आज अस्पतालबाट डिस्चार्ज हुने दिन अर्थात् घर फर्कने दिन । सन् २०२० पछि उपचारका क्रममा यति लामो समय अस्पतालको बेडमा बिताएको यो अर्को अध्याय थियो । बिहानै सेतो कोट लगाएका डाक्टरहरूको टोली राउण्डमा आयो । उनीहरूको अनुहारमा आज अलिकति फरक मुस्कान देखिन्थ्यो । ‘आज तपाईं घर जान सक्नुहुन्छ ।’ यति मात्र सुन्नासाथ मनभित्र कतै एउटा अदृश्य साइरन बज्यो । मृत्युसँग बातचीत गरेर सम्झौतामा पाएको यो जीवन रहरलाग्दो छ । यमराजको ढोकासम्म पुगेर फेरि जीवनतिर फर्किने यात्रुका लागि यो वाक्य संसारकै सबैभन्दा सुन्दर संगीतजस्तै लाग्यो । डाक्टरले फेरि सोधे, ‘बसाइ कहाँ हो ?’ ‘ग्रेभसेन्ड ।’ ‘परिवारसँगै बस्नुहुन्छ ?’ ‘हो ।’ ‘लिन को आउँछ ?’ ‘छोरालाई खबर गर्छु ।’ डाक्टर मुस्कुराए । ‘हुन्छ । एक हप्ताका लागि औषधि तयार हुँदैछ । पछि आफैँ किन्नुहोला । नर्सले खाने तालिका सिकाउनुहुन्छ । थेरापिस्ट पनि आउनुहुन्छ, आकस्मिक समस्या परे के गर्ने भनेर बुझाउनुहुन्छ । अर्को नर्स आएर के खाने, के नखाने सबै सम्झाउनुहुन्छ ।’ यति भनेर उनीहरूको टोली अर्को बिरामीतिर लाग्यो । कोठा फेरि शान्त भयो । म भने बेडमा टोलाएर भित्तो र छततिर हेर्दै बसेँ । कति सपना थिए, कसैलाई सुनाउन नसकेका । कति सम्झनाहरू थिए, समयले पनि मेट्न नसकेका । मुस्कानभित्र लुकेका आँसुहरूको त हिसाब नै कहाँ हुन्छ र ? शरीरको घाउ पेनकिलरले केही मत्थर पारेको थियो । छाती चिरेको पीडा कम हुँदै थियो । नयाँ मुटुको भल्भले आफ्नो काम सुरु गरिसकेको थियो । बाँच्ने इच्छा पनि पहिलेभन्दा धेरै बढेको थियो । डाक्टरहरूले आयु कसरी लम्ब्याउने भनेर सिकाएका थिए । जीवनलाई फेरि जोखिमबाट कसरी बचाउने भनेर मायालु पाराले सम्झाएका पनि थिए । तर मन ? मनको उपचार गर्ने कुनै पनि औषधि यो संसारमा रहेनछ । मुटुको अपरेशन भयो । पुरानो भल्भ फालेर नयाँ राखियो । तर मुटुभित्र वर्षौंदेखि बसिरहेका मानिसहरूलाई निकाल्ने कुनै शल्यक्रिया हुँदोरहेनछ । बरु उनीहरू झन् गहिरो गरी खाँदाखाद गरेर बसिदिएपछि मेरो के लाग्छ र? त्यसैले आज पनि आफैँसँग बिस्तारै भनिरहेँ — ‘न खुसी भेटिन्छ, न पीडा मेटिन्छ । बस आफ्नै जिन्दगी देखेर यो मुटु रेटिन्छ ।’ यतिबेला पहिलो पटक महशुस भयो— जिन्दगी रोग नलाग्दासम्म मात्रै सजिलो रहेछ । रोग लागेपछि मानिसको जीवन आफ्नै हातमा कहाँ रहन्छ र ? औषधिको भरमा आयु लम्ब्याउनुपर्छ । घडी हेरेर औषधि खानुपर्छ । खानपिनमा सयौँ बन्देज छन् । जीवनशैली बदल्नुपर्छ । तर सोच ? उही रहन्छ ।उही सम्झना । उही प्रेम । उही पीडा । अनि उही मानिसहरू । बदलिन सबैभन्दा गाह्रो त मन पो रहेछ । म अस्पतालको बेडमा थिएँ । तर मन ? हजारौँ माइल उडेर नेपाल पुगिसकेको थियो । मेरो जन्मगाउँ लुइँटेल गाउँ । तीनपिप्लेबाट बाह्रबिसे जाने बस चढेर बनेपा चारदोबाटो । बजार छिर्ने रोड, पनौती जाने बाटो, धुलिखेल जाने सडक र काठमाडौं जाने बाटाहरू । ऊर्जा उमेर बिताएको प्यारो चारदोबाटो । जहाँ माओवादी र प्रहरीको भिडन्त प्रत्यक्ष आफ्नै आँखाले देखेँ । ती भिडन्तपछि त हो, मेरो जीवनमा अनेकौँ भिडन्त आए । भिडन्तसँगै दर्जनौँ पुराना अनुहारहरू आए । एकपछि अर्को गर्दै सबै पात्रहरू स्मृतिको ढोका खोलेर मेरै अगाडि उभिन थाले । कोही मलाई जिन्दावाद भन्थे, कोही मुर्दावाद । म भावनाको खोलामा पौडिँदै थिएँ । त्यत्तिकैमा औषधि बोकेर नर्स आइन् । मलाई फेरि वर्तमानमा फर्काइन् । उनले एउटा–एउटा औषधि देखाउँदै कहिले खाने, कसरी खाने, किन खाने भनेर विस्तारै