IMG-LOGO

काव्य–सन्ध्यामा सहभागी हुँदा

 मंगल, असोज १३, २०८३  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

    कविता बुझ्न केवल भाषा बुझेर पुग्दैन, त्यसका लागि कवि–हृदय चाहिन्छ । कविता शब्दहरूको हरफ मात्र होइन, हृदयभित्र उठ्ने अदृश्य तरङ्गहरूको लय हो । त्यो कविको शब्दसँगको यात्रा मात्र होइन, आफ्नै अनुभूतिसँग पाठक र श्रोताको पुनर्मिलन पनि हो । कहिलेकाहीँ एउटा कविता पढ्दा वा सुन्दा हामीभित्र वर्षौँदेखि थन्किएका कुनै पुराना ढोका आफैँ खुल्छन् । बिर्सिसकेको कुनै अनुहार सम्झनामा आउँछ, दबाएर राखेको कुनै पीडा बोल्न थाल्छ, कुनै बिछोड फेरि ताजा हुन्छ । आँखाले नदेखेको विगत अचानक आँखैअगाडि दृश्य बनेर उभिन्छ ।     सेप्टेम्बर २६ को अल्डरसटको त्यो काव्य–सन्ध्याले मभित्र पनि त्यस्तै धेरै ढोका खोलिदियो । बिरामी शरीरलाई केहीबेर आराम मिल्यो, तर मन र मस्तिष्क भने कविताका शब्दहरूले हल्लाइदिए । कविहरूका स्वरमा कविता बग्दै गर्दा म कहिले रसुवाको भोटेकोसीमा पुगेँ, कहिले बाढीले बगाएका घर, मानिस र सपनाहरूको बीचमा हराएँ । दुःख, विरह र करुणाका भावहरू मनभित्र एकअर्कालाई उछिन्दै आए । रसुवा पुग्ने ती कविताका हरफसँगै म भदौ १० को त्यो महाबाढीले मच्चाएको वितण्डाका दृश्यहरूमा फेरि हराएँ ।     सायद कविता यही हो—हामी जहाँ भौतिक रूपमा पुग्न सक्दैनौँ, कविताले त्यहीँ पु¥याइदिन्छ । मानिस आफ्ना पुराना पीडा र बिछोड बोकेर हिँडिरहेको हुन्छ । ती सबै कुरा सधैँ शब्दमा आउँदैनन् । कतिपय पीडा यस्ता हुन्छन्, जसलाई बोल्न खोज्दा घाँटीमै अड्किन्छन् । तर कविले जब ती मौन अनुभूतिलाई आफ्ना शब्दमा आकार दिन्छ, हामी अचानक चकित हुन्छौँ—यो त मेरै कथा रहेछ । अल्डरसटमा केही कविता सुन्दा मलाई पनि त्यस्तै भयो । लाग्यो—यो हरफ कतै टाढाको कविको कल्पना होइन, मेरो आफ्नै जीवनको कुनै बन्द कोठाबाट निकालिएको आवाज हो । त्यसैबेला स्मृतिको अर्को ढोका खुल्यो ।     झन्डै ३८ वर्षअघिको ‘प्रतिभा प्रवाह’ सम्झिएँ । त्यतिबेला म स्वयं आयोजक थिएँ । देश पञ्चायतको अन्तिम दिनहरू गन्दै थियो । म किशोर थिएँ । कविता त्यतिबेला केवल साहित्य थिएन; त्यो हाम्रो समयको आवाज थियो, हाम्रो असन्तुष्टिको भाषा थियो, परिवर्तनको सपना थियो । त्यही मञ्चमा पारिजात, आहुति, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण सेन ‘इच्छुक’, मातृका पोखरेल, आर.एम. डङ्गोल, टेकबहादुर बलम्पाकी, इस्मालीजस्ता स्रष्टाहरूका कविता सुन्ने र उनीहरूसँगै आफू पनि देशभक्ति र क्रान्तिकारी कविता र कहीँले कथा वाचन गर्ने अवसर पाएको थिएँ । अरूका कविता सुन्दा शरीरमा एउटा अनौठो ऊर्जा भरिन्थ्यो । शब्दहरूले रगतमा कुनै नयाँ ताप थपिदिन्थे ।     आज ती दिन सम्झँदा लाग्छ—समय बितेको मात्र रहेनछ, समय आफैँ एउटा लामो कविता बनेछ । ती ३८ वर्षमा आफ्नै जीवनका कति अध्याय कविता बने, कति पीडा हरफ बने, कति बिछोड मौनतामा परिणत भए—सायद त्यसको हिसाब म आफैँसँग पनि छैन । उमेर बढ्दै जाँदा सिर्जना बुझ्ने आँखासमेत बदलिँदो रहेछ । युवावस्थामा कविता सुन्दा हामी शब्दको आवाज सुन्छौँ; उमेरसँगै त्यही शब्दभित्र लुकेको मौनता सुन्न थाल्छौँ । पहिले कविता मनोरञ्जन लाग्न सक्छ, पछि त्यही कविता आत्मदर्शन बन्न पुग्छ ।     अल्डरसटको त्यो साँझमा मैले यही अनुभूति गरेँ । भौतिक रूपमा म बेलायतमा थिएँ, तर कविताले मलाई नेपाल पु¥याइसकेको थियो । आँखाले अल्डरसट देखिरहेको थियो, मनले भने पहाड, नदी, गाउँ, बाटो, मान्छे र विगत देखिरहेको थियो । डिजिटल प्लेटफर्ममार्फत जोडिएका कवि तथा साहित्यप्रेमीहरू पनि अचानक कुनै टाढाको संसारका मानिसजस्ता लागेनन् । कविता सुरु भएपछि दूरीहरू हराउँदै गए । हामीले हात मिलायौ । दुूरी नजिक बनायौं । कविले संसारलाई हेर्ने दृष्टि अलि फरक हुन्छ । उसले अरूले देखेको दुःख मात्र देख्दैन; त्यो दुःखभित्रको मौनता पनि सुन्न खोज्छ । अरूले देखेको प्रेम मात्र देख्दैन; प्रेमभित्र लुकेको प्रतीक्षा र भय पनि महसुस गर्छ । अरूले देखेको प्रकृति मात्र देख्दैन; त्यसको घाउ पनि देख्छ । सायद त्यसैले कविता सुन्दै जाँदा अरूको दुःखप्रति सम्मान, अरूको प्रेमप्रति समानुभूति र अरूको संघर्षप्रति आत्मीयता बढ्दै जान्छ ।     ३८ वर्षपछि फेरि कविता सुनाउन र कविता सुन्न पाउनु आफैँमा एउटा भावनात्मक पुनर्जन्मजस्तो लाग्यो । त्यो साँझ बाँसुरीको धुनबाट सुरु भएको थियो । कृष्णले राधालाई मुग्ध पार्न बाँसुरी बजाउँथे भन्ने मिथक हामीले सुन्दै आएका छौँ । तर त्यस साँझ पूर्ण सुनुवारले बजाएको बाँसुरीले राधा र कृष्णको कथा मात्र सम्झाएन; त्यसले कवि र श्रोता दुवैलाई एउटै भावनाको नदीमा बगाइदियो ।     बाँसुरी बजिरह्यो । धुनसँगै कविता सुरु भयो । शशी थापा सुब्बाको कविता वाचनबाट सुरु भएको रचना–यात्रामा राज श्रेष्ठ, आर एल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई तथा मुकुल दाहालले आफ्ना तीन–तीनवटा कविता प्रस्तुत गर्नुभयो । कविताका विषय फरक भए पनि तिनमा कतै न कतै डायस्पोरिक जीवनको पीडा, स्मृति, प्रकृति र मानिसको संघर्ष जोडिएको थियो । कवि नरेश काङमाङ राईले बीच–बीचमा चर्चित नेपाली कविताका हरफहरू सुनाउँदै कार्यक्रमलाई एउटा छुट्टै लय दिनुभयो । कविता, बाँसुरी र स्मृतिको त्यो त्रिवेणीले साँझलाई सामान्य कार्यक्रमभन्दा धेरै माथि उठाइदिएको थियो ।     यो केवल कविता वाचन थिएन । साहित्य सङ्गालो बेलायत’ले सन् २०२४ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको काव्य–सन्ध्या कुनै औपचारिक भाषण, सम्मान वा समारोहको भीड होइन । यहाँ अतिथि कविहरूका कविता सुन्ने परम्परा बसाइएको छ । कविता नै केन्द्रमा छ, कवि र कविता बीच कुनै अनावश्यक पर्दा छैन । यसलाई निरन्तरता दिन साहित्यकार केदार सङ्केतले देखाउनुभएको सक्रियता प्रशंसनीय छ । प्रवासमा साहित्यलाई केवल सम्झनाको वस्तु नबनाई जीवित संवादको रूपमा अगाडि बढाउने यस्तो प्रयत्नको आफ्नै महत्व छ ।     अल्डरसटको त्यो साँझमा म फेरि किशोर भएँ । ३८ वर्षअघि कविता बोकेर हिँडेको एउटा किशोर, समयको लामो यात्रा पार गर्दै फेरि एउटा मञ्चमा उभिएको थियो । शरीरमा उमेर थपिएको थियो, जीवनले धेरै कुरा सिकाइसकेको थियो, पीडाले धेरै ठाउँमा छोइसकेको थियो, तर कविता भने अझै त्यहीँ थियो—मनभित्रको कुनै कुनामा, पहिलेभन्दा गहिरो, पहिलेभन्दा शान्त र पहिलेभन्दा धेरै अर्थपूर्ण । सायद जीवनको अन्तिम सत्य पनि यही हो—समयले शरीरलाई बूढो बनाउँछ,तर कविता मनलाई बूढो हुन दिँदैन ।     कविताको मादकतामा हराउँदै गर्दा केही क्षणका लागि म अल्डरसटमा थिइनँ । म आफ्नै विगतमा थिएँ । आफ्नै युवावस्थामा थिएँ । आफ्नै देशको धुलो माटोमा थिएँ । ती सबैभन्दा पर—मानिसको दुःख, प्रेम, स्मृति र सपनाले बनेको एउटा विशाल कविताभित्र थिएँ । साहित्य सङ्गालो बेलायतप्रति हार्दिक नमन । काव्य–सन्ध्याका सम्पूर्ण स्रष्टा, आयोजक र श्रोतालाई हृदयदेखि आभार । केदार सार प्रति हार्दिक कृतज्ञ छु किनकि जीवनका ३८ वर्ष फेरि पढाइदिँदा पुलुकित भएको छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्