट कुकुर भुक्थ्यो, बिहानै भाले बास्थे । ती कहाँ बस्छन्, के खान्छन् ? तिनलाई जाडो हुन्छ कि हुँदैन होला भनि सोचि बस्थेँ ।     राति निद्रा लाग्थ्यो । निद्रामा अनेक प्रकारका सपना आउँथे । भोक, प्यास, निद्रा, थकान, उत्साह, रिस किन आउँछ ? किन घाम उदाउँछ र अस्ताउँछ ? बाँझो चपरा पल्टाएर खेतबारी बनाएपछि धान–गहुँका बीउ रोपेपछि अन्न फल्थ्यो । मल, पानी दिनुपर्ने, गोडमेल गर्नुपर्ने । भोक–प्यास त खेतबारीलाई पनि लाग्दो रहेछ, तब त धरतीका गर्भबाट बिरुवा उम्रेर फसल बनेपछि हामी फसल काटेर अन्न बनाउँदा रहेछौँ । कतिपय प्रश्नहरू फोहोर प्रश्न हुँदा रहेछन् ।     गाई–भैँसीको मिलन हेरे आँखा लाग्छ, उल्टिन्छ, हेर्नु हुँदैन भनिन्थ्यो । कतिपय लाजलाग्ने अङ्ग छोप्नुपर्ने र छाडा बोली बोल्न नहुने भनिए । सोधिरहने बानीले बाआमा वाक्कदिक्क हुन्थे । उत्तर नभएपछि भगवान्को लीला, ईश्वरका खेल, पूर्वजन्मको पाप–पुण्य भनेर चित्त बुझाउने कोसिस हुन्थ्यो । तब आउँथे– स्वर्ग, नर्क, पाप–पुण्यका कुरा । स्वर्ग भनेपछि माथि आकाशलाई देखाइन्थ्यो । दसैँमा भेडा–च्याङ्ग्रा थाक्सेहरूले ल्याउँथे । थाक्सेहरूको देशलाई ‘लामकानेको देश’ भनिन्थ्यो । लामकानेको देशमा सुन र नुन जति पनि पाइन्छ भनिन्थ्यो ।     वनझाँक्री र सुनझाँक्रीले मान्छे लान्छ अरे भन्ने गरिन्थ्यो । राँकेभूत, पिशाचको आतङ्क थियो । बोक्सीले बाण हान्ने गर्छे भनिन्थ्यो । बोक्सी–बोक्सो विद्याले गाउँमा पिरोल्छन् भन्दै कैयौँ गरिबहरूमाथि आक्रमण पनि हुन्थ्यो । झाँक्रीहरूले बोक्सी को हो भनेर खुट्ट्याउँथे र समाजले कारबाही गर्दा दुर्घटनासम्म हुने गथ्र्यो । बिहानै पिशाच मन्साउन दोबाटोमा काला धजा, अक्षता राखिन्थे । हरेक राति टाढा–टाढाबाट ढ्याङ्ग्रो बजेको आवाज आउँथ्यो । अस्वाभाविक तरिकाले मरेका मान्छे पिशाच हुन्छन् भन्ने गरिएकाले केही वर्षको अन्तरालमा पिशाच उतार्ने अग्निक्रीडा हुन्थ्यो ।     महिलाले रजस्वलाको समयमा फलफूलका बोटबिरुवा छोए कोत्रे लाग्छ भन्ने गरिन्थ्यो । पहिलो पटक रजस्वला हुँदा दाजुभाइ, सगोत्रीले हेर्नुहुँदैन भनेर पराईघरमा राखिन्थ्यो । त्यहाँ कहीँकतै बलात्कार भए इज्जतका डरले चुपचाप लुकाइन्थ्यो । हाडनाता करणीलाई पातकी भनेर भात हटक गरिन्थ्यो । आठ वर्षमै व्रतबन्ध भएको केही दिनमै छिमेकी गोरे दाइकोमा चोचेको मासुसँगै डबकी घुट्क्याइदिएर घरमा पुग्दा त के गति भयो होला ! मेरो पहिलोपटक जात गएको त्यही हो । पहिलोपटक मात्तिने झोल खाएको पनि त्यही हो ।     गाउँमा रोड पुग्यो । रोडसँगै गाडी पुगे । गाउँमा सहर घुस्दै गयो । डम्पर, ट्रक गुड्न थाले । बस त धेरै पछि पुगेको हो । रेडियो बाजा राम दाइ र काल्दाइले ल्याए । लोकगीत घन्कँदा सोध्ने गर्थेँ– ‘यी गिताङ्गेहरू कस्ता हुन्छन् ?’ दाइहरू भन्थे– ‘बडकौला जस्ता ।’ हामी पत्याउँथ्यौँ । चरा हेर्न गएको त मान्छे पो देखेको कुरा ‘बकपत्र’मा लेखिसकेकै छु ।      कति सुधी थिए मेरा पुर्खाहरू ! सबै कुराको जिम्मा भगवानलाई दिन्थे, अन्याय झेल्नुपरेकोमा कर्मलाई दोष दिन्थे । छैठीको दिन पुर्पुरोमा लेखिएको भन्थे । यस्तै तरिकाले एउटा जिज्ञासु ठिटोको बाल्यकाल बित्दै जाँदा कल्पना र जिज्ञासाले भने झन् सताउँदै गयो ।     उमेर बढ्दै गयो, गाउँबाट धुलिखेल हाइस्कूल पढ्न जान थालेँ । साथीहरूमा नेवार, तामाङ र कामी, दमाई, सार्कीहरू थपिँदै गए । तामाङ र नेवारहरूका भाषा नबुझ्ने भएकाले भाषा सिक्ने अर्को हुटहुटी जाग्यो । किशोरबाट तरुण बन्दै जाँदा सहशिक्षाले आकर्षण र प्रेम रोग पनि सल्कँदै थियो । मलाई जस्तै हुटहुटीको रोग अरू साथीलाई पनि लाग्दो रहेछ ।     पुस्तकले अझ रहस्यहरू खोतल्दै गएपछि झन् जान्ने भोक लाग्दै गयो । बाआमा र गुरुहरूलाई प्रश्न कडा हुँदै गए । मेरा प्रश्नहरूले गरिब, निरक्षर किसान बाआमा आतङ्कित हुन्थे । पढ्न थालेर, आर्य समाजी पुष्पराज ढुङ्गानाको संगतले छोरो बौलाउन थाल्यो भनेर भाकल र पूजा गर्न थाले । मेरो मति भने फेरिएन, रोगले गाल्दै गयो ।     निरक्षर बाआमालाई सुनाउन महाभारत, रामायण, देवी भागवतमात्रै होइन, ‘सत्यार्थ प्रकाश’, ‘गुणरत्नमाला’, अकबर–वीरबलका कथा, झ्याउरे लयका काँठे गीतका किताब पनि सहरबाट बाबाले ल्याएर सुनाउन भन्नुहुन्थ्यो । झ्यालमा बसेर भाका हाल्दै श्लोक र गीत गाउँदा निरक्षर बाबा फुरुक्क पर्नुहुन्थ्यो । बिहेमा श्लोकमा दोहोरी खेल्न निम्त्याइसकिएको हुन्थ्यो । चन्देनी स्कूलमै समृद्ध जनजागृति पुस्तकालय थियो । त्यहाँ अध्ययन गर्न र पुस्तक लिन–बुझाउन आउने गाउँका ठूलाबडा मान्छेको अध्ययन रुचिलाई म सूक्ष्म पाराले नियालिरहेको हुन्थेँ ।     हाइस्कूलमा पुग्दा भूगोल, इतिहास र विज्ञानका पुस्तक पढ्दा आफूले पहिला बुझेका कुरामा अझ शङ्का लाग्न थाल्यो । फस्र्ट बेन्चर विद्यार्थी भएकाले कोर्स बुकभन्दा बाहिरका पुस्तक पनि पढ्न थालियो । देउता र राक्षसमाथि प्रश्न उठ्न थाले । सूर्य, चन्द्रमा, ग्रह, ताराहरू देउता होइन रहेछन्, ग्यालेक्सीको विराटता पो रहेछ । मान्छे जन्मिने र मर्ने प्रक्रिया पशुपन्छी, बोटबिरुवाजस्तै प्रकृतिको नियममा पर्दो रहेछ । जन्म र मृत्युको निर्धारण, परलोकका कथाहरू चाखलाग्दा भए पनि विश्वास धमिलिँदै गयो । हिजोसम्मका रहस्य र कौतूहलले उत्तर पाइसकेका हुन्थे, अब झन् थप रहस्यहरूले उत्तर खोजिरहेका हुन्थे । जिज्ञासाको भोकले जीवनमा प्रभाव पार्दै गयो ।     