IMG-LOGO

जनरल वार्ड : मानिसलाई चिन्ने अर्को यात्रा

 मंगल, सावन ५, २०८३  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

    पाँच दिन आइसियुको उपचार कक्षमा बिताएपछि मलाई जनरल वार्डमा सारियो । त्यो केवल एउटा कोठा परिवर्तन भएको घटना मात्रै थिएन । मानौँ जीवनलाई हेर्ने मेरो दृष्टिकोण नै अर्को कोठामा सरेको थियो । चार जना बिरामी बस्ने कोठा थियो । मेरा तीनै जना सहबिरामी मभन्दा निकै पाका—७० वर्ष नाघेका मुटुरोगी । म उनीहरूलाई नियाल्थेँ, उनीहरू मलाई हेर्थे । हामीबीच धेरै संवाद हुँदैनथ्यो, तर मौनताले नै धेरै कुरा बोल्थ्यो । आखिर हामी सबैको साझा परिचय एउटै थियो—मुटुरोगी । कसैको शरीरमा स्टेन्ट थियो, कसैको भल्भ फेरिएको थियो, कसैको बाइपास भएको थियो । उमेर, भाषा, पेशा, सामाजिक हैसियत र पारिवारिक पृष्ठभूमि फरक थिए, तर अस्पतालको पोसाकले ती सबै परिचयहरू एकै छिनका लागि हटाइदिएको थियो । त्यहाँ न धनीको विशेषाधिकार थियो, न गरिबको हीनता । त्यहाँ केवल बिरामी थिए, र उपचारको प्रतीक्षामा रहेका मानिसहरू ।     त्यसपछि मैले आफ्नै जीवनबारे सोच्न थालेँ ।  हामी जीवनभर शरीरलाई बलियो बनाउन, सुन्दर बनाउन, सुरक्षित राख्न र लामो समय टिकाउन अनेक प्रयास गर्छौं । राम्रो खाना खान्छौं, घर बनाउँछौं, पैसा कमाउँछौं, बीमा गर्छौं, भविष्यका योजना बनाउँछौं । तर एउटा सानो अङ्ग—मुटु—ले आफ्नो लय बिगारिदियो भने ती सबै योजना केही दिनका लागि अस्पतालको एउटा बेडमा थन्किन्छन् । त्यस क्षण मानिसले बुझ्छ, जीवनमा आफूले नियन्त्रण गर्न सक्ने कुरा निकै कम रहेछन् ।     अस्पतालले मलाई अर्को सत्य पनि सिकायो । स्वस्थ रहँदा मानिसहरू आफ्नो परिचय पद, सम्पत्ति, राजनीतिक विचार, जात, धर्म वा सफलताबाट दिन्छन् । तर बिरामी भएपछि परिचय बदलिन्छ । चिकित्सकका लागि तपाईं एउटा बिरामी हुनुहुन्छ, नर्सका लागि एउटा जिम्मेवारी, र औषधिका लागि एउटा शरीर । जीवनको कठोर यथार्थ यही हो—प्रकृतिले सबैलाई अन्ततः एउटै तहमा उभ्याइदिन्छ ।     मैले आफ्ना सह–बिरामीहरूको अनुहार पढ्न थालेँ । कसैको अनुहारमा थकान थियो, कसैको आँखामा घर फर्किने आशा । कसैले फोनमा आफ्ना सन्तानसँग कुरा गर्थे, कोही झ्यालबाहिर धेरै बेरसम्म हेरेर बसिरहन्थे । कोही घरबाट रेडियो ल्याएर गीत सुनेर नाचिरहेका हुन्थे त कोही पुस्तक र पत्रपत्रिकामा मस्त देखिन्थे  । उनीहरू सबैसँग आफ्ना–आफ्ना अधुरा सपना थिए । त्यतिबेला मैले महशुस गरेँ—मानिसलाई बाँधेर राख्ने शक्ति केवल मुटुको धड्कन होइन, आशा पनि रहेछ ।     त्यो वार्डले मलाई एउटा कठोर सामाजिक यथार्थ पनि देखायो । संसारमा मानिसहरू पदका लागि लडिरहेका छन्, सम्पत्तिका लागि सम्बन्ध बिगारिरहेका छन्, विचारका लागि शत्रु बनिरहेका छन् । तर अस्पतालको बेडमा पुगेपछि ती सबै विवादको कुनै अर्थ बाँकी रहँदैन । त्यहाँ कसैले तपाईंको बैंक ब्यालेन्स सोध्दैन, कसैले तपाईंको राजनीतिक दल सोध्दैन । सबैभन्दा महत्वपूर्ण प्रश्न एउटै हुन्छ—‘आज स्वास्थ्य कस्तो छ ?’     त्यसपछि मैले आफूलाई सोधेँ—हामी जीवनभर केको पछाडि दौडिरहेका छौँ ? हामीले कमाएको सम्पत्ति, जोडेको प्रतिष्ठा र संकलन गरेका वस्तुहरू अन्तिम घडीमा हाम्रो सट्टा सास फेर्न सक्दैनन् । ती सबै आवश्यक हुन्, तर जीवनभन्दा ठूलो होइनन् । स्वास्थ्य, समय, आत्मीय सम्बन्ध र मानवीय व्यवहारभन्दा माथि कुनै उपलब्धि रहँदैन ।     मलाई लाग्यो, मानिसको सबैभन्दा ठूलो विजय अरूलाई जित्नु होइनस जीवनको प्राथमिकता सही समयमा बुझ्नु हो । शरीर नश्वर छ भन्ने कुरा नयाँ होइन, तर शरीर कमजोर भएपछि मात्र यो सत्य गहिरो गरी महसुस हुन्छ । त्यसपछि जीवनको गति पनि बदलिन थाल्छ । रिस कम हुन्छ, अपेक्षा घट्छ, साना खुशीहरू ठूलो उपलब्धि जस्ता लाग्न थाल्छन् ।     त्यो जनरल वार्डमा मैले रोग मात्र देखिनँ, मानिस पनि देखें । उमेरले थाकेका शरीरहरूभित्र अझै बाँच्न चाहने अदम्य इच्छा देखें । पीडाबीच पनि मुस्कुराउन सक्ने साहस देखें । अनि आफ्नै जीवनलाई पनि नयाँ दृष्टिले हेर्न सिकेँ ।     म आज पनि विश्वास गर्छु—मानव जीवनको सबैभन्दा ठूलो उपलब्धि धेरै सम्पत्ति कमाउनु वा धेरै वर्ष बाँच्नु होइन । आफू बाँचुन्जेल मानिसका लागि उपयोगी हुनु, र बिदा हुँदा पछाडि सम्मान, सद्भाव र राम्रो सम्झना छोडेर जानु नै जीवनको सबैभन्दा ठूलो सफलता हो । सेन्ट थोमस हस्पिटल, लण्डन, बेलायत  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्