सम्झाइन् । उनी गएको केही समयपछि फेरि अर्की नर्स आइन् । मुटुका बिरामीले के खान मिल्छ, के खान हुँदैन, कुन लक्षण देखिए तुरुन्त अस्पताललाई खबर गर्ने, कसलाई फोन गर्ने— सबै नम्बर लेखिएको कागज र मुटुबारेको पुस्तक हातमा थमाइन् । म भने मनमनै सोचिरहेँ — चिकित्सा विज्ञान पनि कस्तो अद्भुत रहेछ । सानो क्याप्सुलभित्र मान्छेको आयु लुकाउन सक्ने । एउटा ट्याब्लेटले मृत्युलाई केही वर्ष पर धकेल्न सक्ने । कति पुस्ताले अनुसन्धान गरे होलान् ? कति वैज्ञानिकले आफ्नै जिन्दगी प्रयोगशालामा खर्चिए होलान् ? त्यसपछि मात्रै त यी औषधिहरू बने होलान् । सोच्दा मन श्रद्धाले भरियो । ती अज्ञात वैज्ञानिकलाई मैले हृदयदेखि नमन गरेँ । तर ममा अर्को समस्या पनि थियो । यति धेरै डाक्टर । यति धेरै नर्स । यति धेरै थेरापिस्ट । सबैले अङ्ग्रेजी ब्रिटिस टोनमा यति छिटो बोल्थे कि मेरा कानमा मकै हाँडीमा भुटेझैँ पड्किरहन्थे । म सबै बुझेजस्तो गरी मुस्कुराउँथेँ । टाउको हल्लाउँदै भन्थेँ — ‘यस.. यस.. ओके’.... सायद उनीहरूले मेरो मुस्कान बुझ्थे होलान् । मेरो भाषाभन्दा मेरो अवस्था पढ्थे । केहीबेरपछि एउटी अफ्रिकी मूलकी नर्स फेरि आइन् । मेरा सबै औषधि मिलाएर कालो झोलामा राखिन् । अनि सोधिन् – ‘तपाईंलाई लिन को आउँछ ?’ ‘छोरा ।’ ‘अहिलेसम्म त आइपुगेनन् ?’ ‘आउँदै छन् ।’ उनले डिस्चार्ज लेटर र बिरामी बिदाको ‘सिक नोट’ मेरो हातमा राखिदिइन् । मैले तुरुन्त सम्यक बाबुलाई फोन गरेँ । ‘बाबु, म डिस्चार्ज भएँ । तिमी ग्राउन्ड फ्लोरको डिस्चार्ज कक्षमा मलाई लिन आऊ ।’ मेरो आवाजमा खुशी पनि थियो । गहिरो थकान पनि । र, जीवन बाँचेको एउटा अपार कृतज्ञता पनि । फोनमा कुरा सकिनासाथ अफ्रिकी मूलकी एउटी केयर असिस्टेन्ट ह्विलचेयर लिएर आइन् । मुस्कुराउँदै भनिन्, ‘अब यहाँ बस्नुस् ।’ मैले आफ्नो कालो सुटकेस मिलाएँ । मोबाइल चार्जर र ल्यापटप चार्जर सुटकेसभित्र राखेँ । एकपटक फेरि कोठाभरि नजर डुलाएँ । यही कोठाले मेरा अनिद्रा रातहरू देखेको थियो । मेरा पीडाका सुस्केराहरू सुनेको थियो । जीवन र मृत्युबीचको बातचीत सुनेको थियो । पीडाले काँपेका क्षणहरू नियालेर हेरेको थियो । त्यही बेला हतारिँदै सान्द्रिया नर्स आइन् । उनी सधैँ मजाक गर्थिन्, हँसाउँथिन् — ‘हामी त जुम्ल्याहा दिदीभाइ हौँ ।’ आज पनि त्यसैगरी हाँसिन् । तर आज उनको आँखामा अलिकति ओस देखिन्थ्यो । म उठ्न खोजेँ । उनले मलाई अँगालो हालिन्, निधारमा चुम्बन गरिन् र गाला जुधाइन् । (युरोपमा निधारमा चुम्बन गर्नु स्नेह र आशीर्वादको संस्कृति हो । ) सानो एउटा कार्ड हातमा थमाउँदै बिस्तारै भनिन् — ‘गेट वेल सुन’ अर्थात् छिट्टै निको हुनु । त्यो पोस्टकार्ड कागज मात्रै थिएन । त्यो त अस्पतालका सबै रातहरूको मायाको प्रतीक थियो । मैले केही बोल्न सकिनँ । टिलपिलाएका आँखाले मात्रै कृतज्ञताका साथ धन्यवाद भन्यो । ह्विलचेयर करिडोर हुँदै बिस्तारै अगाडि बढ्यो । वार्डको ढोका पछाडि छुट्दै गयो । म अस्पतालबाट बाहिर निस्कँदै थिएँ, उही जीवनको लयतिर । तर त्यहाँ बिताएका दिनहरू भने सायद जिन्दगीभर मभित्रै बसिरहनेछन् । किनकि कहिलेकाहीँ अस्पतालले मानिसलाई केवल नयाँ मुटु मात्रै दिँदैन । अस्पतालले नयाँ जीवन पनि दिन्छ । र, त्यो नयाँ जीवन बोकेर बाहिर निस्कँदा मानिस पहिलेको जस्तो कहिल्यै रहँदैन । म नयाँ भल्भ फेरेर छोरा सम्यकसँग कुरा गर्दै–गर्दै ठमठम हिँडेर नजिकैको ट्रेन स्टेसन पुगेँ र रेल चढेर घर फर्किएँ । (सेन्ट थोमस हस्पिटल, लण्डन, बेलायत ।)
