IMG-LOGO

पुरुषोत्तम महिना (अधिक मास) : वैज्ञानिक आधार र पौराणिक आख्यान

 मंगल, जेठ ५, २०८३  आचार्यश्री माधवशरण

                हिन्दू संस्कृति र वैदिक परम्परामा पुरुषोत्तम महिना वा अधिक मास समय व्यवस्थापन, प्रकृति सन्तुलन र आध्यात्मिक उन्नतिको उत्कृष्ट उदाहरण हो । यो अतिरिक्त महिना चन्द्र–सौर्य चक्रको अन्तर समायोजन गर्न थपिन्छ । पद्म पुराण, स्कन्द पुराण, ब्रह्मवैवर्त पुराण जस्ता ग्रन्थहरूमा यसको विस्तृत महिमा व्याख्या गरिएको छ । अस्ति आइतबारदेखि पुरुषोत्तम महिना सुरु भएको छ, निरन्तर एक महिनासम्म रहन्छ । आजको यो आलेखमा यसको वैज्ञानिक व्याख्या, गणना विधि, पौराणिक आख्यान, नक्षत्र–ऋतु सम्बन्ध, व्यावहारिक महत्व र आधुनिक सान्दर्भिकतालाई समेटेर एउटा सानो चर्चा गरौँ । वैज्ञानिक तथा खगोलीय आधार ः                 सूर्य वर्ष (solar year) औसत ३६५.२४२२ दिनको हुन्छ भने चन्द्र वर्ष (lunar year) १२ चन्द्र महिनाहरू (प्रत्येक औसत २९.५३ दिन) मिलाएर करिब ३५४ दिनको हुन्छ । यसले प्रत्येक वर्ष करिब ११ दिन, १ घण्टा र ३१ मिनेटको अन्तर उत्पन्न गर्छ । यो अन्तर क्रमशः जम्मा हुँदै २.७ देखि ३ वर्षमा एक महिनाजति पुग्छ । वैदिक ज्योतिषशास्त्रले यो अन्तरलाई अधिक मास थपेर समाधान गरेको छ । यो प्रणाली intercalary month अर्थात् सौर्य र चन्द्र वर्षलाई मिलाएर बनाइएको हो, जसले चन्द्र र सौर्य क्यालेन्डरलाई एकरुप बनाइराख्न सहयोग गर्छ, synchronise राख्छ । जब कुनै चन्द्र महिनामा सूर्यले कुनै राशिमा संक्रान्ति (राशि प्रवेश) गर्दैन, त्यो महिना अधिक मास हुन्छ । यसले कृषि चक्र, ऋतु परिवर्तन र धार्मिक उत्सवहरूलाई मौसमसँग जोडिराख्छ । वेदाङ्ग ज्योतिष र आधुनिक खगोलशास्त्र दुवैले यो गणनालाई वैज्ञानिक ठानेका छन् । औसतमा ३२.५ महिनामा (लगभग २ वर्ष ८ महिना १६ दिन) एक पटक यो आउँछ । यो अङ्ग्रेजी वर्षमा आउने भिबउ थभबच प्रणालीभन्दा जटिल छ किनकि यसले चन्द्र र सौर्य दुवैलाई सन्तुलित राख्छ । नक्षत्र र ऋतु सम्बन्ध ः                 सूर्य नक्षत्र गोचरले ऋतु निर्धारण गर्छ । उदाहरणका लागि, आद्र्रा नक्षत्र मा सूर्य प्रवेशले वर्षा ऋतुको सुरुवात संकेत गर्छ । रोहिणी, हस्त, चित्रा, स्वाती जस्ता नक्षत्रहरूले बालीनाली उत्पादन हुने, वर्षा र मौसम परिवर्तनको सूक्ष्म संकेत दिन्छन् । पुरुषोत्तम महिनाले यी चक्रहरूलाई अझ सन्तुलित बनाउँछ । अधिक मासको गणना विधि अनुसार अमावस्या (नयाँ चन्द्र) निर्धारण हुन्छ । दुई