श्रीमान नगर प्रमुख तथा उप–प्रमुखज्यू, पनौती नगरपालिका कार्यालयका, सम्पूर्ण वडा अध्यक्षज्यूहरू । आदरणीय जनप्रतिनिधिज्यूहरू, ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विगत लामो समयदेखि सामाजिक सेवामा समर्पित यस श्याम फूलमाया फाउन्डेसन र श्याम फूलमाया हस्तकला उद्योगका बारेमा हजुरहरूलाई अवगत गराउनु मेरो नैतिक र आधिकारिक दायित्व ठानेर यो रिपोर्ट पेश गरेको छु । व्यक्तिगत यात्रा र संस्थाको स्थापना मेरो जन्मभूमि पनौती वडा नं. ८ भए तापनि ८ वर्षको उमेरदेखि सुरु भएको मेरो कर्मयात्रा नेपालका विभिन्न जिल्ला, भारत हुँदै आज अमेरिका (USA) सम्म पुगेको छ । प्रवासमा रहेर पनि आफ्नो माटो र आफ्ना नेपाली दाजुभाइको पीडामा मलम लगाउने उद्देश्यले मैले आफ्नै पसिनाको कमाइ र हस्तकला उद्योगको मुनाफाबाट यो फाउन्डेसन सञ्चालन गर्दै आएको छु । स्वाधिनता र आर्थिक पारदर्शीता यो संस्था विशुद्ध गैर–नाफामूलक र व्यक्तिगत स्रोतबाट सञ्चालित छ । हामीले आजसम्म कुनै पनि राज्यकोष, दातृ निकाय वा गैर–सरकारी संस्था (NGO) बाट आर्थिक सहयोग लिएका छैनौँ र सहयोगको अपील पनि गरेका छैनौँ । हामी आफ्नै श्रम र लगानीमा ७७ वटै जिल्लामा पुग्ने संकल्पका साथ अघि बढिरहेका छौँ । सेवाको विस्तार र स्थानीय उदासिनता हाल हाम्रो अभियान बाजुरा, सुर्खेत, डोटी, सिन्धुपाल्चोक, धादिङ, कञ्चनपुर र उदयपुर लगायतका जिल्लाहरूमा तीव्र रूपमा अघि बढिरहेको छ । दुर्गम जिल्लाका जनप्रतिनिधिहरूले हाम्रो कामलाई कदर गर्दै समन्वय गरिरहनुभएको छ । उदाहरणका लागि, पशुपति खड्काज्यू पूर्वी चौकी गाउँपालिका, डोटीकी उपाध्यक्ष (Vice-Chairperson) हुनुहुन्छ । पनौतीमै आएर हाम्रो केन्द्रीय कार्यालयको अवलोकन गरी हामीलाई प्रोत्साहन गर्नुभएको छ । तर, विडम्बनाको कुरा, आफ्नै गृह नगर पनौतीका १२ वटै वडाका जनप्रतिनिधिहरूलाई हाम्रो कार्यालय र गतिविधिको जानकारी भएर पनि नभएको जस्तो व्यवहार हुनु दुःखद पक्ष हो । हाम्रो अपेक्षा र स्थानीय सरकारको भूमिकाबारेमा केही कुरा राखौ जस्तो लागेको छ । स्थानीय सरकारले यस्ता निस्वार्थ सामाजिक संस्थाहरूलाई प्रोत्साहन गर्ने, उनीहरूका सुविधालाई लक्षित वर्गसम्म पु¥याउन सहजीकरण गरिदिने र समन्वयको वातावरण बनाइदिने पहिलो प्राथमिकता हुनुपर्ने हो । हामीलाई राज्यबाट रकम चाहिएको होइन, तर हामीले गर्ने सेवा कार्यमा स्थानीय प्रशासनको नैतिक साथ र समन्वयकारी भूमिकाको हामीले ठूलो अपेक्षा राखेका छौँ । मेरो निष्कर्ष छ कि मैले कसैको विरोध गर्न नभई आफ्नो नैतिक अधिकार र सेवा गर्ने चाहनालाई स्पष्ट पार्न यो रिपोर्ट पेश गरेको हुँ । पनौती–४ मा हाम्रो केन्द्रीय कार्यालय रहेको र हामी यहाँबाटै देशभर सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै, आगामी दिनमा स्थानीय सरकारसँगको समन्वयमा अझ प्रभावकारी ढंगले काम गर्न सकिने विश्वास लिएको छु । (मगराती श्याम फूलमाया फाउन्डेसनका संरक्षक हुन् । उनी पनौती, काभ्रे जन्मिएर हालः न्युयोर्क अमेरिका बस्दै आएका छन् ।)
