अन्तर्राष्ट्रिय दलालहरूले बौद्ध र हिन्दू समुदायबीच द्वन्द्व सिर्जना गर्ने उद्देश्यले गुम्बाहरूमा हतियार रहेको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेको देखिएको छ । अर्को धार्मिक द्वन्द्व निम्त्याउने प्रयास भइरहेको देखिन्छ । यदि कसैसँग प्रमाण छ भने, घुमाउरो आरोप लगाउनुको सट्टा सम्बन्धित गुम्बा वा लामाको नाम र प्रमाण सार्वजनिक गर्नुपर्छ, यस्ता गतिविधि गर्ने व्यक्ति विरुद्ध प्रमाण सहित प्रहरीमा उजुरी दर्ता गर्न सक्नुपर्छ । गुम्बाहरू दक्षिणा उठाउने वा बिहान–बेलुका घण्टी बजाएर पूजा–आराधना गर्ने स्थान मात्र होइन । ती बौद्ध दर्शन, अध्ययन, चिन्तन र साधनाका केन्द्र हुनुपर्छ । अर्को कुरा, दलाई लामा गेलुग्पा (Gelugpa) परम्पराका हुन् । निङ्मापा (Nyingmapa), साक्यापा (Sakyapa) र काग्युपा (Kagyupa) लगायतका अन्य परम्पराहरू स्वतन्त्र रूपमा अस्तित्वमा छन् । सबै परम्पराले दलाई लामाको धार्मिक नेतृत्वलाई एउटै रूपमा स्वीकार गर्छन् भन्ने धारणा सही होइन । सुक्देन (Shugden) मान्ने एउटा समूह पनि छ, जसले दलाई लामाको दृष्टिकोणसँग असहमति राख्छ । उनीहरूमध्ये केहीमाथि चीनसँग निकटता राखेको आरोप लाग्ने गरेको छ । यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र छलफल हुनुपर्छ । एउटा कुरा स्पष्ट हुनुपर्छ—बौद्ध लामा तथा भिक्षुहरू पाखण्डको होइन, अध्ययन, साधना, विवेक र करुणाको मार्गमा विश्वास गर्छन् । तिब्बती शरणार्थीहरूले तिब्बत स्वतन्त्र होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर यो पनि बुभ्mन आवश्यक छ कि दलाई लामा स्वयं अहिंसाका पक्षधर हुन् । उहाँले सधैं संवाद, शान्तिपूर्ण समाधान र करुणाको मार्गलाई प्राथमिकता दिँदै आउनुभएको छ, हतियारको राजनीतिलाई होइन । कतिपय पक्षहरूले नेपालमा चीनविरोधी गतिविधि गराउन तिब्बती शरणार्थीहरूलाई उक्साउने तथा समय–समयमा चीनको दूतावासअगाडि आन्दोलन गराउने प्रयास भएको दाबी पनि गर्दै आएका छन् । यस्ता विषयमा निष्कर्ष निकाल्नुअघि विश्वसनीय तथ्य र प्रमाणका आधारमा मूल्याङ्कन गर्नु आवश्यक हुन्छ । धार्मिक र राजनीतिक विषयमा टिप्पणी गर्दा तथ्य, प्रमाण र जिम्मेवारीबोधका साथ बोल्नु नै सभ्य समाजको पहिचान हो ।
