IMG-LOGO

जे देखाइन्छ त्यो वास्तविकता होइन

 मंगल, मंसिर ९, २०८३  सच्ची मैनाली, अमेरिका

       कतिपय कुराहरू उजागर गर्न समय, परिस्थिति र विषयको संवेदनशीलताका कारण सही समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ । कतिपय कुराहरू बाहिर सामान्य देखिएपनि त्यसभित्र लुकेको स्वार्थ (hidden agenda) ठूलो हुन्छ । म व्यक्तिको पछि लाग्दिनँ । कुरा प्रवृत्तिको गरौँ ।        आफ्नै आँखा अगाडि केही कुरा गलत भएको देख्दा पनि चुप लाग्नुपरेको एउटा परिस्थिति मैले २ वर्ष अलि बढीदेखि भोगेको छु । अहिले पनि त्यसका बाछिटाहरू बेलाबेला यत्रतत्र छरिएका पाइएको छ, तर पनि म धैर्य गरेर बसेँ, किनकि कहिलेकाहीँ व्यक्तिको कर्तुत देखाइदिँदा मुख्य विषय ओझेलमा पर्छ । मलाई थाहा छ, मुख्य विषय र पीडितको संवेदनशीलता सबैभन्दा महत्वपूर्ण हुन्छ । बाहिर कसैद्वारा देखाइएका, फूलबुट्टा भरेर वर्णन गरिएका कुरा र कहानी तर भित्र कति घिनौना खेल हुन्छ भन्ने कुरा प्रमाणसहित जानकार हुँदाहुँदै पनि मौन बस्न अति गाह्रो हुन्छ । तर मैले आफ्नो नैतिक सीमा र परिस्थितिको सम्मान गर्दै २ वर्ष बढी मौनता साँधेँ ।        कुनै बेला जे देखाइन्छ, वास्तविकता त्यो हुँदैन । त्यसभित्र ठूलो लुकेको स्वार्थ (hidden agenda) हुन्छ । पर बसेकाले त्यही देख्छन् । जुन देखाइएको हुन्छ, जुन देखाउन देखाउनेहरू सक्षम हुन्छन् । मैले यो सन्दर्भको कुरा गहिराइमा बुझ््नुअघि मलाई अर्को राज्यबाट कसैले यो कुरा सुनाएको थियो । म छक्क परेँ । पहिले त मैले पनि विश्वासै गर्न सकिनँ, पछि जब ठोस प्रमाण मेरो हात प¥यो, मैले होइन भन्न सकिनँ ।        कुनै पनि कुरा बुझ्न कि त त्यसको भित्री र बाहिरी कुरा बुझ्नुपर्छ, कि अरूले देखाएको कुरा स्वीकार गर्नुपर्छ । यहाँ यो कुरा बुझेका मान्छे छन्, धेरै छन्, तर कोही मेसेजमा आएर मुर्मुरिए, केहीले प्रमाण पठाए, केहीले फोन गरेर दुखेसो सुनाए, कोही दुःखी भएर आफै पाखा लागे । सारा दुनियाँले यो कुरा नबुझेपनि मेरो अनुमानमा लगभग १०० जना जति मान्छेले मैले उठान गरेको कुरा बुझेका छन् । अरूले गाईंगुईं कुरा गरेको सुनेको छु, धेरैलाई सुइँको (hints) समेत छैन ।        हुन त मैले हातमा प्रमाण हुँदाहुँदै यति घुमाएर लेख्न त २ वर्ष बढी लाग्यो । तर अहिलेलाई बुझ्नेले बुझे पुग्छ, किनकि कुनै समयमा उनीहरूले पनि ‘सबै मूर्ख छैनन् है, यिनीहरूले पनि बुझेका छन्, हामीले गरेको चटक, हाम्रो नाटक’ भनेर थाहा पाउनुपर्छ । अब यो पढ्नेलाई मलाई भनेको हो कि जस्तो लाग्यो भने हो, तपाइँले त्यस्तो गर्नुभएको हो भने तपाइँलाई नै भनेको हो, तर तपाइँले गर्नुभएको हैन भने मैले तपाइँलाई भनेको हैन । यो केहीलाई मात्रै भनेको हो ।        मान्छे हौँ हामी, गल्ती हामीबाट नै हुने हो । नजानेर गरेको गल्ती क्षम्य पनि होला, तर नियतमा खोट राखेर पटक–पटक त्यसै गरिरहनु भनेको गल्ती हुन सक्दैन । कुरा बारम्बार दोहोरिरहेको प्रवृत्तिको हो । जानकार छु, यति लेख्दा पनि म केहीको दुश्मन पक्कै हुन्छु, तर यति पनि लेखिनँ भने यसले मलाई पोलिरहन्छ । त्यसैले लेखेँ । २–४ जनाले चिनेका र विश्वास गरेका मान्छे त झनै पारदर्शी हुनुपर्छ, घुसघुसे होइन ।        नोट ः म कुनै गुट, उपगुटमा छैन । ग्याङ बनाउने, गुट बनाउने, कसलाई उकास्ने, कसलाई पछार्ने ? म यो खेलमा न हिजो थिएँ, न आज, न भोलि ! कसैलाई सहयोग गर्नुपरेको बेला म केही समय कतै मिसिन्छु, सबैसँग मिसिन्छु, उहाँहरूको सुन्दर मनलाई मनैदेखि धन्यवाद दिन्छु र निस्किन्छु । जरुरत परेको मान्छेलाई सहयोग गर्ने मान्छे पनि मलाई खास लाग्छन् । उहाँहरूलाई कोटिकोटि नमन, उहाँहरूप्रति सधैँ सम्मान छ मेरो, चाहे त्यो जो होस् । मेरो कसैसँग व्यक्तिगत दुश्मनी छैन, तर प्रवृत्ति हामीले सुधार्नुपर्छ । व्यवहार सीधा, सरल र स्पष्ट राखौँ । पारदर्शी बनौँ ।        यो विषय अहिलेलाई रहस्यमय नै रहन दिउँ । आशा गरौँ, उनीहरू अब सुध्रिने छन् । रहस्यमै राख्ने भए किन लेखेको त ? तिनका त्यस्तै हरकत फेरि दोहोरिएकोले लेखेको ! किन व्यक्तिगत रूपमा नभनेको ?        कसैलाई पहिले भनिसकेको हुँ, कोही आमनेसामने हुँदा लपक्कै, भित्रभित्रै छपक्कै गर्ने अनि यता पनि ठिक्क, उता पनि ठिक्क गर्दै बाहिर एउटा कुरा गर्ने तर भित्रभित्रै घुसघुसे आफ्नो स्वार्थ अनुकूलको काम गर्ने भएको र मलाई त्यस्तो प्रवृत्तिप्रति उकुसमुकुस (suffocation) हुने भएकोले । सुध्रौँ, स्वार्थ पूर्ति अन्यत्रबाट पनि गर्न सकिन्छ । हरेक विषयलाई आफ्नो स्वार्थ पूर्ति गर्ने सिँढी बनाउनु हुँदैन, पाप लाग्छ । Lesson learned: बाहिर मगमग, भित्र दुर्गन्धित ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्