मेरो तीनपटक जात गएर फर्काइएको हो । पहिलो पटक पढेर भन्दा परेर अझ ज्यादै सिक्ने अवसर पाउँदै गइयो । पाप–पुण्यका कुरा, मनमा सबैका हरि हुन्छन् भन्ने विश्वस्त मन पनि आफ्नै घरमा धर्मात्मा र आफन्तले लुटेपछि पहिलोपटक व्यावहारिक रूपमै धर्म, ईश्वर, न्याय र भलादमीप्रतिको विश्वासमात्रै टुटेन, प्रतिशोधका ज्वाला पनि भड्किए । त्यही समय पहिलोपटक ‘सत्यम्, शिवम्, सुन्दरम्’ प्रतिको मनको श्रद्धा टुट्न पुगेको हो ।     एकातिर परम्परागत समाज, अर्कातिर शिक्षाले ज्ञानको भूगोल फैलाउँदै जाँदा मेरा प्रश्नहरू सनातनी परिवार र संगतलाई असहज बन्दै गए । क्रमशः धर्मको संसारबाट म तथ्यमा आधारित तर्कको समाजमा यात्रा गर्दै थिएँ । अभाव र तनावको जिज्ञासु भावना मसँगै यात्रा गर्दै थियो ।     उमेर छिप्पिँदै गयो । शारीरिक र मानसिक भोक बढ्दै गए । अध्ययनका दायरा फराकिला बन्दै गए । गाउँबाट सहर, सहरबाट मुग्लान लागेँ । बाआमाको छाँयाबाट खुला आकाश र चौडा धरतीको बासले हिजोका मान्यता र विश्वासका घेरा पनि छिचोलिँदै गए । समाज नै विश्वविद्यालय बन्दै गयो । आँखा र दृष्टि फेरिँदै जाँदा दृष्टिकोण पनि फेरिँदो रहेछ । सुन्दरताका अर्थ पनि फेरिँदा रहेछन् ।     समयसँगै अध्ययन र जिज्ञासा बढ्दै गएपछि कार्य, कारण र परिणाम जोडेर हेर्ने, पढ्ने र विश्वस्त हुने विश्वदृष्टिकोण नै मेरो विश्वासको जग बन्यो । विशेष गरी श्रीलङ्काली दार्शनिक डा.अब्राहम टी. कोवुरका कृतिहरू र आचार्य रजनीशका विचारहरू पढ्दै गएपछि पुराना स्थापित विश्वासहरू क्रमशः भत्किन थाले ।     विश्व इतिहास र विज्ञानका आधारभूत सिद्धान्तहरू, विशेष गरी डार्विनको विकासवादले जीवन र जगतप्रतिका मेरा मान्यताहरूलाई अझ धारिलो र फराकिलो बनाउँदै लग्यो । विज्ञान, तथ्य, तर्क र ‘क्रिटिकल थिंकिङ’ मा विश्वास गर्ने मान्छे बन्दै गएपछि स्वभावैले अन्धविश्वास र भीडमतको विरोध गर्ने प्रवृत्ति झाँगियो ।     तब म यस भेगको दर्शनको विकासक्रम अध्ययनतर्फ केन्द्रित भएँ । यस भूगोलमै विकसित दर्शनको प्राचीन भौतिकवादी धारा लोकायतरचार्वाक रहेछ । आचार्य बृहस्पति र अजित केसकम्बलीजस्ता दार्शनिकहरू रहेछन् । बुद्ध त यसपछि पो आए । उनले ‘कालाम सुत्त’मा ‘कुनै कुरा परम्परा वा धर्मग्रन्थमा लेखेकै भरमा नमान्नु, आफ्नै तर्क र परीक्षाको कसौटीमा जाँचेर मात्र स्वीकार्नु’ भनेझैँ तर्कको यो परम्परा प्राचीन रहेछ । यसले प्रत्यक्ष प्रमाण, भौतिक जगत् र तर्कलाई प्राथमिकता दिँदो रहेछ ।     तथ्य र तर्कको मिलानमा मानवशास्त्र, भाषाशास्त्र, समाजशास्त्र र प्रविधिमा डीएनए परीक्षण अनि कार्बन डेटिङले मिथक र इतिहासको अन्तर स्पष्ट पारिदिएपछि अध्ययन अझ गहिरो हुनुपर्छ भन्ने लाग्यो । तब जनइतिहासप्रतिको चाख अझै बढ्दै गयो । मेरो अध्ययन कुनै औपचारिक डिग्री पाउन नभई जिज्ञासाको हुटहुटी शान्त पार्नका लागि हुन्थ्यो । मेरो मनले मभित्र ‘किन र कसरी’ को उत्तर खोजिरहन्थ्यो । कारणबेगर कार्य हुँदैन, परिणाम त पछि देखिने हो । नियत कसको कस्तो छ भन्ने कुरा पनि परिणाममै निर्भर हुँदो रहेछ ।     