आउँदिनँ बा ! कुनै पनि कुसे औँसीमा तिम्रो मुख हेर्न अब आउँदिनँ किनकि – मैले पनि त देखाइनँ नि मेरो अन्तिम क्षणमा तिमीलाई मेरो मुख हेर त – सदगत गर्न समेत कुशको शव बनाउनु प¥यो है बा ! आउँदिनँ माया ! कुनै पनि तीजहरूमा मेरै हातको पानी पिलाएर मेरै आयुका लागि तिमीले बस्ने निराहार ब्रत तोडाउन अब आउँदिनँ किनकि – तिमीलाई पनि त दिइनँ नि मौका एक चम्चा पानी पिलाउन मेरो अन्तिम क्षणमा हिरण्य जल चढाउन मेरो पार्थिव शरिरमा हेर त – भोटेकोशीको धमिलो पानीले कस्तरी अघाएछु म है माया ! आउँदिनँ छोरा ! कुनै पनि दशैँहरूमा नयाँ नाना र चङ्गा अनि लट्टाई लिएर काखमा राखी राखी लिङ्गेपिङ खेलाउन अब आउँदिनँ किनकि – तिमीलाई पनि कहाँ दिएँ र औसर मेरो अरथी वरिपरि फन्का मारेर एक थुङ्गो फूल चढाउन हेर त – निठुरी बाबाले कस्तरी झुक्याएको है छोरा ! के गरूँ त ? बालुवाको भूपटलमुनि मस्त निदाएँ म कहिल्यै नबिउँझिने गरी थाकेँ नि त ! आकाशै खसेर थिचेपछि न ठाउँ पाएँ न समय उम्किनलाई भएभरको शक्ति लगाएँ सकेभरको संघर्ष चलाएँ अहँ लागेन, पार लाग्दै लागेन भोटेकोशीसँग पो थियो त चिनजान त्रिशुलीसँग पो थियो त मेलमिलाप अर्कै बबण्डर आयो, अनि ? उनीहरू त मरे ! हो त नि, उछिट्टिएर मरे उनीहरू पनि भोटेकोशी पनि म¥यो त्रिशुली पनि म¥यो उनीहरूसँगै म पनि मरेँ म सँगै हज्जारौँ मरे हज्जारौँ सँगै लाखौँ मरे मरिरहेछन्.. मरिरहेछन्...मरिरहेछन् तिमीहरू त बाँच्नू ल ! बाँच्नुपर्छ तिमीहरू – जलवायु बिगार्नेहरूसँग मेरो र हाम्रो मरणको हिसाबकिताब माग्नलाई तिमीहरू बाँच्नुपर्छ ! लेदो, बालुवा र गेगरले थिचेर, पुरेर, भित्रभित्रै दबाएर हामीले भन्नै नपाएका हाम्रा भोगाइका कथाहरू लेख्नलाई तिमीहरू बाँच्नुपर्छ ! त्रिशुलीको बगरमा पुरिएका सपनाहरू खोतल्नलाई तिमीहरू बाँच्नुपर्छ ! फेरि पल्टिए भने लाङटाङ लिरूङहरू फेरि बौलाए भने ल्हेन्दे, भोटेकोशीहरू निदाउँदा पनि बिउँझिइरहने जनचेतना जगाउनलाई तिमीहरू बाँच्नुपर्छ ! धन्न, धन्न बाँचेका छौ बाँच्नुपर्छ तिमीहरू ! जागा होस् वा निर्जीव एक झल्को अनुहार कुरिरहेका मेरा र मजस्तै हजारौँका बाहरू, माया र छोराछोरीहरू, तिमीहरू नरोइकन बस है ! नत्र फेरि – झनझन् टाढा पु¥याउनेछ आँसुको बाढीले हाम्रो आत्मालाई अझै बगाएर पीडालाई शक्तिमा बदल्नू ल ! तिमीहरू त हाँस्नू ल ! तिमीहरू त बाँच्नू ल ! नरूने कसम खान्छौ भने तिमीहरू एउटा कसम खान्छु म पनि आउँछु, कसम आउँछु हरेक साल कुसे औँसीमा तिजहरूमा, दशैँहरूमा तिमीहरूसामु आउँछु अमिट याद बनेर ..
