एका बिहानै फेसबुकको भित्तामा परिचित अनुहारहरूले दिइएका श्रद्धाञ्जलीका शब्दहरू देखेँ । ती नामहरूमध्ये धेरै मेरा चिनजानका थिए । केही त कुनै न कुनै मोडमा मेरो जीवनसँग जोडिएका नाम थिए । ती प्रत्येक नामसँग आ–आफ्नै चरित्र थियो, आफ्नै कथा थियो, आफ्नै समय थियो । अनि अचम्म लाग्यो—ती मानिसहरूका कथामा कतै न कतै मेरो चरित्र पनि जोडिएको रहेछ । सात समुद्रपारि बसेर आज म आफ्नै विगतका पानाहरू पल्टाइरहेको छु । एक–एक मोड, एक–एक घटना, एक–एक पात्र र तिनले छाडेका पदचापहरूलाई पुरानो किताबका पाना पल्टाएझैँ हेर्दैछु । विगतका पाना पल्टाउन मन त थिएन । आज फेरि एउटा खबरले ती पाना पल्टाउन बाध्य बनायो । रामशरण खरेलले धरा छाडे । तिम्रो जेीवन छोटो रहेछ तर त्यसले मनभित्र एउटा लामो कथा खोलिदियो । रामशरण, तिमीलाई पत्रकारिता पेशामा ल्याउने मान्छे म नै हुँ । कहिलेकाहीँ सोचिरहन्छु—यदि तिमी पत्रकारितामा नआएको भए सायद तिमीले त्यति धेरै रक्सी पिउने थिएनौ कि ? रक्सीले तिमीलाई त्यति छिटो खाइदिने थिएन कि ?यो प्रश्नको उत्तर अब तिमीले दिन सक्दैनौ । त्यसैले आज तिमीलाई सम्झँदै मेरो मनले आफैंलाई एउटा कठोर प्रश्न गरिरहेको छ—रामशरण, तिमीलाई पत्रकार बनाएर मैले के गरे ं? आठ कक्षासम्म पढेको त्यो चलाख केटो हो रामशरण काभ्रेको डाँडागाउँमा जन्मिएका रामशरण पचासको दशकमा बनेपा छिरेका थिए । औपचारिक शिक्षा आठ कक्षासम्म मात्रै । तर बुद्धि, चतुीरता र कामप्रतिको लगावमा उनी धेरै अगाडि थिए । दिनभर चौकोटका तोरणबहादुरको इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युटमा कार्यालय सहयोगीका रूपमा काम गर्थे । बेलुका धुलिखेल पुग्थे । डेरा पनि धुलिखेलमै थियो । कुनै भलादमीले उनलाई बस्ने व्यवस्था मिलाइदिएका थिए । उनी मभन्दा करिब तीन वर्ष कान्छा थिए । काम भनेपछि ज्यान दिएर लाग्ने । कसैले अर्हाएको काम होस् वा मुखले भनेको सामान्य कुरा—दिलोज्यान दिएर पूरा गर्ने । एकपटक हाम्रो एग्रोभेट पसलमा आएर जागिर मागे । तेजबहादुर मिजार र मैले त्यतिबेला काम नभएको भन्दै, मान्छे चाहियो भने बोलाउँला भनेर फर्काइदियौँ । त्यसपछि उनी केही समय हाम्रो पसलमा आएनन् । तर समयले उनलाई फेरि त्यही पसलतिर ल्यायो । काभ्रे टाइम्स प्रकाशन सुरु भएपछि एक दिन उनी २८ किलोस्थित केयू चोकमा भएको दुर्घटनाको समाचार लिएर आए । कागजमा बाङ्गिएका अक्षरमा समाचार लेखिएको थियो । मैले माथिदेखि तलसम्म हेरेँ । बसमाचारसँगै स्टिच गरिएको अर्को पाना थियो । त्यो समाचारभन्दा बढी मलाई त्यही पानाले छोयो । त्यसमा लेखिएको थियो—तपाईंको पसलमा काम नभए पनि पत्रिकामा त पक्कै होला ।” मैले उनलाई सोधेँ—“तिमी मुखैले जागिर छ कि भनेर सोध्न सक्थ्यौ । निवेदन नै किन लेखेको ?” उनले हात जोड्दै भने—“सरको हृदयमा बस्नलाई हो, सर ।” त्यो वाक्यले मलाई भित्रैदेखि छोयो । म त्यति कठोर मान्छे कहिल्यै थिइनँ । उनीमाथि त्यो एउटा वाक्यले यस्तो असर ग¥यो, मानौँ कसैले कडा घिउलाई हातको न्यानोले पगालिदियो । मैले उनको ढाडमा धाप मारेँ । “इमानदारीपूर्वक काम गर । काम जति पनि छन् । म तिमीलाई काम दिन्छु ।” त्यस दिनदेखि रामशरण खरेल काभ्रे टाइम्ससँग जोडिए । कुरा थियो—२०५४ साल वैशाख । पत्रिका साप्ताहिक थियो । पत्रिकाका लागि दुई दिन आए पुग्थ्यो तर रामशरण दैनिकजसो मित्र एग्रोभेटमा आइपुग्थे । म व्यापारमा व्यस्त हुन्थेँ । पसलमा ग्राहकको भीड हुन्थ्यो । भारतदेखि नेपालसम्मका व्यापारीहरू फोन गर्थे । त्यतिबेला मोबाइल थिएन । मेरो फोन नम्बर ०११–६६१२७५ मा फोनको घण्टी बजिरहन्थ्यो । मसँग फुर्सद हुँदैनथ्यो । एक दिन अलि झर्किएर सोधेँ “किन आएको ?” उनी मुस्कुराउँदै भन्थे “भेटघाट गर्न नि !” कालो भादगाउँले टोपी ढल्काएर, सेतो सर्ट र कालो पाइन्ट लगाएर, दुवै हात जोडेर “हजुर सर” भन्दै उभिइरहेको त्यो दृश्य आज पनि आँखाअगाडि आउँछ । त्यतिबेला धुलिखेलको बसभाडा दुई रुपैयाँ थियो । चार रुपैयाँ भए धुलिखेल पुगिन्थ्यो । कहिलेकाहीँ एक रुपैयाँको चना कुटुकुटु टोकेर दिनभर हिँडेर पनि काम खोज्दै आउने रामशरण थिए । त्यो सम्झँदा आज मन भारी हुन्छ । एक दिन फेरि आए । “मेरो काम छैन सर । केही काम दिनुहोस् ।” मैले उनलाई निम्ता आएका कार्यक्रममा भरतराज श्रेष्ठ सरसँगै जाने र समाचार ल्याउने काम दिएँ । औपचारिक कार्यक्रममा जाने फुर्सद मलाई हुँदैनथ्यो । रामशरणका लागि भने त्यो अवसर थियो । उनी गए । समाचार लिएर फर्किए । त्यसपछि हाम्रो सम्बन्ध केवल मालिक र कर्मचारीको रहेन । साथी र सहयात्रीको बन्यो । समाचारबाट जीवनतिरको यात्रा थीयो उनकेो कार्यक्रमबाट फर्किएपछि हामी चौतारीमा बसेर गफ गरेझैँ गफ गथ्र्यौँ । शनिबारसम्म समाचार र लेख तयार पारेर म टाइप गराउन विश्वभूमि प्रेस, भोटाहिटी, काठमाडौं पठाउँथेँ । आइतबार बिहान रामशरण काठमाडौं जान्थे । बेलुका धुलिखेल फर्कन्थे । सोमबार मेरोमा खाना खान्थे । फेरि पत्रिकाका समाचार सामग्री बोकेर काठमाडौं पुग्थे । सोमबार रातभर पत्रिका छापिन्थ्यो । त्यसपछि हाम्रो मोटरसाइकल यात्रा सुरु हुन्थ्यो । काठमाडौं–बनेपा–पनौती–धुलिखेल हुँदै पाँचखाल, दोलालघाट, सिपाघाटतिर । कहिले पलाञ्चोकको टुप्पोमा । कहिले नगरकोट । कहिले नाला । कहिले साँखु । कहिले दाप्चा । त्यो समय पत्रकारिता केवल पेशा थिएन । त्यो हाम्रो यात्रा थियो । हाम्रो जीवन थियो । तेजबहादुर मिजार साझेदारीबाट छुटेपछि एग्रोभेट पसलमा रामशरण मेरो सहयोगी पनि बने । उनी मलाई जति आवश्यक थिए, म पनि उनलाई त्यति नै आवश्यक थिएँ । हामी एउटै परिवारका सदस्यजस्तै भएका थियौँ । उनले मलाईभन्दा उषालाई अझ धेरै सम्मान गर्थे । बाबु सम्यकलाई काखमा लिएर हिँड्थे । एकपटक सम्यकको हात पोलेको थियो । रामशरणले उसलाई काखमा लिएर हातमा फुकिरहेका थिए । आज त्यो सानो दृश्य पनि ठूलो स्मृति बनेर उभिएको छ । बनेपा, धुलिखेल, नाला, साँगा र आसपासका क्षेत्रमा रामशरणलाई पत्रकारका रूपमा मानिसहरूले चिन्न थाले । बोलाउन थाले । कार्यक्रममा बोलाउन थाले । खुवाउन थाले । खुवाउँदै जाँदा रक्सी पनि खुवाउन थाले । सायद त्यहीँबाट अर्को कथा सुरु भयो । पहिले चुरोट । पछि रक्सी । बिस्तारै रक्सी उनको साथी होइन, मालिक बन्दै गयो । मैले मिलेसम्म सम्झाएँतर लतलाई सम्झाएर मात्रै कहाँ जित्न सकिन्छ र ? काभ्रे पोस्टमा विष्णुजीले उनलाई लगे । तर त्यहाँ पनि धेरै समय टिक्न सकेनन् । त्यसपछि उनले आफैं राष्ट्रचक्र नामको पत्रिका दर्ता गरे । युपी दाप्चालीलाई साथ लिएर पत्रिका चलाए । पत्रिका निकाल्नु सजिलो थिएन । सहयोगका नाममा रकम माग्न उनी धेरैको ढोका पुगे । कसैलाई बाँकी राखेनन् । तर उनको एउटा नशा भने अझै जीवित थियो । पत्रिका निकाल्ने नशा । उनी लुखुरलुखुर पैदल हिँडेर कति बाटो पार गरे होलान् । कहिलेकाहीँ लाग्थ्यो, यसरी नै हिँडिरहे भने चन्द्रमासम्म पुग्लान् । उनको पत्रिका निकाने जुनून त्यस्तै थियो । भाइ कमलले पनि दाइलाई पत्रिका निकाल्न सहयोग गर्थे । रामशरणको जीवनमा अभाव थियो, संघर्ष थियो, कमजोरी थियो । तर त्यस सबैमाथि एउटा कुरा भारी थियो—आफ्नो नाममा पत्रिका निकाल्ने सपना । पछिल्लो पटकको भेट म नेपाल पुगेको बेला उनले मलाई देख्नेबित्तिकै भने—“कहिले आउनुभयो सर ?” त्यसपछि उनी छोड्दै छोडेनन् । त्यतिबेला उनी रक्सीको लतमा निकै गहिरिइसकेका थिए हरिभक्त कटुवाल जस्ततै । सम्झाउने ठाउँ थिएन । म आफैं भागेँ । म भाग्दा पनि उनी बाटो छेक्थे । त्यसपछि धुलिखेल अस्पतालमा आमा बिरामी भएको खबर पाएर उनी मलाई खोज्दै आए । उनको त्यो अवस्था देख्दा मैले आजको रामशरणमा पुरानो रामशरण खोज्न थालेँ । त्यो कालो भादगाउँले टोपी लगाएर दुवै हात जोड्दै “हजुर सर” भन्ने केटो कहाँ गयो ? एक रुपैयाँको चना टोकेर दिनभर हिँड्ने त्यो मिहिनेती केटो कहाँ हरायो ? निवेदनको एउटा वाक्यले मेरो हृदय पगाल्ने त्यो रामशरण कहाँ गयो ? मसँग उत्तर थिएन । रामशरण, अब तिमीलाई के लेखूँ ? आज तिमी छैनौ । फेसबुकमा तिम्रो तस्बिरमुनि मानिसहरूले श्रद्धाञ्जलीका शब्द लेखिरहेका छन् । म पनि त्यही भीडमा एउटा शब्द थप्न सक्छु । मेरो लागि तिमी एउटा श्रद्धाञ्जलीको शब्द मात्रै होइनौ । तिमी मेरो विगतको एउटा जीवित पाना हौ । मेरो पत्रकारिताको एउटा अध्याय हौ । मेरो गल्तीको एउटा ऐना हौ । तिमीलाई पत्रकारिता पेशामा ल्याउने मान्छे म हुँ । यो कुरा आज सम्झँदा गर्वभन्दा बढी जिम्मेवारी महसुस हुन्छ । सायद पत्रकारिताले तिमीलाई संसारसँग चिनायो । त्यही संसारले तिमीलाई चुरोट र रक्सीको बाटोतिर पनि धकेल्यो । दोष पत्रकारिताको थिएन । दोष समयको थियो । सायद संगतको थियो । तिम्रो आफ्नै कमजोरीको थियो । आज यी सबै कारण खोजेर मेरो मनलाई सान्त्वना मिल्दैन । त्यसैले तिमीलाई एउटा कुरा मात्रै भन्न मन लागेको छरामशरण, मलाई माफ गर । तिमी यति छिटो जानुमा म आफैंलाई कताकता दोषी ठानिरहेको छु । तिमीले जीवनमा धेरै कुरा पाएनौ होला । तर तिमीले आफ्नो नाम बनायौ । पत्रकारितामा आफ्नो पाइला छाड्यौ । तिम्रो अक्षरले काभ्रेका गाउँ, सडक, दुर्घटना, मानिस र समयलाई कागजमा उर्तायो । तिमी छैनौ तर तिम्रा ती बाङ्गिएका अक्षरहरू, कालो टोपीमुनिको मुस्कान, “हजुर सर” भन्ने आवाज र सम्यकलाई काखमा लिएर उसको पोलेको हातमा फुकिरहेको त्यो दृश्य—मेरो स्मृतिमा अझै जीवित छन् । तिमी गएपछि मैले एउटा कुरा फेरि बुझेँ—मानिस मर्छ, तर उसले अरूको जीवनमा छोडेका दृश्यहरू मर्दैनन् । रामशरण, तिमीलाई सम्झेर आज मेरो मनले एउटा प्रार्थना गरेको छ—तिमीजस्ता अर्को रामशरणले अभाव, संगत र लतसँग हार्न नपरोस् । तिम्रो जीवनको राम्रो पक्ष सम्झेर तिमीलाई बिदाइ गर्छु । मलाई माफ गर, रामशरण । तिम्रो आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली ।
