कहिलेकाहीँ एउटा मानिस हराउँछ, तर उसको खोजीमा एउटा परिवार मात्र होइन, सिंगो समाजको मन भौँतारिन थाल्छ । त्यस्तटै भएको छ विश्व भएका नेपालीका मामता काफ्ले । परिवारका लागि त्यो प्रतीक्षा केवल समय बित्नु होइन, हरेक क्षण आशा र निराशाबीचको लडाइँ हो । नेपालको माटोमा जन्मिएकी एउटी छोरी जब परदेश पुग्छे, उसको यात्रामा केवल व्यक्तिगत महत्त्वाकाङ्क्षा हुँदैन । उसँग परिवारका सपना जोडिएका हुन्छन् । आमाबुबाका अपेक्षा, आफन्तको विश्वास र आफ्नै भविष्यप्रतिको आशा बोकेर उ नयाँ समाजमा जीवनको जग बसाल्न खोज्छे । परदेशको जीवन बाहिरबाट हेर्दा सुविधासम्पन्न देखिए पनि त्यसको भित्री संसार सधैँ सहज हुँदैन । भाषा, संस्कृति, कामको दबाब, पारिवारिक जिम्मेवारी र सम्बन्धका जटिलताबीच मानिसले आफ्नो जीवनलाई सन्तुलित बनाइरहेको हुन्छ । ममता पनि आफ्नै जीवनका सपना र जिम्मेवारी बोकेकी नेपाली चेली थिइन् । एउटी महिलाको जीवनलाई उसको वैवाहिक सम्बन्धले मात्र परिभाषित गर्न सक्दैन । उसका आफ्नै इच्छा हुन्छन्, आफ्नै आकाङ्क्षा हुन्छन्, आफ्नै सम्भावना हुन्छन् । उ कसैकी पत्नी वा कसैकी छोरी मात्र होइन, आफ्नै अस्तित्व र पहिचान भएकी स्वतन्त्र मानिस पनि हो । तर ममताको बेपत्ता प्रकरणले एउटा गम्भीर प्रश्न हाम्रो सामु उभ्याएको छ—मानिसले आफ्नै घरभित्र आफूलाई सुरक्षित महसुस गर्न नसक्ने अवस्था कसरी सिर्जना हुन्छ ? प्रेम र विश्वासका आधारमा सुरु भएको सम्बन्ध कहिले भय, नियन्त्रण र असुरक्षाको कारण बन्न पुग्छ ? बेपत्ता भएको खबर र शङ्काको घेरासम्म ममता बेपत्ता भएको घटनासँग सम्बन्धित अनुसन्धानमा विभिन्न शङ्कास्पद विषयहरू उठेका छन् । तीमध्ये केही विषयले घटनाको प्रकृति र सम्भावित परिस्थितिबारे गम्भीर प्रश्न जन्माएका छन् । घरको मास्टर बेडरुम र बाथरुममा डीएनए प्रमाण भेटिएको विषय अनुसन्धानमा जोडिएको छ । ब्लुस्टार प्रविधिको प्रयोगबाट रगत भएको आशङ्का गरिएका स्थान पहिचान गरिएको विवरण पनि सार्वजनिक भएको छ । त्यसैगरी, वालमार्टबाट चक्कु र पञ्जा खरिद गरिएको विषय अनुसन्धानमा उठेको छ । अगस्ट १ मा ल्यान्डस्केपरलाई दिइएको ब्याट्रीबाट चल्ने चेन स आरा र त्यसमा ममताको डीएनए भेटिएको भनिएको विवरण पनि घटनासँग जोडिएको छ । रगतको दाग भएको कार्पेटमाथि रहेको खाट सार्न बेसमेन्टमा बस्ने व्यक्तिको सहयोग लिइएको विषय, ठूलो मात्रामा सफाइका सामग्री खरिद गरिएको भनिएको विवरण र ठूला तथा बलिया फोहोरका झोला किनिएको विषयले पनि अनुसन्धानमा स्थान पाएका छन् । त्यस्तै, ४८ घण्टाभित्र पाँच पटक फोहोर फ्याँकिएको भनिएको गतिविधिबारे पनि प्रश्न उठाइएको छ । यी विवरण सामान्य मानिसका लागि पनि असहज र हृदयविदारक छन् । किनकि हरेक विवरणको पछाडि एउटा मानवीय जीवनको