यसपटक अलिकति दर्शनका कुरा गर्न मन छ । जीवात्मा र ब्रह्मबीचको भेदका बारेमा चर्चा गरौं। यो ऐनाको प्रतिबिम्ब र स्वयंबीचको भेद जस्तै हो । यो यस्तो दर्शन हो जसले अद्वैत वेदान्तको मूल सिद्धान्तलाई सुन्दर रूपमा व्यक्त गर्छ । जीवात्मा (व्यक्तिगत आत्मा) र ब्रह्म (परम सत्य, निर्गुण, निराकार, सर्वव्यापी चेतना) वास्तवमा एकै हुन्, तर अविद्या (अज्ञान) र मायाको कारणले भिन्न देखिन्छन् । यो भेद केवल आभासिक (प्रतिबिम्बिक) हो, वास्तविक होइन । यो व्याख्या विभिन्न आध्यात्मिक ग्रन्थहरू जस्तै वेद, उपनिषद्, भगवद्गीता, पुराण आदिमा सप्रसङ्ग गरिएकोछ । उपनिषद्हरूमा एकत्वको आधारको बारेमा व्याख्या गरिएको छ । उपनिषद्हरू ब्रह्मविद्याको मुख्य स्रोत हुन् । छान्दोग्य उपनिषद्मा उड्डालक ऋषिले श्वेतकेतु छोरालाई “तत्त्वमसि” (तिमी त्यही ब्रह्म हौ) भन्दै व्याख्या गर्छन् । एउटा उदाहरण यहाँ प्रस्तुत गर्न मन लाग्यो । नुन पानीमा घोलेर सोधिन्छ, नुन कहाँ छ ? सर्वत्र छ, देखिँदैन तर स्वादले थाहा हुन्छ । त्यसैगरी ब्रह्म सर्वत्र व्याप्त छ, जीवात्मा त्यसैको अंश हो तर अज्ञानले अलग देखिन्छ । यस्तै व्याख्या बृहदारण्यक उपनिषद्मा याज्ञवल्क्यले आत्मालाई “नेति नेति” (यो होइन, यो होइन) भनेर वर्णन गर्दै गरेका छन् । यो शरीर, मन, इन्द्रिय होइन, शुद्ध चेतना हो जुन ब्रह्मसँग अभिन्न छ । ऐनाको प्रतिबिम्ब जस्तै । ऐनामा देखिने रूप वास्तविक होइन, तर मूल रूपको आभास मात्र हो । प्रतिबिम्बले मूलको गुण (रूप, रङ) देखाउँछ तर स्वतन्त्र छैन । जीव पनि ब्रह्मको प्रतिबिम्ब हो । मन–बुद्धि–अहंकारको उपाधि (सीमित माध्यम) मा प्रतिबिम्बित चेतना हो । यस्तै अर्को व्याख्या छ मुण्डक उपनिषद्मा दुई चरा (जीव र आत्मा) को प्रसङ्ग छ त्यहाँ । एउटाले फल खाएर दुःख–सुख भोग्छ (जीव), अर्कोले केवल हेर्छ (साक्षी आत्मा÷ब्रह्म) । जब जीवले साक्षीलाई चिन्छ, एकत्व प्राप्त गर्छ । यो मुण्डक ३.१.१–२ मा छ । त्यसैले मुण्डकले नै भन्छ ब्रह्म जान्ने ब्रह्म नै बन्छ । कठ उपनिषद्मा पनि आत्मा ब्रह्मको रूपमा वर्णित छ । नचिकेता र यमको संवादमा आत्मालाई सूक्ष्मतम, अजर–अमर भनेर ब्रह्मसँग तादात्म्य देखाइन्छ । यी त भए उपनिषदमा भएका केही उदाहरणहरू । यसै प्रसङ्गमा भागवत गीतामा भगवान श्रीकृष्णले दिनुभएका उपदेशहरुलाई पनि एकछिन नियालेर