प्रविधिको विकास र सहज पहुँचसँगै आफ्ना स्थापित विश्वासहरूमा पनि थप प्रश्न गर्दै तथ्य खोज्न सकिने भयो । भाषाको बाधा पनि रहेन । मूल टेक्स्टको अनुवाद प्रयोग गर्न सकिने भएपछि अन्यत्रका ज्ञान बुझ्नमा पनि सकस परेन । तब दर्शन, साहित्य र इतिहास छुट्याउन सक्ने हैसियत विकसित भयो । आध्यात्मिक साहित्यले बनाएका पुराना भ्रमहरू भत्किँदै गए । यसबाट मस्तिष्कलाई आराम दिने अन्धविश्वासीहरू र धर्मलाई धन्दा बनाउने राजनीतिक व्यवसायीहरूबाट मेरो तीव्र आलोचना र विरोध हुनु कुनै आश्चर्यको विषय रहेन ।     त्यसपछि भौतिकवादतर्फको क्रमशः आकर्षणले मलाई कम्युनिष्ट आन्दोलनमा सहभागी गरायो । माक्र्सवादको आत्मा नै भौतिकवाद हो । यो दार्शनिक विचार मात्रै नभएर जीवन र जगतलाई बुझ्ने आँखीझ्याल नै हो । यस भूगोलमा प्राचीन भौतिकवादी तथा तर्कशील धारा नभएका होइनन्, तर माक्र्स र एङ्गेल्सको भौतिकवाद भने जुझारु भौतिकवाद हो ।      यसले जीवनका हरेक पक्षलाई प्रभावित पार्ने मात्रै होइन, सांस्कृतिक चरित्र र विश्वासलाई समेत निर्देशन गर्दथ्यो । मेरा राजनीतिक विश्वास, संलग्नता, साहित्य, इतिहास र अन्य विधागत लेखनका आधार तिनै बने । परिणामतः अन्धआस्था राख्नेहरूबाट आक्रामक विरोध भोग्नु स्वाभाविकै हुन्थ्यो । यसभित्र ‘ट्रेडमार्कीय’ कम्युनिष्टहरू र विज्ञानका विद्यार्थी भएर पनि विज्ञानविरोधी हर्कत गर्नेहरू समेत उछित्तो काढ्ने पङ्क्तिमा थपिँदै गए ।     अन्धविश्वास विरोधी, तर्कसंगत र वैज्ञानिक दृष्टिकोण राख्ने व्यक्तिहरूले आफ्नै समाजका कट्टर समूहबाट धम्की, सामाजिक बहिष्कार र हिंसासमेत भोगेका थुप्रै ऐतिहासिक उदाहरण संसारभरि पाइन्छन् । तर, सबका सब प्रतिकार गरिरहनु समय र बुद्धिको अपव्यय मात्र हो । फारसीमा एउटा प्रसिद्ध भनाइ छ, ‘बा बदान बद बास ओ बा निकान निकी, जवाब–ए अबलाहान खामोशी अस्त ।’ अर्थात खराबहरूसँग सजग दूरी राख, असलहरूसँग भलाइ गरस तर मूर्खहरूका लागि सबैभन्दा उत्तम उत्तर मौनता नै हो । मेरो उपनामलाई लिएर अनेक आग्रह र पूर्वाग्रह राख्नेहरूका गाली भनेका उनीहरूको ज्ञानको भूगोलको ‘लालपुर्जा देखाएका मात्र हुन् । नाम त भीडबाट छुट्याउने एउटा सङ्केत शब्दभन्दा अरू के नै हुन्छ र ? लेखक, साहित्यकार र राजनीतिज्ञहरूले अर्को नाम वा उपनाम राख्नु परिस्थितिको उपज हुन्छ । कर्मले परिचय स्थापित गरेपछि भने नाम प्रतीकमा फेरिन्छन् । बाँकी अर्को अंक....

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्