सम्भावित नियति जोडिएको छ । तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—अनुसन्धानमा कुनै विषय उठ्नु र अदालतबाट त्यो प्रमाणित हुनु एउटै कुरा होइन । कुनै वस्तुमा डीएनए भेटिएको विवरणलाई त्यसको सन्दर्भ, परीक्षणको विश्वसनीयता र अन्य प्रमाणसँग जोडेर बुझ्नुपर्छ । खरिद गरिएको वस्तु वा कुनै गतिविधिले मात्रै अपराधमा संलग्नता स्वतः प्रमाणित गर्दैन । न्यायको खोजी भावनाले सुरु हुन सक्छ, तर त्यसको निष्कर्ष प्रमाण र कानुनी प्रक्रियाबाटै निस्कनुपर्छ । सम्बन्धभित्र लुकेको, सम्बन्धहिनता ममताका नजिकका साथीहरूको भनाइअनुसार, उनीहरूबीच वैवाहिक सम्बन्ध अन्त्य गर्ने विषयमा कुराकानी भइरहेको थियो । साथीहरूले नरेशले ममतालाई नियन्त्रणमा राख्ने व्यवहार गरेको र उनी घरेलु दुव्र्यवहारको सिकार भएको बताएको विवरण पनि सार्वजनिक भएको छ । यी भनाइले घटनालाई केवल एक व्यक्तिको बेपत्ता हुने प्रकरणका रूपमा मात्र हेर्न नहुने सङ्केत गर्छन् । यसले सम्बन्धभित्रको शक्ति, स्वतन्त्रता र सुरक्षासम्बन्धी प्रश्न पनि उठाउँछ । साथीहरूका भनाइ र दुव्र्यवहारसम्बन्धी आरोपको कानुनी मूल्याङ्कन सम्बन्धित प्रमाणका आधारमा हुनुपर्छ । वैवाहिक सम्बन्धमा मतभेद हुनु असामान्य होइन । विचार नमिल्न सक्छन्, अपेक्षा फरक हुन सक्छन्, प्रेम कमजोर हुन सक्छ र अन्ततः सँगै जीवन बिताउन नसकिने निष्कर्षमा पुग्न पनि सकिन्छ तर सम्बन्धको अन्त्य चाहनु कसैको अपराध होइन । आफ्नो जीवनबारे निर्णय लिन खोज्नु कुनै महिलाको गल्ती होइन । सम्बन्धबाट अलग हुने इच्छा राखेकै कारण कसैले आफ्नो सुरक्षा गुमाउनुपर्ने अवस्था सभ्य समाजले स्वीकार गर्न सक्दैन । प्रेमको अर्थ कसैलाई आफ्नो इच्छाअनुसार चलाउनु होइन । विवाहको अर्थ कसैको स्वतन्त्रतामाथि अधिकार जमाउनु पनि होइन ।यदि सम्बन्धमा दुव्र्यवहार र नियन्त्रणको अवस्था थियो भन्ने आरोप प्रमाणित हुन्छ भने त्यसलाई केवल पारिवारिक विवाद भनेर सामान्यीकरण गर्न मिल्दैन । घरेलु हिंसा घरको चार पर्खालभित्र सीमित देखिए पनि त्यसको असर मानिसको आत्मसम्मान, मानसिक स्वास्थ्य, सामाजिक जीवन र भविष्यसम्म फैलिन सक्छ । कहिलेकाहीँ पीडितले आफ्नो पीडा खुलस्त भन्न सक्दैनन् । कहिलेकाहीँ साथीहरूले केही सङ्केत देख्छन्, तर त्यसको गम्भीरता बुझ्न सक्दैनन् । कहिलेकाहीँ सम्बन्ध बचाउने नाममा सहनशीलतालाई नै समाधान ठानिन्छ, तर सहनशीलता र असुरक्षालाई चुपचाप स्वीकार गर्नु एउटै कुरा होइन । ममताकी आमाको आँखामा अधुरो संसार ममताको जीवनसँग जोडिएका पारिवारिक सम्बन्ध र जिम्मेवारीलाई सम्झँदा यो घटना अझ बढी मर्मस्पर्शी बन्न पुग्छ । एउटी आमाको जीवन केवल उनको आफ्नै जीवन हुँदैन । सन्तानको हाँसोमा उनको खुसी हुन्छ, सन्तानको भविष्यमा उनको