हेरौ । भगवद्गीता (अध्याय १५, श्लोक ७) मा श्रीकृष्ण भन्नुहुन्छ, “ममैवांशो जीवलोके जीवभूतः सनातनः” संसारमा जीव मेरो नै सनातन अंश हो । यहाँ “अंश” लाई अद्वैत आचार्यहरूले “प्रतिबिम्ब” वा “आभास” भनेका छन्, विभाजन होइन । सूर्य आकाशमा एउटै छ, तर पानीका विभिन्न भाँडामा प्रतिबिम्बित भएर धेरै देखिन्छ । प्रत्येक प्रतिबिम्ब पूर्ण सूर्यको आभास हो, तर सूर्य अविभाजित रहन्छ । त्यसैगरी ब्रह्म एउटै, जीवहरू उसका प्रतिबिम्ब । त्यस्तै गरेर गीतामा (२.२२) आत्मालाई वस्त्र फेर्ने जस्तो, शरीर फेर्ने तर स्वयं अविनाशी भनेर जीवको नाशवानता र ब्रह्मको नित्यता देखाइएको छ । अध्याय १३ मा क्षेत्र (शरीर–मन) र क्षेत्रज्ञ (ज्ञाता) को भेद गर्दै कृष्णले क्षेत्रज्ञलाई आफूसँग अभिन्न भन्नुहुन्छ । अविद्या (माया) ले जीवलाई बाँध्छ, ज्ञानले मुक्त गर्छ । ऐनाको उदाहरणले स्पष्ट गर्छ । ऐनामा देखिने मैलो दाग लागे जस्तो लाग्छ, तर वास्तविकतामा ऐना स्वच्छ नै छ । प्रतिबिम्बको दागले मूललाई छुन सक्दैन । पुछिदिए दाग हट्छ ऐना जस्ताको तस्तै रहन्छ । शङ्कराचार्यले गीताभाष्यमा यो भेदलाई मायाजनित उपाधि भन्नुभएको छ । मन ऐना जस्तो माध्यम हो जसले ब्रह्मको चेतनालाई प्रतिबिम्बित गर्छ, जसलाई जीव भनिन्छ । अब छोटो चर्चा हाम्रो वेद र पुराणहरूमा रहेका सन्दर्भलाई लिएर गरौँ । ऋग्वेदमा “एकं सद् विप्रा बहुधा वदन्ति” सत्य एउटै छ, विद्वान्हरूले विभिन्न नाम दिन्छन् भनिएको छ । यो बहुविधता मायाको खेल हो । ईश उपनिषद् (जो यजुर्वेदसँग सम्बन्धित छ) ले “ईशावास्यमिदं सर्वम्” यो सब ब्रह्मले व्याप्त छ भनेको छ । पुराणहरूमा, विशेष गरी विष्णु पुराण र श्रीमद् भागवत पुराणमा माया र ब्रह्मको लीला वर्णन हुन्छ । भागवतमा कृष्णले अर्जुनलाई विश्वरूप देखाउनुभएर (११औं अध्याय) सबै जीवहरू उही एक ब्रह्मका अभिव्यक्ति हुन् दलित प्रमाणित गरिदिनुभएको छ । दर्पण (ऐना) को उपमा पुराणहरूमा पनि प्रयोग हुन्छ । जसरी ऐनाले रूप देखाउँछ त्यसैगरी जीव ब्रह्मको छाया हो । अद्वैत वेदान्तका संस्थापक शङ्कराचार्यले विवेकचूडामणिमा ऐना–प्रतिबिम्बको विस्तृत उपमा दिनुभएको छ । मनलाई दर्पण भन्दै, त्यसमा प्रतिबिम्बित चैतन्यलाई जीव भन्नुहुन्छ । मूल चैतन्य (ब्रह्म) निर्विकार छ, प्रतिबिम्बले विकार देखाउँछ (जन्म–मृत्यु, सुख–दुःख) तर वास्तविक