अमावस्याको बीचमा सूर्य संक्रान्ति परेन अर्थात् शून्य संक्रान्ति भयो भने अधिक मास हुन्छ । अर्को शब्दमा भन्दा यदि दुई संक्रान्ति एकै महिनामा पर्न गयो भने क्षय मास (दुर्लभ) हुन्छ, जस्तो यस वर्ष जेष्ठ अधिक मासमा पनि संक्रान्ति छ, जेष्ठ शुद्धमा पनि संक्रान्ति पर्छ । “यस्मिन् मासे न संक्रान्तिः संक्रान्तिद्वयमेव वा । मलमासः स विज्ञेयो मासे त्रिंशत्तमे तथा ।।” जुन महिनामा संक्रान्ति हुँदैन वा दुई संक्रान्ति हुन्छ, त्यो मलमास हो । नामकरण अर्को नियमित महिनासँग जोडेर (जस्तै अधिक ज्येष्ठ) गरिन्छ । यो महिना फाल्गुनदेखि कार्तिकसम्म बढी आउँछ । २०२६ मा अधिक ज्येष्ठ (मे १७ देखि जुन १५ सम्म) परेको छ । पौराणिक आख्यान ः                 मलमासबाट पुरुषोत्तम बन्ने दिव्य कथा पद्म पुराणको उत्तर खण्डमा वर्णित छ, कथा अत्यन्त मार्मिक छ । एक पटक नैमिषारण्यमा हजारौं ऋषिहरू महायज्ञ गर्दै थिए । सूत गोस्वामी शिष्यसहित त्यहाँ आइपुगे । ऋषिहरूले पुरुषोत्तम मासको महिमा सोधे । सूतजीले कथा सुनाए । जस अनुसार बारह महिनाहरूका अलग–अलग देवता स्वामी थिए, चैत्रको स्वामी ब्रह्मा, वैशाखको मधुसूदन आदि । तर अतिरिक्त महिनाको कुनै स्वामी थिएन । यसलाई मलमास (अपवित्र) भनियो । कुनै शुभ कार्य यसमा हुँदैनथ्यो । महिना अत्यन्त दुःखी भयो र वैकुण्ठ धाममा भगवान् विष्णुको शरणमा गयो । रोएर आफ्नो व्यथा सुनायोः “मलाई कसैले स्वीकार गर्दैन, म अपवित्र ठानिन्छु । ”भगवान् विष्णुले असीम करुणा हुनुभयो । उहाँले महिनालाई गोलोक धाम लैजानुभयो र श्रीकृष्ण (पुरुषोत्तम) लाई सुम्पनुभयो । श्रीकृष्णले यसलाई आफ्नै नाम, गुण, यश, ऐश्वर्य र भक्ति प्रदान गर्नुभयो । उहाँले घोषणा गर्नुभयो ः अहं एतैर्यथा लोके प्रथितः पुरुषोत्तमः । तथायमपि लोकेषु प्रथितः पुरुषोत्तमः ।। अर्थात् जसरी म (श्रीकृष्ण) संसारमा पुरुषोत्तम (परम पुरुष) भनेर प्रसिद्ध छु, त्यसै गरी यो महिना पनि पुरुषोत्तम नामले प्रसिद्ध हुनेछ । अब यो मल होइन, परम पवित्र र फलदायी बनेको छ । कृष्णले थप भन्नुभयो कि यो महिनामा गरिने भक्ति, दान, स्नान, जप, पूजा अक्षय फल दिन्छ । यो कथा भगवद्गीताको १५ औं अध्याय (पुरुषोत्तम योग) सँग जोडिन्छ, जहाँ कृष्णले आफूलाई क्षर (नाशवान्) र अक्षर (अव्यक्त) भन्दा उत्तम पुरुषोत्तम भन्नुभएको छ । हाम्रा पूर्वीय दर्शनका यी र यस्ता आख्यानहरुले समर्पणको दर्शन सिकाएका छन्, जसले ईश्वरमा आत्मसमर्पण गर्छ, त्यो अशुद्ध वा अतिरिक्तबाट पनि दिव्य बन्छ । सर्वमासेषु यत्पुण्यं सर्वतीर्थेषु यत्फलम् । तत्फलं कोटिगुणितं पुरुषोत्तममासके ।। सबै महिनामा जति पुण्य कमाइन्छ र सबै तीर्थमा जति फल मिल्छ, त्यो पुरुषोत्तम मासमा करोड गुणा बढी हुन्छ । यो महिनाको महिमा अतुलनीय रहेको बताइएको छ । एक साधारण स्नान, दान वा जपले पनि लाखौं–करोडौं गुणा फल दिन्छ । त्यसैगरी अर्को एक प्रसङ्गमा भनिएको छ “पुरुषोत्तम मासे कृतं सर्वम् अक्षयं भवति”, यो महिनामा गरिएको कुनै पनि सत्कर्म अक्षय (नाश नहुने) फल दिन्छ । त्यस्तै प्रसङ्ग भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको गीता उपदेशमा पनि छ । “यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः । अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः ।।”  यहाँ महिनालाई भक्तिसँग जोडिएको छ । पुरुषोत्तम मासमा भक्ति गर्दा परम पुरुष प्राप्ति सहज हुन्छ ।                 पुरुषोत्तम मासमा विष्णु÷कृष्ण भक्ति प्रधान हुन्छ । स्नान, दान (अन्न, वस्त्र, घीउ, दीप), जप (ॐ नमो भगवते वासुदेवाय), भागवत÷गीता पाठ, एकादशी व्रत, तुलसी पूजा अत्यन्त फलदायी छन् । काम्य कर्म (विवाह, गृहारम्भ) सामान्यतया टारिन्छन् तर निष्काम भक्ति र दानलाई प्रोत्साहन दिइन्छ । यो महिनाले अतिरिक्तलाई पवित्र बनाउने सन्देश दिन्छ । वैज्ञानिक रूपमा समय सन्तुलन गर्दै स्वास्थ्य, कृषि र पर्यावरण सन्तुलन कायम राख्छ ।                 आधुनिक सान्दर्भिकताः आजको जलवायु परिवर्तन, अनियमित मौसम र व्यस्त जीवनशैलीमा पुरुषोत्तम महिनाले आत्म–सुधार, पर्यावरण संरक्षण र समय व्यवस्थापनको सन्देश दिन्छ । यो प्राचीन सनातन हिन्दू धर्म विज्ञानको प्रमाण हो जसले प्रकृति र ईश्वरबीच सामञ्जस्य कायम गर्छ । यसरी भन्नुपर्दा पुरुषोत्तम महिना वैज्ञानिक छ, पौराणिक करुणा र आध्यात्मिक गहनताको अद्भुत मिश्रण छ । पद्म पुराणको कथाले मलमासलाई पुरुषोत्तम बनाउने विष्णु÷कृष्णको दिव्य कृपा देखाउँछ भने नक्षत्र–ऋतु सम्बन्धले वैज्ञानिक आधार दिन्छ । यो महिनालाई भक्ति, दान र समर्पणमा उपयोग गर्दा जीवन दिव्य बन्छ । त्यसैले भनिएको छ “पुरुषोत्तम मासे कृतं सर्वम् अक्षयं भवति” । पुरुषोत्तम महिनामा गरिएका सबै कर्महरू अक्षय अर्थात् नाश नहुने हुन्छन् । यो सन्देशले हरेक व्यक्तिलाई प्रेरणा दिन्छ । प्राचीन वैदिक ज्ञान आज पनि जीवन्त छ र भावी पुस्तालाई प्रकृति, समय र ईश्वरसँग एकीकृत हुन सिकाउँछ । जय नेपाल । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्