IMG-LOGO

आत्मालाप : मुटुको ब्यथा, मेरो कथा

 मंगल, जेठ ५, २०८३  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

    गएको बुधबार मेरो मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो । मलाई सेन्ट थोमस हस्पिटलसम्म पुर्याउन मेरा हेड सेफ गुड, उषा र बाबु सम्यक पुगेका थिए । यो लेख तयार पार्दासम्म म सेन्ट थोमस मुटु रोग विभागको अस्पताल शैयामा छु । यतिबेला मुटुभित्र अटाएको मेरो देश । प्रियजन आफन्त र शुभचिन्तकलाई म सम्झिरहेको छु । अनि म स्वयमले आफ्नो जीवन कै समिक्षा गरिरहेको छु । कहाँ जन्मिए कहाँ हुर्किए र आज म कहाँको मुलुकमा यस्तो अवस्थामा छु । भोलि मेरो जीवनमा के हुन्छ ? थाहा छैन त्यसैले पनि म आत्मालाप गरिरहेको छु ।      हुन त अलिकति हाँच्छिउँ आउँदा रेडिमेड ‘गेट वील सुन’ पाँउन फेसबुकमा पोस्ट गर्ने आजको चलन भन्दा म पृथक नै छु । अमेरिका हुँदा २०२० मा म गम्भीर बिरामी परे त्यहाँको भन्दा युरोपको स्वास्थ्य व्यवस्था राम्रो लागेर म बिरामी अवस्था मै पोर्चुगल फर्किए । कोरोनाकाल समय एक्लो जीवन, हात खुट्टा अनुहार सुन्निएर डमडम्ती, अस्पताल जान नस्क्ने अवस्था मै म बल्लतल्ल  शहुदा जुजे अस्पताल मार्तिमुनीज पुगेको थिएँ । मेरो हालत हेरेर कोरोनाको पिसीआर जाँच पछि तुरुन्तै आइलेशनमा  राखियो । कोरोना पुस्टी नहुँदै मेरो हालत गम्भीर भएछ म बेहोस भएछु । मलाई भेन्टिलेटरमा राखेर उपचार गरिएछ । मलाई कोरोना लागेको होइन रहेछ । निमोनियाले फोक्सोमा पानी जमेको, फोक्सोमा इन्फेक्सनले क्यान्सरको आशंका र मुटुका दुई अर्टिक भल्भ सुकेको डाक्टरले ३ दिन मै पत्ता लगाएछन् ।      त्यतिबेलासम्म मेरो अवस्था सुधार उन्मुख भए पछि पाँच दिन भेन्टिलेटरमा राखेपछि आइसियुमा ल्याउदा मात्रै म होसमा आएको थिएँ । अलिअलि होस खुल्नु भनेको मस्त निद्राबाट अर्ध निद्रामा जस्तै हुने रहेछ । आँखा उघ्रिदा वरिपरि नर्स र एक वृद्ध डाक्टर थिइन् । उनलाई अंग्रेजी नआउने मलाई पोर्चुगिज पुरा नआउने नर्सहरुको सहयोगले हाम्रो कुराकानी भयो मेरो बिरामी इतिबृतान्त टिपोट गरिदै भनियो अब भने हामी तपाईं बाँच्नु हुनेछ भन्ने आशा लाग्यो भने ।      मलाई ४ दिन क्यान्सर वार्डमा राखेर फोक्सोको बायस्पी गरियो । क्यान्सर नभएको इन्फेक्सन मात्रै भएको पुष्टी पछि म २४ दिनको उपचार पछि डेरा फर्किए । मुटुको भल्भ फेर्नु थियो नेपालमा बुवा सिकिस्त भएका कारण म नेपाल उड्न प¥यो । अस्पतालले अप्रेसनको डेट दिंदा नेपालबाट कुनै जहाज चलेनन् मेरो अप्रेसन छुटेपछि अस्पतालका डाक्टर धेरै रिसाए । त्यसपछि म बेलायततिर लागे । उपचार गर्न भने ६÷६ महिनामा पोर्चुगल पुग्थे । स–परिवार लण्डन आएपछि मेरो बिरामी हिस्ट्री बेलायत सारेका कारण आज त्यही मुटुका दुई भल्भ ओपन हर्ट सर्जरी गरेर फेरिदंैछ । म बेलायतको राजा देखि रंक सम्मले निशुल्क र समान उपचार पाउने अत्याधुनिक अस्पताल सेन्ट थोमसमा उपचार गर्न पाँउदा खुशी पनि छु ।     