होइन। जब अविद्याको मल, दोष ज्ञान द्वारा हट्छ, प्रतिबिम्ब मूलमा लीन हुन्छ, अर्थात् जीव ब्रह्ममा एक हुन्छ । मायाको भूमिका र मुक्तिको विषयमा विद्वान ऋषिहरू धेरै चर्चा गर्ने गर्नुहुन्छ । यो भेद मायाको कारणले हो । माया न शक्ति न शून्य, तर अनिर्वचनीय छ, न सत् न असत् । जीवले उपाधि (शरीर, मन) लाई आफ्नो ठानेर बन्धन भोग्छ । ऐनाको उदाहरणले यो विषयलाई पूर्णरूपमा प्रष्ट्याएको छ । ऐनालाई फुटाएर वा सफा गरेर प्रतिबिम्ब हराउँदैन, केवल भ्रम हट्छ । त्यसैले मुक्ति ज्ञान हो, क्रिया होइन, ऐनामा देखिने प्रतिबिम्ब भ्रम हो । तैत्तिरीय उपनिषद्ले “आनन्द ब्रह्म” भनेर ब्रह्मलाई आनन्दस्वरूप भन्छ, जुन जीवको सुख–दुःखभन्दा पर छ । जब जीव “अहं ब्रह्मास्मि” (बृहदारण्यक) को अनुभव गर्छ, भेद आन्फै मेटिन्छ । यो सिद्धान्तले द्वैत (विष्णु पुराण आदिमा पाइने) सँग भिन्न छ । द्वैतमा जीव र ब्रह्म सदा भिन्न रहन्छन्, तर अद्वैतमा भेद केवल व्यवहारिक (व्यावहारिक सत्य) हो, पारमार्थिक सत्यमा अभेद छ । शङ्करले ब्रह्मलाई सत्–चित्–आनन्द भन्नुहुन्छ । अस्तित्व, चेतना र आनन्द । जीव यसैको सीमित रूप हो । यसरी माया जुन भ्रम हो ऐनामा प्रतिबिम्ब देखिए जसरी, व्यावहारिक जीवनमा यो ज्ञानले अहंकार घटाउँछ, करुणा बढाउँछ, किनकि यस्तो ज्ञानले व्यक्तिलाई अरू सबैमा म पनि छु भन्ने बोध हुन्छ । यो योगवासिष्ठ आम आ त्रुटि जस्ता ग्रन्थमा पनि प्रतिबिम्ब उपमाले व्याख्या गरेको छ । माथि वर्णन गरिएका दृष्टान्तहरू वेदान्तका सार हुन् । यी सारहरू बुझेपछि भेद केवल प्रतिबिम्बको हो, वास्तविकतामा जीवात्मा ब्रह्म नै हो भन्ने बुझ्न गाह्रो हुँदैन । उपनिषद्का महावाक्यहरू (“प्रज्ञानं ब्रह्म”, “अयमात्मा ब्रह्म”, “तत्त्वमसि”, “अहं ब्रह्मास्मि”) ले यो प्रमाणित गर्छन् । गीताले कर्मयोग, भक्तियोग र ज्ञानयोगबाट यसमा पुग्ने मार्ग देखाउँछ । पुराणहरूले यिनै विषयलाई भगवानका विभिन्न लीला मार्फत बुझाउँछन् । ज्ञान प्राप्तिका लागि गुरु, श्रवण, मनन, निदिध्यासन आवश्यक छ । जब अविद्या नाश हुन्छ, ऐनाको प्रतिबिम्बले मूल रूपलाई चिन्छ र “म ब्रह्म हुँ” को अनुभूति हुन्छ, अनि पूर्ण शान्ति र मुक्ति प्राप्त हुन्छ । यो नै सनातन सत्य हो जसले मानवतालाई अन्धकारबाट उज्यालोतर्फ लैजान्छ । जय नेपाल सबैको जय होस् । सनातन धर्मको जय होस् ।
