IMG-LOGO

त्याग, निष्ठा र आदर्शका प्रतिक राजेन्द्र दाई

 मंगल, असार २३, २०८३  रत्नप्रसाद लुइटेल

                नेपालको प्रजातान्त्रीक आन्दोलनका अथक योद्धा कर्मठ, साहसी र निस्ठावान राजनीतिकर्मी राजेन्द्र खरेलको यहि अषाढ ७ गते ८० वर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्रवादी संपुर्ण देशवाशी, नेपाल कांग्रेस पार्टी र काभ्रे जिल्लाले वहाँको निधनलाई अपुरणीय क्षतिको रुपमा लिएको छ । जन्मनु र मुर्न यी हरेक व्यक्तिमा आइपर्ने घटना हुन् । यो शास्वत सत्यलाई स्वीकार गर्नुको विकल्प हामी कसैसँग पनि छैन र यो सत्यलाई सबैले स्वीकार्नु पर्दछ । राजेन्द्र खरेल बुवा सुव्बा देविप्रसाद खरेल र आमा मुकुन्द कु्मारी खरेलको महिलो छोराको रुपमा २००३ साल श्रावण ८ गतेका दिन काभ्रेको खरेलथोकमा जन्मनुभएको हो । वहाँको वालापन काठमाण्डौंको नरदेवीमा रहेको घर हुँदै नयाँ वानेश्वरमा वितेको हो । राणाकालको सुब्बाको छोरो भएर पनि तात्कालिन शासन व्यवस्था प्रति वहाँको मोह रहेन । जुन उमेरसँगै चेतना बढ्दैगयो वहाँ जनताको स्वतन्त्रताको खातिर लड्नुभयो । १३–१४ वर्षको उमेर देखि नै अमेरिकी सहयोगमा संचालित “चारपाते क्लब” मार्फत सामाजिक काममा वानेश्वर क्षेत्रमा सक्रिय रहनुभयो । त्यसको केही समय पश्चात २०२२–०२३ साल तिर नेपालका प्रजातान्त्रीक आन्दोलनलाई गतिदिनका लागि स्थापित नेपाली कांग्रेस पार्टीलाई सघाउने अभिप्राय राखेर दमन नाथ दुङ्गानाको नेतृत्वमा गठन गरिएको “युवा परिचय गोष्ठी” नामक संस्था मार्फत त्यसको सदस्य भएर सक्रिय रहनुभयो । गाउँफर्क युवाटोली भन्ने संस्था खोलेर वानेश्वरमा नै अन्य सामाजिक काममा पनि वहाँको सक्रियता कायम रह्यो र त्यो संख्या मार्फत धेरै सामाजिक क्रियाकलाप संचालन भए ।                 यसरी युवा वर्गमा पुग्दा नपुग्दै सामाजिक, राजनितिक रुपमा आपूmलाई समर्पित गर्दै रहनुभएका आदरणीय राजेन्द्र खरेल २०२६ सालतिर नै हालको शंकरदेव कलेज तात्कालिन नेशनल कलेजको विद्यार्थीको रुपमा प्रजातान्त्रीक विद्यार्थी संगठन भनेर गठन गरि हालका अर्थशास्त्री पूर्व राजदुत श्री विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आफू महा–सचिवको भूमिकामा रहेर काम गर्नुभयो । जुनवेला नेपाल विद्यार्थी संघको स्थापना नै भएको थिएन । जब वहाँ वयस्क हुँदै जानुभयो मुनै एउटा दृढ, आत्मविश्वासी प्रजातन्त्रवादीको रुपमा वहाँले आफूलाई उभ्याउनुभयो ।                 