अर्धबेहोस अवस्थामै मेरा आँखा खुले । नजिकै एउटी नर्स उभिएकी थिइन् । उनले मुस्कुराउँदै सोधिन्, ‘तपाईंको नाम के हो ?’ म बोल्न सक्ने अवस्थामा थिइनँ । मैले देब्रे हातमा बाँधिएको आफ्नो नाम लेखिएको पट्टीतर्फ इसारा गरेँ । उनले फेरि सोधिन्, उनलाई पूरा थाह थियो म होसमा आएको छु । ‘तपाईंलाई कहाँ ल्याइएको हो भन्ने थाहा छ ?’ मैले बिस्तारै भनेँ, ‘थाहा छ, अस्पतालमा ..अप्रेसन गर्न ।’ ‘अहिले हामी कहाँ छौँ ?’ उनको नाम रहेछ मेरिना आइस । फिलिपिन्समा जन्मिएकी उनी छ वर्षदेखि आईसीयूमा बिरामीहरूको जीवनसँगै जागिरहेकी रहिछिन् । उनले मलाई पानी खुवाइन् अनि सोधिन्, ‘अहिले कसको याद आएको छ ? तपाईंको मोबाइल मसँग छ, जसलाई फोन गर्न मन छ भन्नुस् म लगाइदिन्छु ।’ मैले भनेँ, ‘मेरो छोरी सभ्यता.. उसको नाम वाट्सएपमा लिस्ट छ, उसैलाई लगाइदिनुस् । मैले मोबाइलको लक खोलिदिएँ । उनले मोबाइल मेरो कानछेउमा राखिन् । रिङ्ग बजिरहेको थियो । उताबाट सभ्यताको आवाज आयो, ‘ड्याडी, तपाईंलाई कस्तो छ ?’ मेरो गला भरियो । ‘म ठीक छु नानी’ । अप्रेसनपछि मैले तिमीलाई पहिलो कल गरेको हुँ । दाइ र ममीलाई पनि खबर गरिदेऊ मेरो अप्रेशन सफल भयो ।’ नेपालमा रहने हरुलाई अचम्म लाग्ला किन परिवारका सदस्यहरु त्यत्रो ठूलो अप्रेशन हुँदा नगएका ? बेलायत लगायत युरोपका कुनै पनि मुलुकमा हाम्रो मुलुकमा जस्तो बिरामी कुरुवा हुँदैनन् । म कुरा छोरी सभ्यताको गर्दै थिएँ । त्यो क्षणमा मैले बुझें—मृत्युको मुखबाट फर्केर आएपछि मानिसले सबैभन्दा पहिले सम्झिने नाम नै सायद जीवनको सबैभन्दा गहिरो प्रेम हो । छोरी सभ्यतालाई सम्झिनुका अनेक कारणमध्ये एउटा कारण त यस्तो पनि थियो, जसका कारण म आजसम्म यो संसारमा छु । यदि मैले त्यो दिन उसलाई सम्झेको नभएको भए, सायद म धेरै पहिले नै यो संसारबाट हराइ सकेको हुन्थेँ । सन् २०१४ को सेप्टेम्बर । जीवनदेखि बिरक्तिएर म युरोपको अन्तिम भू–भाग काबो दा रोकातिर हिँडेको थिएँ । मनमा एउटा मात्र योजना थियो — म समुद्रमा हाम फालेर सबै दुःखको अन्त्य गर्ने । नेपालमा पसलको उधारो उठेन । सबैले पैसा खाइदिए । रेडियो चलाउन सकिन विपक्षी अगाडि आए । प्लटिङ गर्ने भनेर किनेको जग्गा बेच्न सकिएको थिएन । बैंकको ऋणले घाँटी मै समातेको थियो । ऋण तिर्न घर छोडेर युरोप आएको थिएँ, तर पैसा कमाउनु त परको कुरा, विश्वास गरेका त्यो मानिसहरूबाटै नराम्रो गरी ठगिएँ । त्यसपछि ती स्वास्नीप्रसाद र द्रव्यादेवीबाट विद्रोह गरेर निस्किएँ, तर जागिर भेटिएन । अपमान, असफलता र निराशाले मनलाई यति थिचेको थियो कि मलाई लाग्यो—बाँच्नु भन्दा मर्नु सजिलो होला । त्यो बिहान म लिस्बनबाट रेल चढेर कास्काइस पुगेँ र त्यहाँबाट संसारको अन्तिम किनाराजस्तो देखिने काबो दा रोका बस चढेर पुगें । तर बसबाट ओर्लिने बित्तिकै एक्कासि सात वर्षकी मेरी छोरी सभ्यताको