सपना हुन्छ र सन्तानको सुरक्षामा उनको संसार अडिएको हुन्छ । यदि कुनै आमा अचानक सम्पर्कविहीन हुन्छिन् भने परिवारले भोग्ने पीडा शब्दमा समेट्न कठिन हुन्छ । उनको आवाज सुन्न नपाउनु, उनको अवस्था थाहा नपाउनु र उनी सुरक्षित छिन कि छैनन् भन्ने प्रश्नको उत्तर नपाउनु आफैँमा असह्य मानसिक यातना हो । ममताका आफन्त र उनलाई माया गर्ने मानिसहरूको मनमा कस्तो पीडा थियो भन्ने कुरा हामी पूर्ण रूपमा अनुभूति गर्न सक्दैनौँ । तर एउटा कुरा बुझ्न सक्छौँ—आफ्नो प्रियजनको अवस्था अज्ञात हुँदा मानिसको समय घडीको सुईसँग होइन, आशाको धड्कनसँग चल्छ । हरेक नयाँ खबरले आशा जगाउन सक्छ । हरेक अनुत्तरित प्रश्नले त्यो आशा भत्काउन सक्छ ।परिवारले खोजेको कुरा केवल एउटा समाचार होइन, आफ्नो मान्छेको सत्य हो । उनीहरूलाई अनुमान होइन, स्पष्ट उत्तर चाहिन्छ । आश्वासन मात्र होइन, न्यायको भरोसा चाहिन्छ । ममता कहाँ छिन् ? उनीमाथि के बित्यो? घटनाको वास्तविकता के हो ? यी प्रश्नको उत्तर भावनात्मक अनुमानले होइन, अनुसन्धानबाट स्थापित सत्यले दिनुपर्छ । ममताको प्रकरणले हामीलाई आफ्नै समाजतर्फ फर्केर हेर्न बाध्य बनाउँछ । हामी विवाहलाई सामाजिक प्रतिष्ठासँग जोड्छौँ । परिवार जोगाउनुपर्ने जिम्मेवारीको कुरा गर्छौँ । महिलाले सहनुपर्छ, मिल्नुपर्छ र घरको इज्जत बचाउनुपर्छ भन्ने मान्यता अझै कतिपय ठाउँमा जीवित छ तर परिवारको इज्जत जोगाउने नाममा कुनै व्यक्तिको पीडा लुकाउनुपर्छ भने त्यो इज्जतको अर्थ के रहन्छ ? घरभित्र हिंसा भइरहेको छ भने त्यसलाई निजी मामिला भनेर बेवास्ता गर्नु उचित हुन्छ ? कसैले आफ्नो सम्बन्धबाट अलग हुने इच्छा व्यक्त गर्छ भने उसको निर्णयलाई सम्मान गर्नुपर्दैन ? नियन्त्रण र प्रेमबीचको अन्तर हामीले कहिले बुझ्ने ? यी प्रश्न नेपालमा मात्र सीमित छैनन् । अमेरिका, बेलायत वा संसारको जुनसुकै देशमा बस्ने महिलाका लागि पनि सुरक्षा, आत्मसम्मान र स्वतन्त्रताको अधिकार उत्तिकै महत्त्वपूर्ण छन् ।परदेशमा बस्ने नेपाली समुदायका लागि यो विषय अझ संवेदनशील छ । परिवार र आफन्त हजारौँ किलोमिटर टाढा हुँदा पीडा पहिचान गर्न र आवश्यक सहयोग पु¥याउन कठिन हुन सक्छ । भाषा, सामाजिक एक्लोपन, आर्थिक निर्भरता वा कानुनी प्रक्रियाबारेको अपर्याप्त जानकारीले पीडितलाई थप असहाय बनाउन सक्छ । त्यसैले नेपाली समुदायले यस्ता घटनामा केवल दुःख व्यक्त गरेर मात्र पुग्दैन । घरेलु हिंसाका सङ्केत पहिचान गर्ने, पीडितको कुरा विश्वासपूर्वक सुन्ने, सुरक्षित सहायता उपलब्ध गराउने र आवश्यक परे सम्बन्धित निकायसम्म पुग्न सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ । हिंसाको जोखिममा परेको व्यक्तिलाई दोष दिनु होइन, उसको सुरक्षा सुनिश्चित गर्नु समाजको