नेपाली कांग्रेसका संस्थापक आदरणीय जननायक विश्वेस्वर प्रसाद कोइराला, लोैहपुरुष आदरणीय गणेशमान सिंह, सन्तनेता आदरणीय कृष्णप्रसाद भट्टराईहरुको अत्यन्त भरोषायोग्य विश्वासपात्र बनेर एउटा प्रिय नेता कार्यकर्ताको रुपमा रहनुभयो । विशेषगरि काठमाण्डौंमा हुने विपि कोइरालाका हरेक कार्यक्रमहरुमा राजेन्द्र खरेलको नित्य साथ रहने गर्दथ्यो । पञ्चायतकालिन मण्डले भनेर चिनिने गुण्डाहरुको आक्रमणबाट बच्न पनि राजेन्द्र खरेलको साथ पर्याप्त हुनेरहछ, त्यस बखतमानै प्रजातन्त्र विरोधितर्फका लागि राजेन्द्र खरेल एउटा आतङ्क हो ।                 नेपालमा प्रजातन्त्र ल्याउनका लागि मलाई ७५ जिल्लामा ७५ वटा राजेन्द्र खरेल भएपुग्छ भनेर गणेशमान जीले भनेको कुराले नै पुस्टी गर्छकी वहाँ कति शाहसी र इमान्दार हुनुहुन्थ्यो भनेर । कृष्णप्रसाद भट्टराई जस्तो कुटनीतिक क्षमता भएको विद्वान सन्त राजनीतिज्ञको अत्यन्त प्रिय पात्र भएर जिवनपर्यन्त रहिरहनका लागि आवस्यक योग्यता शायद राजेन्द्र खरेलमा मात्रै थियोहोला । र त वहाँ सदैव प्रिय रहन सक्नुभयो ।                 २०४७ मा प्रजातन्त्रको पुर्न प्राप्तीपछि अन्तरिम प्रधानमन्त्री हुनुभएका सन्तनेता कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा जानुभएको थियो । तात्कालिन भारतिय प्रधानमन्त्री श्री पिभि नरसिंह रावले किशुन जिलाई झण्डै एककिलो सुनको पानको वट्टा उपहार दिनुभएको रहेछ । संविधान निर्माण र चुनाव सम्पन्न गरिसकेपछि जुन निर्वाचनमा वहाँ स्वयं भने पराजित हुनभएको थियो । प्रधानमन्त्री निवास बालुवाटार छाड्ने क्रममा वहाँले आफूसँग भएका विभिन्न देश र व्यक्तिले दिएका उपहारहरु आफूसँगै रहेका निकटहरुलाई वाँड्न थाल्नुभएछ । त्यहि क्रममा सबैभन्दा बहुमूल्य उपहार त्यही सुनको पानको वट्टा वहाँले राजेन्द्र खरेललाई दिनुभएछ जुन प्याक गरिएको थियो र पछि खोल्दामात्रै थाहाभयो की त्यो त्यति धेरै मूल्यवान छ । त्यो देखेर राजेन्द्र खरेल भावुक हुनुभयो र किशुन जीको उपहारको रुपमा १–२ महिना आफूसँगै राख्नुभयो । विस्तारै वहाँलाई लाग्नथाल्यो की यो सुनको वट्टा मैले राखेभने मेरा सन्तानले यसलाई फालेछन् र यसको अस्तीत्व रहने छैन । यो चिज सुरक्षीत रुपमा रहनुपर्छ त्यसैले म यो उपहार किशुनजीलाई नै फर्काइदिन्छु भनेर वहाँले फिर्ता गरिदिनुभयो । किशन जी रिसाएर मूर्ख एउटा दुःखपाएको इमान्दार नेता सम्झेर दिएको आफैसँग राख्नुपदैन भनेर भन्नुभयो तर वहाँले मान्नुभएन र पछि किशुन जीले त्यो उपहार श्री ५ विरेन्द्रलाई दिनुभयो र त्यो कतै संग्रहालयमा रहेको हुनुपर्छ । त्यसखालको निस्पृहता थियो राजेन्द्र खरेल । सांसद भएकावेला काठमाण्डौंमा आफ्नो घरभएका कारण घरभाडा लिनु अनैतिक हुने भनेर वहाँले घरभाडा लिनुभएन ।                 