अनुहार आँखाभरि आयो । उसको हाँसो । उसको ‘ड्याडी’ भन्ने आवाज । उसको सानो हात र मलाई पछ्याई रहने बानी । एकाएक लाग्यो—म मर्नका लागि होइन, उसका लागि बाँच्नुपर्छ । म मरे उँ झन् असुरक्षित हुन्छे । त्यही सम्झनाले आत्महत्याको निर्णयलाई जीवनतर्फ फर्काइदियो । म आत्महत्याको निर्णय त्यागेर लिस्बन फर्किएँ । धन्न म गहिरो डिप्रेशनमा फसेको रहेनछु । त्यसपछि नेपाल फर्किएर बैंकको काम आधा सल्टाएँ । मलाई छोरी जन्मिएको दिन पनि सम्झना छ । हाम्रो समाजमा अझै पनि छोरा र छोरी जन्मँदा गरिने व्यवहारमा फरक देखिन्छ । मैले त्यो विभेद आफैंले देखेको र भोगेको थिएँ । तर छोरी पाएपछि मभित्र केही बदलिएको थियो । जीवनलाई हेर्ने दृष्टि नै फेरिएको थियो । सायद त्यसैले होला, सभ्यताको नाम मेरो मस्तिष्कको गहिराइमा कुँदिएको रहेछ । मलाई थाह छ छोरी नभएका बाउहरु अराजक हुन्छन् । मृत्युको संघारबाट फर्किएपछि पनि मैले सबैभन्दा पहिले सम्झेको नाम उही थियो । र मेरो छेउमा उभिएकी मेरिना पनि त कसैकी छोरी नै थिइन् । मेरिनाको ड्युटी सकिनै लाग्दा मेरो छोरा सम्यक् मलाई भेट्न आईसीयूमा आइपुग्यो । मैले छोरासङ्ग पानी मागेर पिएँ र उसलाई भनेँ, ‘म ठीक छु ।’ केही समयपछि अर्को नर्स आइन् । गोरो अनुहार, शान्त मुस्कान । उनले आफ्नो नाम सान्द्रिया बताइन् । पूर्वी युरोपको क्रोएसियामा जन्मिएकी उनी विगत पच्चीस वर्षदेखि बेलायतका विभिन्न अस्पतालहरूमा नर्सका रूपमा सेवा गरिरहेकी रहिछिन् । आईसीयूमा उनले मलाई आमाले झैँ स्याहारिन् । बेडमै नुहाइदिइन् । खाना खुवाइन् । औषधि दिइन् । रातभर जागेर हेरचाह गरिन् । राती मैले उनलाई भनेँ, ‘तिमीमा मैले आमाको झल्को देखेँ ।’ त्यो सुनेपछि उनको व्यवहार झन् ममतामय बन्यो । एकदिन उनले मेरो हातमा लेखिएको जन्ममिति हेर्दै भनिन्, ‘अरे, तिमी र म त एउटै साल १९७२ मा जन्मिएका रहेछौँ ।’ मैले हाँस्दै भनेँ, ‘त्यसो भए हामीलाई फरक–फरक आमाले जन्माएका जुम्ल्याहा दिदीभाइ रहेछौँ । ’ एक्कासि हाँसिन् । "Oh my God!" र मेरो निधारमा स्नेहपूर्वक चुम्बन गरिदिईन् । त्यसपछि उनले गरेको सेवाले मेरो आधा पीडा त औषधिले होइन, उनको ममताले नै निको भएको अनुभूति भयो । त्यतिबेला मैले बुझें— नर्सहरू केवल स्वास्थ्यकर्मी मात्र होइनन् । उनीहरू करुणा, ममता र सेवाभावका जीवित मूर्तिहरू हुन् । ड्युटी नभएको दिन पनि सान्द्रिया हुरुरु म कहाँ आउँथिन्, मेरो अवस्था बुझ्थिन् । जान्थिन् । यो क्रम आई सियुमा मात्रै सीमित भएन जनरल वार्डमा मात्रै होइन । डिस्चार्ज हुने दिन बिहानै उनी एउटा सानो कार्ड लिएर आइन् । त्यसमा लेखिएको थियो– "Get well soon, brother." उनले मेरा दुवै हात समातिन्, मलाई अन्तिम पल्ट हग गर्दै निधारमा चुमिन् मुस्कुराइन् र ड्युटीतिर लागिन्।