अध्यक्ष केपी शर्मा ओलीलाई केही वर्ष यता घमण्डी, अहंकारी, दम्भी, हेपाहा, सबलाई व्यंग्य हान्ने, छेउमा पु–याएर बोल्ने, कडा बोल्ने, नरम हुन नजान्ने, एकल निर्णय गर्ने, समन्वय र समझदारी नगर्ने भन्नेहरूका टिकाटिप्पणी यत्रतत्र सुन्न पाइन्छ । उहाँ पङ्गा लिने र लड्नुपर्नेहरूसँग कुनहदसम्म र कसरी लड्नसक्नुहुन्छ भन्ने उदाहरण पनि जगजाहेरै छन् । देशभक्तिमा घात गरेको भनेर उहाँलाई कसैले भन्न सक्दैन । सुस्ता–महेशपुरको अतिक्रमणविरूद्द कलिलो उमेरदेखि लड्न थालेर उहाँले प्रधानमन्त्री हुँदासमेत भारतीय नाकाबन्दीको विरोधमा प्रदर्शित गरेको संझौताहीन साहसिक अडान, चीनतर्फका पारवहन नाका खोल्ने सुझबुझपूर्ण कार्यबाट भुपरिवेष्ठित अवस्थितिमा परिवर्तन गरी भूजडित अवस्थाको निर्माण गर्नुभएको छ । संसदमा कालापानी क्षेत्रमा भारतीय अतिक्रमणको तथ्योद्घाटन उहाँले गर्नुभएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र संविधान संशोधनमार्फत निशान छापमा समावेश गर्ने चुनौतीपूर्ण ऐतिहासिक कामको नेतृत्व पनि उहाँले नै गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजनको कठीन अवस्थामा लागेर छिन्नभिन्न र असफलताको पिंधबाट सफलताको शिखर एवं उत्कर्षसम्म पु–याउने कामको नेतृत्व उहाँले पार्टीको मुख्य नेतृत्व सम्हाल्ने बिन्दुसम्म आइपुग्दा उदाहरणीय रूपमा उहाँले गर्नुभएको छ र आन्दोलनलाई कहिल्यै कुनै प्रकारको धोका दिनुभएको छैन । वरिपरि आरोप लगाउने छिचिमिराहरू थुप्रै सुनिन्छन्, तर उहाँले कुनै भ्रष्टाचार गर्नुभएको छैन ।आफ्नो व्यक्तिगत स्वार्थको लागि पार्टीलाई विश्वासघात गरेर स्वार्थसिद्ध गर्नुभएको छैन । बरू आफ्नो र श्रीमतीको स्वआर्जनको निजी सम्पत्ति राष्ट्रलाई सुम्पिनुभएको छ । कमीकमजोरी अवश्य पनि हुन्छन् । तर गलत र भ्रान्त कुराहरूमा बहकिएर कुनै उल्लेखनीय गल्ती गर्नुभएको छैन । देशमा ठूला विकास निर्माणको थालनी, ऐतिहासिक धरहरा, रानीपोखरी र काष्ठमण्डप सहितका राष्ट्रिय सम्पदाहरूको निर्माण÷पुनर्निमाण, भूकम्पपीडित र विपद् प्रभावितहरूका लाखौं घर निर्माण, सुरूङ (टनेल) मार्ग निर्माणको थालनीमार्फत विकासमा युग परिवर्तनको अगुवाईलगायत उहाँले अघि बढाएका कामहरू विशिष्ट र अमिट छन् । खासमा उहाँसँग बहुआयामिक विकासका यस्ताा काममा प्रतिस्पर्धा गर्ने र पछि पार्नसक्ने अर्को प्रधानमन्त्री कोही भेट्न सकिदैंन । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य निर्धारण उहाँकै सूत्रीकरण हो । बलियो राष्ट्रिय नेतृत्व उहाँको परिचय र छवि दुबै हो । आफ्नो कुरा स्पष्ट, दृढ र अकाट्य रूपमा राख्ने उहाँको अभिव्यक्ति शैली विशेष मानिन्छ । त्यससँग प्रतिस्पर्धा गर्न नसक्नेहरूले उहाँलाई उखान टुक्का प्रयोग गरेको भनेर उडाउने कोसिश गर्दछन् । खासमा उहाँमा मेटाफर र बिम्ब प्रयोग गर्ने अतुलनीय शैली र क्षमता रहेको छ । कसैले मेटाफर बुझ्न सक्दैन, यो त उसको दोष हो, प्रयोगकर्ताको कमजोरी होइन । असहमतसँग पनि संवादमा रहिरहने, कोही व्यक्ति सामुन्नेमा बोलेको आधारमा मात्र नभएर हरेक व्यक्तिलाई दैनन्दिन व्यवहारको कसीमा बुझेर उचित रूपमा व्यवहार गर्ने, पद, ओहदा, उमेर, जात र वर्गको आधारमा नभएर हरेकसँग मित्रवत,समान र सम्मानपूर्ण व्यवहार गर्नसक्ने, निरन्तर अध्ययनशीलतामा जोड र प्रोत्साहन गर्ने, विरोधी तप्काका नेता–कार्यकर्तासँग पनि निकट र उदाहरणीय सम्बन्धमा रहेर व्यवहार गर्ने उहाँका स्वभावजन्य विशेषता अरूका भन्दा भिन्न रहेका छन् । पार्टीभित्र वा बाहिरबाट उहाँले प्रयोग गरेका केही शब्द र पदावलीलाई दृष्टान्त देखाउँदै आलोचना गर्न खोजेको पाइन्छ । भाइरल हुने होडबाजीमा नियोजित रूपमा तोडमरोड गरिएका त्यस्ता शब्द र अंशभन्दा तिनको सन्दर्भ र प्रसंग बुझेर सही धारणा बनाउनु उपयुक्त हुन्छ । उहाँले जस्तो आफ्नो मौलिक भाषा, भाष्य, बिम्ब र लोकप्रिय शैली प्रयोग गरी तथ्य र तर्कमा बोल्नसक्ने मुख्य नेतृत्व समकालीन नेपाली राजनीतिमा धेरै कम मात्रै पाइन्छन् । जहाँसुकै बीचमा रहेर वा चम्डा जोगाउँदै नबोलेर वा अरूको मुहार हेरेर नापतौल गरेर मात्र बोलेर र चाहिने ठाउँमा पनि नबोली मौनता प्रदर्शन गरेर उहाँ कसैको प्रिय बन्न खोज्नुहुन्न । पूर्वीय सभ्यता र नेपाली इतिहासका तथ्य, दृष्टान्त र सन्दर्भहरूसहित बोल्दा उहाँ स्वयंले सुनौं सुनौंको वातावरण निर्माण गरेर बोल्नुहुन्छ ।र, आलोचना गर्नुपर्दा भित्तासम्मै पु–याएर अत्यन्त कठोरताका साथ बोल्न र भन्न पनि सक्नुहुन्छ । उहाँको आलोचना गर्नेहरूको पंक्तिमा यही अभिव्यक्ति शैली र तिखो शब्दवाण प्रहारबाट तिलमिलाउन पुगेका व्यक्तिहरू बढी रहेका छन् । जबकि पार्टीपंङ्ति त्यसप्रकारको परिवेशबाट प्रभावित हुनुपर्ने केही जरूरी छैन । शुरूमा भनिएकोजस्तो उहाँ “घमण्डी, अहंकारी, दम्भी, हेपाहा, व्यंग्य हान्ने, छेउमा पु¥याएर बोल्ने, कडा बोल्ने, नरम हुन नजान्ने, एकल निर्णय गर्ने, समन्वय नगर्ने भन्ने“ टिकाटिप्पणी स्वार्थप्रेरित छन् । दिव्य बाह वर्ष पार्टी र पाँच बर्ष देशको नेतृत्व गरिसक्दा दर्शन, सिद्धान्त, राजनीति, देशभक्ति, वर्गप्रेम, कमरेडली हार्दिकता, असहाय र अशक्तहरूप्रतिको सहयोगीभाव र व्यवहारमा उहाँप्रति कसैका कुनै प्रश्न छैनन् ।