आफू जन्मे हुकैको र आफूसँग विशेष आत्मीयता जोडिएको काभ्रे खरेलथोक स्थीत घरमा माओवादीले आगो लगाईदिए । घर पूर्णरुपमा ध्वस्त भयो, भनेजति क्षतिपूर्ति लिनसक्ने हैसियतमा भएपनि वहाँले एकपैसा क्षतिपूर्ति लिनुभएन र वस्तत्व निकाल्दै भन्नुभयो कि, माओवादीहरु हिंसाको बाटो छाडेर शान्ति प्रक्रियामा सामेल होउन, उनीहरुमा सद्वुद्धि आवस म त्यसैलाई आफ्नो क्षतिपूर्ति सम्झनेछु ।                 जवानीका झण्डै ९ वर्ष प्रजातन्त्रको पुर्नवहालीका खातिर जेलजिवन विताउनु भएका खरेलले आफ्नी प्यारी अर्धाङ्गीनी र आफ्ना तिन छोराहरुको वाल्यकालको सहारा हुन पाउनुभएन । तर वहाँमा कहिल्यै विचलन आएन, एउटा आँटिलो दृढनिएचयी प्रजातन्त्र र नेपाली कांग्रेस पार्टीको इमान्दार सिपाही । जेल परेका वखत आफू सक्षम भएबापत आफूलाई आउने सबैकुरा दुःख पाएका अभावग्रस्त साथिहरुलाई वाँड्नेकुरा बताउँछन् मोरङतिरका पुराना कांग्रेसी भिम तामाङ भन्छन् हामी जेल परेका साथीहरुका लागि राजेन्द्र खरेल भगवान जस्तै थिए । सबैको सम्मान गर्ने, जाडोमा ज्याकेट देखी जुत्ता चप्पल र पौस्टिक आहाराको समेत प्रबन्ध गर्ने राजेन्द्र खरेल । हाल बागमती प्रदेश मन्त्री रहेका धारिङ्गका पुराना कांग्रेस नेता शिवराज अधिकारीले मलाई भन्नुभयो बाबु राजेन्द्र खरेल एउटा व्यक्ति मात्रै होइन उनी त संस्था (Institition) हुन कांग्रेसका । हाल अख्तियारका आयुक्त पूर्न उच्च प्रहरी अधिकृत जय बहादुर चन्दले पटकपटक भेटमा भन्नुहुन्छ राजेन्द्र खरेललाई हामी कांग्रेसको आदर्श मान्छौं । वहाँहरु जस्ता इमान्दार मान्छेहरु देखेर कांग्रेसप्रति श्रद्धाभाव जाग्छ । वाग्लुङका पुराना नेता जो हालमा हामीबीच हुनुहुन्न वहाँ सांसद पनि हुनुभएको थियो, गोविन्द शर्मा कंडेल एउटा भेटमा भन्नुभयो बाबुहरुले राजेन्द्र खरेलजस्तो मन्छेको सामित्यता पाउनुभएको रहेछ । यो धेरै ठूलोकुरा हो यिनी धेरै नै ठूलो र गतिला मानिसहुन यिनको साथ नछाड्नुहोला । भोजपुर घरमै आल काठमाण्डौंमा नै वस्नुहुने जयन्द्र पाण्डे हुनुहुन्छ जो पूर्व राष्ट्रपति विद्या पाण्डे (भण्डारी) का कान्छा काका हुनुहुन्छ भन्नेगर्नुहुन्छ रत्न जी विपिको काठमाण्डौं पछि विराटनगरमा कार्यक्रम थियो । रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, राजेन्द्र खरेल लगायत थुप्रै साथीहरु विराटनगर गयौं । राजेन्द्र खरेलको साथ लागेपछि बस्नेखाने लगायतका समस्या भोग्नुपर्ने भएकाले म वहाँसँगै लागे । विराटनगर पुगेपछि अरु उम्किसकेका रहेछन् । प्रहरीले विशेषगरी राजेन्द्र खरेललाई पिछा गरेको रहेछ काठमाण्डौं देखि नै । वहाँले थाहापाउनु भयो र मलाई साइडलाग्न सल्लाह दिनुभयो । मलाई त समाइहाल्छ तपाई किन दुःख पाउने भनेर । मैले मानिन, हामीसँगै गिरफ्तारीमा प¥यौं । थुनामा राखेको ठाउँबाट वहाँले मलाई पिसाब लाग्यो कता हो पिसाब फेर्ने ठाउँ भनेर सेन्ट्री बसेको हवलदारलाई सोध्नुभयो । हवलदारले त्यतै कुनामा फेर भनेछ वहाँले रिसले आगो भएर झ्यालमा उक्लिएर तेरो टोपि थाप म त्यहि पिसाब फेरीदिन्छु भन्नभएछ । कुराले उग्ररुप लिएपछि डिएसपिकोमा कुरा पुग्यो र वहाँलाई डिएसपिकोमा हाजिर गराएपछि डिएसपिलृ सोधे छन् कि तपाईको त्यो उदण्डालाई हामीले के सँजाए दिने ? वहाँले भन्नुभएछ हामीलाई चोरी वा डाँका गरेर तपाई थुन्नुभएको हो । हामी मुलुक परिवर्तनको एजेण्डा वोकेर आन्दोलन गरिरहेका छौं । हामीलाई गर्ने तपाईको सिपाहिको व्यवहार ठिक थियो ? त्यसैले मैले ईटाको जवाफ पत्थरले दिएको हुँ । सजाय तपाइको सिपाहिले पाउनुपर्छ । तपाई हामीलाई सकेसम्म थुन्नुस तर दुरव्यवहार हामीलाई मान्यछैन भनेर वहाँले भन्नुभयो र पछि डिएुसपिले सिपाहिको गल्ती प्रति क्षमा माग्दै सम्मानित व्यवहार गरेको घटना जानकारी गराउनु भयो । वहाँका सहपाठी पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक अनन्तराम भट्टराई भन्नुहुन्छ कसैसँग नझुक्ने र प्रहरी कस्टडीमा पनि आफूलाई कम्जोर नदेखाउन जति कुटेपनि ऐया नभन्ने भएकाले राजेन्द्रले वढी दुःख पायो । त्यो मात्रै होइन उसलाई यति खतरनाक विद्रोहीको रुपमा पञ्चायत सरकारले हेर्दथ्यो की राजाको भ्रमण कतै हुनलाग्यो भने ३–४ जनामध्ये पहिलो निगरानीमा राजेन्द्र खरेल पथ्र्यो । यो खालको आँट र समर्पण भएको राजनीतिज्ञ हुनुहुन्थ्यो वहाँ ।                 मध्यपुर ठिमिका पुर्व उपमेयर तथा नेपाली कांग्रेसका नेता मुरारि आचार्य हरेक भेटमा भन्नुहुन्छ कि तपाइलाई देखेपछि मलाई ०३३ सालको घटना याद आउँछ । जुनदिन मेलमिलापको नीतिलिएर विपि नेपाल आउनुभयो त्योदिन ठुलोवुवा (जगन्नाथ आचार्य) संगै म १६ वर्षको ठिटो पनि विपिको स्वागतकोलागि एयरपोर्ट गएका थिएँ । त्यहाँ एउटा जल्दोवल्दो युवा जो वेहद सक्रीयताका साथ विपिको स्वागतका लागि आवस्यक प्रवन्ध मिलाउँदै हुनुहुन्थ्यो । को कहाँ बस्ने, को अगाडिबस्ने को पछाडिबस्ने जस्ता सवैकुराको प्रवन्धगर्ने जिम्मेवारी वहाँले लिएको देखें । त्यो सक्रीयताले वहाँलाई भर्खरै जेलको यात्रा गर्नुपर्ने हुनसक्थ्यो तर त्यसको पर्वाह नगरि निर्भयतापुर्वक सक्रीय त्यो जिउँदो जाग्दो ब्यक्ति हुनुहुन्थ्यो राजेन्द्र खरेल । त्योदिनको राजेन्द्र खरेल मेरो आँखामा आजपर्यन्त नाचिरहेकाछन । अत्यन्त आँटिलो, इमान्दार र क्रीयाशिल ब्यक्तित्व ।                 शिक्षा मन्त्रालयको नेतृत्व गरेका वखत मन्त्रालयमा वर्षौ देखि पेण्डीङमा बसेको झण्डै १३ सय शिक्षकको दरवन्दी वहाँले देशभर वितरण गर्नुभयो र आप्mनो जिल्ला काभ्रेलाई विशेष महत्व दिनुभयो । त्योवेला झण्डै २५० वटा दरवन्दी काभ्रेले मात्रै पायो । आप्mनो जिल्लामा प्राथमिक शिक्षा परियोजना लागु गराउनुभयो । बनेपामा पोलिटेक्निकल इन्स्टीत्युटको स्थापना गराउनुभयो । भोटेकोशी नदि दोलालघाटमा पक्किपुलको निर्माण गराउनुभयो र जसका कारण विकट मानिने कोशीपूर्वका भूभाग आज सुगम र समृद्ध भएको छ । यि र यस्ता सयौं उल्लेख गर्न योग्य काम र किस्सा वहाँको जिवनसँग जोडिएका छन् ।                 