अस्ताउँदो घामसँगै ओझेल पर्छौ भने तिमी, फर्केर आउने आशमा बाटो हेरिरहूँला म । तिमी जान्छौ भने सहरतिर, राखिदिउँला बोरामा गाउँका यादहरू र ओभानो प्रेम, तिमीले छाडेर गएका पाइलाका छापहरूलाई अङ्कमाल गर्दै, टोलाएर हेरिरहूँला तिमी गएको बाटो । मेट्न खोज्दा पनि नमेटिने तिम्रा स्मृतिहरूलाई टुकीको धमिलो उज्यालोमा काव्य बनाएर लेखिरहूँला, तिमीले भुलेका ती मीठा बाचा–कसमहरू रातभरिको सिरौटो हावासँगै सुसेलेर गुन्जाइरहूँला । साँझ ढलेपछि जब चौतारी रित्तो हुनेछ, छोडिएका ती दिनहरू सम्झेर एक्लै मुस्कुराउँला, तिमी त पुगिसक्यौ होला आफ्नै नयाँ दुनियाँमा, म भने यहीँ, तिमीले छाडेको सन्नाटामै बाँचिरहूँला । खोटाङ, बराहापोखरी गाड्डपा हाल– कुवेत
