महाभारत कथाभित्र कथा छन् त्यसैले महाभारत कथा पूर्वीय दर्शन, समाज, संस्कृति र सभ्यताको अनुपम कृति हो । महाकाव्यको रुपमा महर्षी वेदव्यासले लेखेको यो महाभारत कथाका एक पात्र बिना अर्को पात्र अधुरो हुन्छ । कृष्णलाई कृष्ण बनाउने अनेक पात्र रचिएको छ । तिनै पात्रमध्ये एक हुन् शिशुपाल । शिशुपाल छेदीका महाराज दमघोषका छोरा अर्थात् युवराज थिए । उनी कृष्णका बाबु बासुदेवकी बहिनीका छोरा अर्थात् कृष्णका फुपुका छोरा थिए । नाताले भाइ पर्ने शिशुपाल जन्मिँदा तीन वटा आँखा र चार हात लिएर जन्मिए । उनको यस्तो जन्मलाई अस्वभाविक र अद्भूत मानियो । जन्मदै गधाको जस्तो भयंकर स्वर निकालेकाशिशुपालाको आवाज सुनेर डराएका थिए ।छोराको यस्तो शरीर देखेर उनका माता पिता चिन्तित भए । समाजमा यस्तो बालकलाइ देख्दा उनलाई राक्षस भन्लान् र घृणा गर्लान् भनेर चिन्ता गर्दै बालकलाई त्याग गर्ने विचारमा पुगेका बेला आकाशवाणी भयो । आकाशवाणीमा भनियो एकदिन यस्तो समय आउँछ यस बालकका अतिरिक्त अङ्ग अर्थात् दुई हात र एउटा आँखा गायव हुन्छन् । विधिको विधान अनुसार यो बालक आफन्तभित्रै जसको काखमा बसाउँदा उसका हात र आँखा गायव हुन्छन्, उसकै हातबाट यसको मृत्यु पनि हुन्छ । उसको तेश्रो आँखा र दुई हात गायव गराउनका लागि शिशुपालका आमाबाबु र परिवारहरुले उपाय खोज्न थाले । तब त्यसबेलाको प्रचलन र परम्परा अनुसार ज्योतिषी पनि हेराइयो । ज्योतिषीहरुले पनि आकशवाणीले भनेकै कुरा बताए । तब शिशुपालकी आमाले पालैपालो यो बालकलाई आफन्तको काखमा राख्दै गइन् । कृष्णको काखमा राखेपछि शिशुपालको निधारबीचको तेश्रो आँखा र दुबै हात गायव भए । तब आफ्ना भदालाई फुपुले भनिन्– हे कृष्ण तिमीले मेरो छोरा जो तिम्रो भाइ पनि हो नमार्नु है । फुपुको अनुनय विनयपछि कृष्णले भने हे फुपु तपाईको छोराका सय गाली म सहन्छु । मार्दिन । जब गाली एक सय एक पुग्छ तब उसलाई मैले मृत्युदण्ड दिनै पर्छ । छोराको एक सय गाली सहने अभयदान पाएर आमा ढुक्क भएर घर फर्किन् । बालक शिशुपाल हुर्कंदै गए । सानो छँदा उनले कृष्णलाई गाली गर्नु पनि थिएन र गाली गर्नुपर्ने कारण पनि थिएन । जब शिशुपाल ठूलो हुँदै गए तब उनलाई कृष्ण देख्यो कि रिस उठ्न थाल्यो । तब उनी जहाँ–जहाँ कृष्णलाई भेट्थे गाली गरिहाल्थे । फुपु–मामाका छोराहरु भएर नाताले दाजुभाइको सम्बन्ध भएकोले विभिन्न कार्यक्रम, उत्सव, पूजाआजा आदिमा दुबैको भेटघाट भइरहन्थ्यो । जहाँ भेट्यो शिशुपालले कृष्णलाई तथानाम गाली गरिहाल्थे । महाभारत कथामै वर्णित पाण्डवहरु जो कृष्णकी अर्की फुपु कुन्तीका छोराहरु थिए । उनीहरुको राज्याभिषेकमा राजसूय यज्ञको आयोजना गरिएको थियो । त्यसको मुख्य आराध्यदेव अर्थात् प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुराकानी भयो । अन्तिममा भगवान कृष्ण स्वयम् हुँदाहुँदै यज्ञको आराध्यदेव कृष्णलाई बनाउने सहमति भयो । यज्ञको व्यापक तयारी भइरहेको थियो । त्यसैबेला निम्तो मान्न शिशुपाल पनि पुगे । कृष्णलाई यज्ञको आराध्यदेव बनाउने कुरामा उनले असहमति व्यक्त गरे । उनले कृष्णलाई मामुली ग्वालालाई किन यज्ञको प्रमुख अतिथि बनाएर किन सम्मान गर्ने भनेर तथानाम गाली गरे । कृष्णले शिशुपाललाई सम्झाए । तर, शिशुपालका गाली थपिँदै गए । जब गाली एक सय एक भयो तब कृष्णले आफ्नो सुदर्शन चक्रले शिशुपालको हत्या गरे । महाभारत कथाका शिशुपाल नामक पात्रको अन्त्य भयो । कथाका माध्यमबाट महाभारतले समाजमा अति भयो भने खति हुन्छ । त्यो गर्नुहुँदैन भन्ने शिक्षा दिन्छ भने मान्छे कुन हदसम्म सहनशील हुनुपर्छ भन्ने संदेश दिएको छ । कथाअनुसार कृष्णले आफूभन्दा ठूली फुपुको सम्मान गरेर उनको छोराका एक सय गाली सहने बचन दिएर ठूला बडाको सम्मान गर्ने शिक्षा शिसुपाल पात्रलाई खडा गरेर दिएको छ ।
