१. छयालिस सालमा पञ्चायत ढल्यो । विश्वभरका मिडियाले कभरेज दिए । हामी गजक्क परेम् .. कहिल्यै नेपालको नाम नलिने मिडियाले नेपाललाई उल्लेख गरे भनेर । २. ४९ सालतिर हुनु पर्छ मदन भण्डारीको एउटा अन्तरवार्ता एउटा अम्रिकाने म्यागेजिनमा आयो। हामी मख्ख परेम् .. कहिल्यै नेपाल नजानेको संसारलाई मदन भण्डारीले चिनाए, नेपालको नेतालाई स्थान दियो भनेर । ३. ६२/६३ मा आन्दोलन भयो । सशस्त्र विद्रोह गरेको माओवादी मुलधारको संसदीय राजनीतिमा प्रवेश गर्यो । संसारका प्रमुख मिडियाले कभरेज गर्यो .. नेपालमा अभूतपूर्व परिवर्तन भनेर । हामी गजक्क परेम् .. नेपालले विश्वलाई नमूना राजनीति प्रदर्शन गर्यो, कहिल्यै नेपालको नाम नलिने मिडिया हाउसहरूले नेपाललाई स्थान दियो भनेर । पहिलो संविधानसभा निर्वाचनमा माओवादीले बहुमत ल्याएर सरकारको नेतृत्व गर्यो । फेरि विश्व मिडियाले नेपाललाई स्थान दियो । हामी मख्ख परेम् कहिल्यै नेपालको नाम नसुनेकाले नेपालको नाम सुन्ने भए भनेर । ४. एमाले, माओवादी मिलेर चुनाव लडे । पूर्ण बहुमत आयो । कम्युनिष्टको एकल सरकार बन्यो । विश्व मिडियाले फेरि नेपालको समाचार छाप्यो । हामी दङ्ग परेम् कहिल्यै नेपालको नाम नलिने मिडियाले बाध्य भएर नेपालबारे मुख्य समाचार बनाउनु पर्यो भनेर। ५. नेपालले लिपुलेख, लिम्पियाधुरा राखेर नक्शा संशोधन गर्यो । नेपालजस्तो सानो मुलुकले भारतजस्तो शक्ति राष्ट्रसँग कुम जोरेर टक्कर लियो भनेर हामी मख्ख परेम् । भारतका बच्चाबच्चालाई नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भयो, जबकि नेपाल भन्ने छुट्टै देश छ भनेर पनि धेरै भारतीयलाई थाहा थिएन भनेर हाम्रो नाक घिरौँला जत्रो भयो । ६. अहिले फेरि टाइम्स् म्यागजिनले सय चर्चित व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्रीलाई पनि समावेश गर्यो । हामी दङ्ग पर्दैछौँ कहिले नेपालको बारेमा मतलब नगर्ने मिडिया हाउसले नेपालका प्रधानमन्त्रीलाई प्रभावशाली व्यक्तिको सूचीमा राखेर नेपालको नाम रोशन गरायो भनेर । यी आधा दर्जन त उदाहरण मात्र हुन् । नेपालको नाम अमेरिका, युरोपको कुनै मिडिया हाउसले उल्लेख गर्न मात्र पर्छ, नेपालका कोही व्यक्ति लाइमलाइटमा देखिन मात्र पर्छ, हाम्रो लागि खुसी हुन अर्को कारण चाहिन्न । नेपाली मूलका व्यक्ति बेलायतमा चुनाव लड्दा पनि हामी खुसीले बुद्रुक्क उफ्रिन्छम् । संसारले नेपाल भन्ने शब्द सुन्न पाएको वा तीन अक्षरको नेपाल शब्द पढ्न पाएको खुशीयालीमा हामी दङदास पर्छौं । उसो त नेपाल सानो मुलुक भएको र अल्पविकसित पनि भएकोले विश्व रङ्गमञ्चमा नेपालको भूमिका निरन्तर प्रभावकारी हुने भन्ने हुन्न । लगभग हुन्न नै । तर पनि छिटपुट रूपमा व्यक्तिगत तहमा विभिन्न व्यक्तिले महत्वपूर्ण योगदान दिइरहेकै छन् । त्यसमा नेपालको प्रसङ्ग आइरहन्छ । तर हामीलाई एउटा लघुताभासले गाँजिराखेको छ, नेपाललाई कसैले चिन्दैन, नेपाल भन्ने मुलुकको बारेमा विश्वका धेरैलाई थाहै छैन भनेर । अमेरिकी राष्ट्रपतिलाई पनि नेपालबारे थाहा छैन भन्ने हामीलाई लाग्छ । अमेरिकाको राष्ट्रपतिलाई कतिवटा देशको नाम मुखाग्र हुनु पर्ने हो त्यो पनि हामीलाई थाहा छैन, छन् त । अमेरिकी राष्ट्रपतिले टोपी देखेरै नेपालको भन्ने चिने भनेर हाम्रो खुसीको सीमा रहन्न । यो स्थायी लघुताभासको पृष्ठभूमिमा नेपालको नाम अन्तर्राष्ट्रिय मिडिया हाउसमा आउनु गौरवकै कुरा हो । नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस् । कुनै समय फ्रिक स्ट्रिटको लागि पनि नेपाल प्रशिद्ध थियो । जान्न पर्नेले जाने भै गयो । आखिर हामीलाई पो संसारका साना मुलुकको बारेमा के थाहा छ र ? संसारका विभिन्न राजनीतिक उथलपुथलको घटना भैरहन्छ । ती सबै बारे, ती सबै देशको बारेमा हामीलाई पो के थाहा छ र ! नेपालबारे विश्वका सारा जनताले जान्नु पर्ने विशेष कारण के छ र ! तर हाम्रो खुसीको इन्डेक्स बढ्नलाई खास विशेष कारण चाहिन्न ।