म उनको टाढिँदै गरेको आकृतिलाई हेर्दै बसिरहेँ । मलाई थाह थियोे हामी जुम्ल्याहा दिदी भाई हौं भन्ने शब्दले उनको मन मस्तिष्कमा म बसेको थिएँ । त्यो दिन अस्पतालबाट फर्कँदा मैले केवल नयाँ मुटु लिएर फर्किएको थिइनँ । मैले एउटा गोरीनी दिदी पनि कमाएर फर्किएको थिएँ । को हुन् नर्सहरु ? बिरामी भएर अस्पतालको शैयामा पल्टिएको त्यो समयले मलाई जीवनका धेरै पाठ सिकायो । तीमध्ये एउटा गहिरो र अविस्मरणीय पाठ थियो— नर्स पेशाको वास्तविक अर्थ र उचाइ बुझ्नु । स्वस्थ र सबल अवस्थामा हामीले सायद कहिल्यै महसुस गर्दैनौँ कि रातभर निद्रा त्यागेर हाम्रो ज्वरो नाप्ने, पीडाले कराउँदा ढाडस दिने, औषधिको समय सम्झाउने र मौन पीडालाई समेत आँखाले पढ्ने मानिसहरू कति महान् हुन्छन् । तर जब आफैँ बिरामीको शैयामा पुगिन्छ, तब थाहा हुन्छ— नर्स पेशा केवल जागिर होइन, यो त करुणा, माया र सेवाभावले बनेको एउटा जीवित दर्शन रहेछ । मैले महसुस गरेँ, नर्स बन्नका लागि केवल प्रमाणपत्र र तालिम मात्र पर्याप्त हुँदैन । बिरामीको पीडा आफ्नै पीडाजस्तै महसुस गर्न सक्ने कोमल हृदय चाहिन्छ । रातका लामा र निस्पट्ट क्षणहरूमा पनि अनुहारमा मुस्कान सजाएर बिरामीलाई आश्वस्त पार्ने धैर्यता चाहिन्छ । कहिलेकाहीँ उनीहरूको एउटा मुस्कान नै बिरामीका लागि औषधिभन्दा शक्तिशाली उपचार बन्न पुग्छ । संसार महामारीको अन्धकारमा डुबेको बेला होस्, भूकम्प, बाढीपहिरो र प्राकृतिक विपत्तिले जनजीवन तहसनहस पारेको समय होस् वा सडक दुर्घटनाले जीवन र मृत्युको दोसाँधमा मानिसहरू संघर्ष गरिरहेका क्षणहरू— सबैभन्दा अगाडि उभिने अनुहारहरूमा नर्सहरू अवश्य भेटिन्छन् । अरू मानिसहरू सुरक्षित आश्रय खोजिरहेका बेला उनीहरू भने जोखिमको बीचमा उभिएर मानवताको दीप जलाइरहेका हुन्छन् । अस्पतालको शान्त कोठाभित्र मैले धेरैपटक महसुस गरेको थिएँ— कतिपय नर्सहरू केवल औषधि दिने मानिस होइनन्, उनीहरू बिरामीका डरका साथी हुन्, पीडाका सहयात्री हुन् र आशाका दूत हुन् । बिरामीको मनोबल खस्किएको बेला उनीहरूको एउटा सानो वाक्यले पनि जीवनप्रतिको विश्वास फेरि जागृत गराइदिन सक्छ । आज संसारका विकसित देशहरूले नर्स पेशाको मूल्य र महत्वलाई गहिरोसँग बुझेका छन् । त्यसैले संसारभर नर्सहरूको आवश्यकता बढ्दो छ र उनीहरूका लागि अवसरका ढोकाहरू खुलिरहेका छन् । तर नर्स पेशाको वास्तविक गौरव भनेको ठूलो तलब वा आकर्षक अवसर मात्र होइन । मृत्युको छायाँसँग संघर्ष गरिरहेको मानिसको आँखामा फेरि जीवनको उज्यालो फर्काइदिन सक्नु नै यसको सबैभन्दा ठूलो पुरस्कार हो । सायद त्यसैले सेतो पोशाकमा देखिने ती मानिसहरू केवल स्वास्थ्यकर्मी मात्र होइनन्, उनीहरू मानवताको सबैभन्दा सुन्दर अनुहार हुन् । अस्पतालका करिडोरहरूमा उनीहरूका पाइला केवल कर्तव्यका आवाज होइनन्, ती त माया, करुणा र सेवाभावका मौन संगीत हुन्, जसले अनगिन्ती जीवनहरूमा आशाको उज्यालो छर्दै आएका छन् ।
