IMG-LOGO

अक्षय तृतीय, सनातन हिन्दु धर्म र जैन धर्मको सेतु सम्बन्ध

 मंगल, बैशाख ८, २०८३  – आचार्यश्री माधवशरण

      अक्षय तृतीया हिन्दू तथा जैन परम्परामा अत्यन्तै महत्वपूर्ण पवित्र पर्व हो । यस दिनलाई हिन्दू पञ्चाङ्ग अनुसार वैशाख महिनाको शुक्ल तृतीया तिथिमा मनाइन्छ । अक्षयः शब्दले “अविनाशी”, “कदापि क्षय नहुने” वा “सदा वृद्धि हुने” भन्ने अर्थ दिन्छ भने तृतीयाले चन्द्रमासको तेस्रो दिन जनाउँछ । यसैले अक्षय तृतीयालाई “तेस्रो दिन, जसको पुण्य र लाभ कहिल्यै समाप्त नहुने” भनेर बुझिन्छ । पर्वको मूल उद्देश्य दान, पूजा, तपस्या, श्रद्धा कर्म सँग सम्बन्धित छ । हाम्रा शास्त्रहरूले पनि भनेका छन् “अस्मिन् दिने यत्क्रियते दानं, जपः, होमः, पितरः तर्पणम्, तत् सर्वं अक्षयम् भवेत् ।” अर्थात् यस दिन गरिने दान, जप, होम, पितृ तर्पणका सबै पुण्य अक्षय अर्थात् शाश्वत रहन्छन् । यसरी हाम्रा पर्वहरूले दिनुलाई महत्व दिएको रहेछ । भन्ने बुझ्न सकिन्छ । स्कन्द पुराणको वैशाख मास महात्म्य वर्णन गरिएको छ : “भुक्तिमुक्तिप्रदा नककणां तृतीया चाऽक्षयाऽऽह्वया ॥” अर्थात् “अक्षया नामक तृतीया मनुष्यलाई भोग (सांसारिक सुख) र मुक्ति (मोक्ष) प्रदान गर्ने छ ।” हाम्रा संस्कार परम्पराहरूले पर्वलाई केवल भौतिक समृद्धिको दिन होइन, आध्यात्मिक उन्नतिको महत्त्वपूर्ण अवसर पनि बनाउँछ : “ये दानं यत्र कुर्वन्ति मधुद्विट्प्रीतये शुभम् । तदक्षय्यं फलत्येव मधुशासनशासनात ॥” अर्थात् “अक्षय तृतीयामा शुभ दानले अक्षय फल दिन्छ” भन्ने संकेत गरेको छ । यसरी अक्षय तृतीयको महत्व दान, जप र तपस्यालाई गहिरो रूपमा जोड दिन्छन् । स्कन्द पुराण, पद्म पुराण, भविष्य पुराण र मत्स्य पुराण जस्ता ग्रन्थहरूमा अक्षय तृतीयाको महिमा बारम्बार उल्लेख गरिएको छ । भविष्य पुराणमाः “वैशाखे शुक्लपक्षे तु तृतीयायां तथैव च । गङ्गातोये नरः स्नात्वा मुच्यते सर्वकिल्बिषैः ॥ तस्यां कार्यो यवैर्होमो यवैर्विष्णुं समर्चयेत् । यवान् दद्यात् द्विजातिभ्यः प्रयतः प्राशयेद्यवान ॥” अर्थात् “वैशाख शुक्ल पक्षको तृतीयामा नजिकैको खोला नाला नदी गंगाजलमा स्नान गरेर मानिस सबै आध्यात्मिक शान्ति प्राप्त गर्न सक्छ । यो दिनको अर्को एउटा महत्वपूर्ण पक्ष पनि छ । यस दिन यव (जौ) बाट होम गर्नु, दुःखी गरिब असहाय र ब्राह्मणहरूलाई यव दान गर्नु र आफैं पनि यव ग्रहण गर्नु अत्यन्त शुभ छ ।” सम्भवत यसैको प्रभाव हुनुपर्छ अक्षय तृतीयाको दिन जौको सातु खाने चलन छ ।       हिन्दू परम्परामा अक्षय तृतीया विभिन्न महापुराण र महाकाव्यसँग गहिरो रूपमा जोडिएको छ । महाभारत महाकाव्य अनुसार, वनवासको कठिन समयमा युधिष्ठिरले सूर्य देवताको प्रार्थना गरेपछि अक्षय पात्र प्राप्त गरे । यो पात्रले कहिल्यै भोजन समाप्त नहुने गुण राख्थ्यो । भगवान श्रीकृष्णले युधिष्ठिरलाई भनेको प्रसङ्ग अत्यन्त प्रसिद्ध छ : “अस्यां तिथौ क्षयमुपैति हुतं न दत्तं तेनाक्षयेति कथिता मुनिभिस्तृतीया । उद्दिश्य दैवतपितककन्क्रियते मनुष्यैः तच्चाक्षयं भवति भारत सर्वमेव ।” अर्थात् “यो तिथिमा हवन र दान कहिल्यै क्षय हुँदैन, त्यसैले मुनिहरूले यसलाई अक्षया तृतीया भनेका छन् । देवता र पितृहरूलाई लक्षित गरी गरिने सबै कर्म अक्षय हुन्छन् ।” यो प्रसङ्गले पर्वको नामकरण र यसको अक्षय फलको आधार प्रदान गर्छ । अक्षय तृतीया पवित्र गंगा अवतरणसँग पनि सम्बन्धित छ । यस दिन गंगा धरतीमा अवतरित भएकी थिइन्, जसले पितृहरूको मोक्षको अवसर प्रदान गर्छ । यस दिवसमा हाम्रा वरिपरिका नदीहरूमा खोला र झरनाहरूमा स्नान र पितृ तर्पण गर्ने परम्परा अझै जीवित छ । यसरी गरिने स्नान र तर्पणलाई स्कन्द पुराणले पापनाशक तथा विष्णुलोकप्रदायक भनेको छ । यसले हजारौं जन्मसम्म अरुलाई दिएर मात्र आफ्नो तृप्तिमा लाग्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।       