जिम्मेवारी हो । ममता काफ्लेको घटनासँग जोडिएका शङ्कास्पद विवरणले जनमानसमा आक्रोश र दुःख उत्पन्न गर्नु स्वाभाविक हो । तर यस्ता संवेदनशील घटनामा सामाजिक सञ्जालको आक्रोशलाई प्रमाणको विकल्प बनाउनु हुँदैन । अनुसन्धानको निष्पक्षता, वैज्ञानिक प्रमाणको विश्वसनीयता, साक्षीका बयानको परीक्षण र अदालतको निर्णयले नै घटनाको वास्तविकता स्थापित गर्न सक्छ । कसैलाई दोषी ठहर गर्न हतार गर्नु न्याय होइन । प्रमाणित आरोपलाई बेवास्ता गर्नु पनि न्याय होइन । न्याय भनेको सत्यसम्म पुग्ने निष्पक्ष प्रक्रिया हो—जहाँ पीडितको आवाज सुनिन्छ, प्रमाणको परीक्षण हुन्छ र कानुनअनुसार जिम्मेवारी निर्धारण गरिन्छ । ममता, तिमी एउटा नाम मात्र होइनौ ममता काफ्ले आज एउटा समाचारको शीर्षकमा सीमित नाम होइनन् । उनी एउटा परिवारको प्रिय सदस्य, आफ्ना साथीहरूको सम्झनामा रहेकी महिला हुन् । ममता घटनाको अनुसन्धानमा सीमित नहोस् । यो आवाज घरेलु हिंसाविरुद्ध चेतना फैलाउने आवाज बनोस् । यो आवाज महिलाको स्वतन्त्रता र सुरक्षाको पक्षमा उभिने आवाज बनोस् । यो आवाज पीडितलाई मौन रहन बाध्य पार्ने सामाजिक सोचविरुद्ध उभियोस् । काभ्रेको माटोमा जन्मिएकी चेलीको जीवनसँग जोडिएको यो घटनाले संसारको जुनसुकै कुनामा रहेका नेपालीको मन दुखाएको छ, तर दुःखको अन्तिम अर्थ आँसु मात्र होइन । दुःखले समाजलाई सचेत बनाउन सके, त्यसले परिवर्तनको ढोका खोल्न सक्छ । ममताको घटनाको सत्य सार्वजनिक होस् । अनुसन्धान निष्पक्ष होस् । न्यायले आफ्नो बाटो पूरा गरोस् ।अब कुनै पनि छोरीले प्रेम, विवाह वा परिवारको नाममा आफ्नो अस्तित्व नै जोखिममा परेको महसुस गर्नुपर्ने अवस्था नआओस् । अपाराधी नरेश भट्टले आजीवन जेल सजाय पाएकाको सुन्न पाइयोस् । ममता काफ्ले बेपत्ता भएपछि अनुसन्धानमा उठेका शङ्कास्पद विषयहरू : – मास्टर बेडरुम र बाथरुममा डीएनए प्रमाण भेटिएको । – ब्लुस्टार प्रविधिबाट रगत भएको शङ्कास्पद स्थान देखिएको । – वालमार्टबाट चक्कु र पञ्जा खरिद गरेको विषय । – अगस्ट १ मा ल्यान्डस्केपरलाई दिएको ब्याट्रीबाट चल्ने चेन स आरा, जसमा ममताको डीएनए भेटिएको भनिएको । – रगतको दाग भएको कार्पेटमाथि रहेको खाट सार्न बेसमेन्टमा बस्ने व्यक्तिको सहयोग लिएको विषय । – धेरै मात्रामा सफाइ गर्ने सामग्री खरिद गरेको । – ठूला तथा बलिया फोहोरका झोला खरिद गरेको । – ४८ घण्टाभित्र पाँच पटक फोहोर फ्याँकिएको विषय । – ममताका नजिकका साथीहरूका अनुसार, उनीहरूबीच छुट्टिने विषयमा कुराकानी भइरहेको थियो । – साथीहरूका भनाइअनुसार, नरेशले ममतालाई नियन्त्रणमा राख्ने व्यवहार गर्थे र उनी घरेलु दुव्र्यवहारको सिकार भएको बताइएको थियो । यी विषय अनुसन्धान तथा अदालतमा प्रस्तुत बयान र प्रमाणसँग सम्बन्धित छन् ।