यतिबेला सम्झिरहेको छु मेरो देश, हाम्रो देशका लागि राज्यले गरेको स्वास्थ्य ब्यवस्था र दलहरूले चुनावमा गरेका स्वास्थ सम्बन्धि घोषणापत्र र बाचापत्रहरु । आकाश पातालकै अन्तर छ युरोप, दक्षिण एशियाली मुलुक र अमेरिकाको स्वास्थ्य उपचार सेवामा । मान्छे जतिसुकै धनी नै भएपनि मृत्युुलाइ किनेर बाँच्न सक्दैन त्यसैले बाँचुन्जेल केही कसैलाई नभनौ भन्ने लाग्छ । केही नलेखौ भन्दाभन्दै पनि  हाम्रो देशको बेथिति विसङ्ग्गतीबारे नलेखी चित्त नबुझेका कारण कहिलेकाहीँ खह्रो उत्रिन्छु । संचारकर्मी भएकाले सत्ताको सधैं प्रतिपक्षी भएर लेख्नु मेरो कर्तव्य पनि  हो । मान्छे जतिसुकै धनी नै भएपनि मृत्युुलाई किनेर बाँच्न सक्दैन त्यसैले बाँचुन्जेल केही कसैलाई नभनौ केही नलेखौ भन्दाभन्दै पनि हाम्रो देशको बेथिति विसङ्ग्गतीबारे नलेखी चित्त नबुझेका कारण कहिलेकाहीँ खह्रो उत्रिन्छु ।     हुन त मानिसको शरीरमा एक मुख र दुई कान हुनु केवल संयोग होइन, यो जीवनको गहिरो सन्देश हो—‘कम बोल्न र बढी सुन्न’ । बोल्दा हामी आफ्ना विचार व्यक्त गर्छौ, तर सुन्दा अरूको संसार बुझ्ने अवसर पाउँछौं । सुन्नु सजिलो हुँदैन, किनकि यसका लागि अहंकारलाई पछाडि राख्नुपर्छ र ध्यानपूर्वक बुझ्नुपर्छ । जब हामी साँचो अर्थमा सुन्न सिक्छौं, तब मात्र सम्बन्ध, सोच र व्यवहारमा गहिराइ आउँछ । त्यसैले जीवनमा सही निर्णय र समझदारीका लागि बोल्नु अघि सुन्ने बानी विकास गर्नु अत्यन्त जरुरी हुँदाहुँदै पनि म सामाजिक संजालका असामाजिक व्यवहारले आक्रोशित पनि हुन्छु ।     जिन्दगीले यहाँ पुर्याउदा सपना रङ्गाउने होडबाजीमा जिन्दगीको रङ्ग खुइलिएको पत्तै भएन ! बाँकी रह्यो मात्र यादहरु, जसले कहिल्यै बाटो बिराउदैनन...र बिराएका छैनन् । के लेखांै र ? यतिबेला उर्लिरहन्छ्न तछाड्मछाड गर्दै नरायणीमा बगेका पानीका छाल जस्तै भावना उर्लिएका छन् । म बगर जस्तै भएको छु । मनभरि भेटिन्छन् प्रियजन् । पर्खाइमा छु दुरुस्त हुन । रोग बोकेर कुर्दाकुर्दै उपचारका लागि अस्पताल धाउँदा धाउँदै बितेका सात वर्ष पत्तै भएन । बाँकी जीवन आफ्नै सालनाल गाडिएको भूमिमा बिताउन यि हेर्ने सुन्दर आँखाहरुले समृद्ध नेपाल हेर्न उत्सुक छन् तर हाम्रो बिडम्बना कहिले हुन्छ हामीले सोचे जस्तो नेपाल ??                          लण्डन बेलायत ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्