काठमाण्डौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पितलको वरिष्ट आँखा रोग विशेषज्ञ रामप्रसाद पोख्रेलले स्थापना गरेका हुन् । त्यो निर्माण क्रममा त्यहिं जोडिएको घर र जग्गामा तेरो मेरोको विवाद रहेछ । जोसँग विवाद थियो त्यो घरका मुली वितेर श्रीमती र वालक छोराहरु क्रिया वसिरहेको समयमा डाक्टरको पहुँचको आधारमा उनीहरुलाई समाउन प्रहरी आएछन् । त्यहाँ वरिपरि आपत आइलागेपछि गुहार्ने मानिस उनै राजेन्द्र खरेल भएकाले वहाँकोमा खबर पुगेछ वहाँ तुरुन्त त्यहाँ पुग्दा किरियापुत्रीहरुलाई नै समाउन लागेको देखेर वहाँले आफ्नो रिसलाई थाम्न सम्नुभएन र नेतृत्व गरेको पुलिसको ASI को फूली च्यातिदिनुभएछ । पुलिसले तँ को होस मेरो वर्दिमा हातहालेर च्यात्ने भनेर भन्दा म राजेन्द्र खरेल हुँ तेरो हाकिम को हो त्यसलाई गएर भनिदे राजेन्द्र खरेलले मलाई हातहाल्यो भनेर । पछि कुरा निकै चर्कियो पञ्चायती शासनको वेला एउटा विद्रोहीले गरेको हर्कतका बारे राजद्रोहको मुद्धा चलाउने कुरा उठेछ र तत्कालिन कानपा वडा नं. १० का वडा अध्यक्ष विदुरविक्रम शाहकोमा आवस्यक सहयोगका लागि पुलिस प्रशासन पुगेछ, विदुर विक्रम शाहले भनेछन् यो कुरा यहिं छलफल गरेर मिलाउँ, अन्यथा राजेन्द्र खरेलको विरुद्धमा कार्वाहीको कुरा मैले गरे भने मैले बानेश्वर छाडेहुन्छ, म यहाँ वस्न सक्दिन । भनेपछि वहाँको हैशियत आँकलन गरि त्यो केश त्यतिकै राफसाफ गरिएछ । त्योलेवलको सामाजिक छवि थियो वहाँको ।                 हेर्दा साधारण लाग्ने तर असाधारण गुणभएका निस्ठावान राजनीतिकर्मी आदरणीय राजेन्द्र खरेलको अवसाणले समाज र मुलुकलाई नै ठूलो क्षति पुगेको छ । पिताले अंगालेको राजनीतिको राजमार्गमा वहाँका सूयोग्य पूत्र महेश खरेल हिडिरहेका छन् । जनताको मन मस्तिस्कमा बसेर आफ्नो बाबुको लिगेसी पछ्याउँदै दोश्रो पटक काभ्रे, पाँचखालका मयर भएर काम गरिरहेका मेयर महेश खरेललाई पनि असल कर्मगर्ने प्रेरणा प्राप्त भइरहोस । देहान्तरण गरेको आदरणीय राजेन्द्र खरेल दाई सदा हाम्रो स्मृतिमा रहिरहनुहुनेछ । यो दुःखको घडिमा आदरणीय दाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमण्न प्रियजनहरु, आदरणीय भाउजु देवकी खरेल वहाँको सुपुत्रहरु भाइ कृष्णचन्द्र खरेल, महेश खरेल तथा शैलेस खरेलमा गहिरो समवेदना व्यक्त गर्दछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्