यो दिन भगवान परशुरामको जन्म भएको पनि मानिन्छ । परशुराम विष्णुका छैटौं अवतार हुन्, जसले पृथ्वीलाई क्षत्रियहरूको अत्याचारबाट मुक्त गरे । उनी रेणुकाको गर्भबाट वैशाख शुक्ल तृतीयामा प्रकट भएका थिए । भगवान परशुराम चिरञ्जीवी हुन् । विश्वास गरिन्छ उनी अझै पनि महेन्द्रमाला पर्वतमा तपस्या गरेर बसेका छन् । यो घटनाले अक्षय तृतीयालाई युगादि तिथिको रूपमा स्थापित गर्छ । त्यस्तै, महर्षि वेद व्यासले महाभारतको रचना यसै दिन गणेशजीको सहायताले सुरु गरेको कथा पनि प्रसिद्ध छ । एक लाख श्लोक भएको यो महाकाव्यको सुरुवात अक्षय तृतीयामा भएको मानिन्छ, जसले ज्ञानको अक्षय प्रवाहलाई प्रतीकित गर्छ । सुदामा र कृष्णको मिलन पनि यस पर्वसँग जोडिएको छ । सुदामाको सादगीपूर्ण दान (मुट्ठीभर चिउरा) ले श्रीकृष्णको असीम कृपा प्राप्त भयो । भागवत पुराणको कथाअनुसार, यो घटनाले दानको अक्षय फल देखाउँछ । “सुदानात्प्राप्यते भोगः सुदानात्प्राप्यते यशः । सुदानात् जायते कीर्तिः सुदानात् प्राप्यते सुखम् ॥” अर्थात् “उत्तम दानबाट भोग, यश, कीर्ति र सुख प्राप्त हुन्छ ।” यसरी दान अर्थात् दिने कार्यलाई हाम्रो समाजले सामाजिक महत्वलाई जोड दिएको छ : “दानेन भुतानि वशीभवन्ति दानेन वैराण्यपि यान्ति नाशम् । परोऽपि बन्धुत्वमुपैति दानैर्दान हि सर्वव्यसनानि हन्ति ॥” अर्थात् “दानले सबै प्राणीलाई वशमा पार्छ, वैर नष्ट गर्छ, शत्रुलाई पनि बन्धु बनाउँछ र सबै व्यसनहरू हटाउँछ ।       जैन परम्परामा अक्षय तृतीया अझ बढी महत्वपूर्ण छ । यस दिन प्रथम तीर्थंकर श्री आदिनाथ (ऋषभदेव) ले ४०० दिने कठोर व्रत समाप्त गरेका थिए । उनी त्यस दिन इक्षु रस अर्थात् उखुको रस पिएर व्रत तोडेका थिए । यही भएर हुनुपर्छ यस दिन सनातन हिन्दू दर्शन अनुसार जौको सातु खाने र अरुलाई पनि खुवाउने एवं जैन धर्म अनुसार उँखुको रसबाट सर्बत बनाएर खुवाउने र आफूले पनि खाने गरिन्छ । जैन ग्रन्थ आचारांगले स्पष्ट पार्छ कि साधुहरूले खाने भोजन पूर्ण रूपले दोषरहित हुनुपर्छ । श्वेताम्बर जैन परम्परामा यो दिन वर्षीतप (४०० दिनको वैकल्पिक उपवास) को समाप्तिको रूपमा मनाइन्छ । राजा श्रेयांसकुमारले आदिनाथलाई उँखुको रस चढाएर पहिलो आहारदानको परम्परा सुरु गरे । यो घटनाले जैन समुदायमा अहिंसा, दान र तपस्याको अक्षय महत्वलाई स्थापित गर्छ । अक्षय तृतीयामा धन, सम्पत्ति र नयाँ सुरुवातको प्रतीकको रूपमा सुन, रुद्राक्ष, धार्मिक पुस्तक, अन्न, लत्ताकपडा, जलकलश आदि किन्नु वा दान गर्नु शुभ मानिन्छ । कुबेरले यस दिन धनको अभिषेक प्राप्त गरेर धनका संरक्षक बने । आधुनिक समयमा पनि यो पर्व जीवन्त छ । नेपाल र भारतका बद्रीनाथ, गंगोत्री, यमुनोत्री जस्ता तीर्थस्थलहरूको कपाट यस दिन खुल्छन् । मानिसहरू गंगा स्नान, कुबेर पूजा, विष्णु पूजा, यज्ञ र सामूहिक अन्नदान गर्छन् । यस दिन गरिने हरेक कर्मले कृतयुगको प्रारम्भ जस्तै शाश्वत पुण्य दिन्छ । अक्षय तृतीयाले हामीलाई सिकाउँछ कि सच्चा दान, श्रद्धा, तपस्या र कर्मले जीवनलाई अक्षय बनाउँछ । यो केवल एउटा तिथि होइन, शाश्वत पुण्य र समृद्धिको द्वार हो । यस दिन गरिएका कर्महरूले भौतिक, मानसिक र आध्यात्मिक सबै क्षेत्रमा स्थायी उन्नति प्रदान गर्छन् । अक्षय तृतीयाको अवसरमा सबैमा मङ्गलमय शुभकामना । जय परशुराम ! जय नेपाल । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्