जेलनेल, गोलघर, यातना, गिरफ्तारी र अपमानका अनेकौं भोगाइसहित राजनीतिक जीवनको उत्तराद्र्दमा आज ७६ बर्षको पाको उमेरमा आएर आफ्नो शैली र तरिका भएन भन्दै उहाँको नेतृत्वको बारेमा अनावश्यक आलोचना र विरोध गर्नु अर्थहीन छ । उमेर र स्वास्थ्यस्थिति दुबैका कारण राजनीतिक रूपमा सहज वातावरण बनाएर बिश्रामको अनिवार्यतामा रहनुभएको अवस्थामा बाह्य परिस्थितिका कारण सिर्जित षड्यन्त्रपूर्ण चुनौतीहरूको सामनाको नेतृत्व गर्न साथ र सहयोग गर्नु उचित हुन्छ । जटिल र कठीन परिवेशका बाबजुद आन्तरिक रूपमा सहज र सामान्य वातावरणमा फर्किन नेतृत्व गर्ने र सम्मानजनक नेतृत्व हस्तान्तरणको परिवेश बनाएर भविष्यमा योजनाबद्ध रूपमा पार्टी नयाँ पुस्ताको जिम्मामा सुम्पन उहाँलाई उपयुक्त रूपमा समय दिने यो विशिष्ट बेला हो ।यसमा अर्घेल्याई गर्नु बेकार छ । देशीविदेशी प्रतिक्रियावादीहरूले हमला गरिरहेका बखत देशभक्त, सामाजिक न्यायका हिमायती र परिवर्तनकारी व्यक्ति र तप्काले पार्टी र राष्ट्रको नेतृत्वलाई सहयोग र ऊर्जा प्रदान गर्नुपर्छ । शासनको शिखरमा हुँदा अघिपछि लाग्ने र ’बा’ भन्दै कमरेड भन्नसम्म बिर्सेर जयजयकार गर्नेहरू नै अलिकति प्रतिकूलता देखिने बित्तिकै निन्दा, भ्रत्सना र तेजोबधमा उत्रिने कृतघ्न हुनु रोचक आश्चर्य भएको छ । यस्तो आरोह–अवरोह त राजनीतिमा भइनै रहन्छ । केन्द्रीय कमिटीको तेस्रो बैठकको शुरूवात तनावपूर्ण थियो । तीन दिनको छलफलले धेरै कुरा उजागर गरेको छ र राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । नेकपा(एमाले)को अध्यक्षबाट ओलीलाई नहटाई डेग चल्न नसकिने फेक न्यारेटिभको खोक्रोपन उदाङ्गो बनेको छ र अत्यन्त विश्लेषणात्मक र सही मार्गदर्शनका साथ प्रतिवेदन आएको छ । यसका दुई कार्यभार र पन्ध्र काम सटीक रहेका छन् । नेताहरूका धर्मराएका मनोदशाहरूको रेट्रोफिटिङ भएर एकताबद्ध बनेको घोषणा भएको छ । यो महत्वपूर्ण पक्ष हो । अर्थात् कमरेड केपी शर्मा ओलीको सर्वस्वीकार्य व्यक्तित्व, नेतृत्व र नेतृत्वदायी भुमिकाको परिणाम हो । आश्चर्य लाग्छ– भित्र र बाहिरबाट अनेकथरि व्यक्तिहरूको अहोरात्र निन्दा र सत्तोसरापका बाबजुद उहाँको स्वीकार्यता, बर्चस्व र पकडमा कमी देखिएको छैन । उहाँ अथक र अविश्रान्त रूपमा निरन्तर रूपमा नेतृत्व सम्हालेर अघि बढिरहनु भएको छ । नेकपा (एमाले) लाई ओलीको नेतृत्वबाट अलग गराउन लागिपरेका सबैलाई यस स्थितिमा भन्नैपर्छ– बिना ओइराको ¥याई¥याई नगरिरहनुहोस्, ओलीबिनाको एमाले किमार्थ पनि संभव छैन । एमालेबिनाको नेपाल बनाउन चाहनेहरूको इच्छा झन् पूरा हुने छैन ।
