हेर्दाहेर्दै खण्डहर भयो बस्ती, देख्दादेख्दै मान्छेहरू बगे, बाढीको भेलसँगै कति जीवनहरू बेपत्ता भए कति आमाका आँखा रित्तिए, कति बाबुका काँधहरू सधैँका लागि झुके, कति बालबालिकाका सपना पानीसँगै बगे । प्रकृतिको एउटा झट्काले कति घरको छानो उडायो, कति आँगन सुनसान बनायो, पुस्ता नै सखाप बनायो कति वर्ष लगाएर बनाएका आशाहरू एकै छालमा सबै सपनाहरु चकनाचुर पारिदियो । हिजोसम्म जहाँ हाँसोको आवाज सुनिन्थ्यो, आज त्यहीँ मृत्युको मौनता छ । जहाँ भविष्यका सपना रोपिएका थिए, आज त्यहीँ बाढीले पीडाका छाप छोडेर गएको छ । आज फेरि प्रकृतिको उत्पात देख्नुप¥यो— मान्छेले मान्छेलाई होइन, प्रकृतिले नै मान्छेको असहायपनको परीक्षा लिइरहेझैँ । तर यो शोकको घडीमा एक–अर्कामाथि औँला उठाउनु हुँदैन । वादविवादका विषयहरू भोलिका लागि थन्क्याऔँ, आज देश शोकमा छ । आज वादभन्दा ठूलो मानवीय संवेदना छ, र आरोपभन्दा ठूलो एउटा जीवन बचाउने जिम्मेवारी छ । आउनुहोस्, यो दुःखको घडीमा सिंगो राष्ट्र एउटै मुटु बनौँ । जात, धर्म, भूगोल र विचारभन्दा माथि उठेर पीडितको आँसु पुछौँ, भत्किएको घरसँगै भत्किएको मन उठाऔँ । ज्यान गुमाउनेहरूलाई शब्दले फर्काउन सकिँदैन, तर उनीहरूको सम्झनामा हामी मानवीय बन्न सक्छौँ । बेपत्ताहरूको खोजीमा आशाको एउटा दियो बालौँ, घाइतेका पीडामा आफ्नो हात बढाऔँ, घरबार गुमाएकाहरूका लागि आफ्नो मुटुको ढोका खोलौँ । उद्धारमा खटिएका राष्ट्रसेवकहरूलाई केवल धन्यवादले पुग्दैन उनीहरूले बगाएको पसिना, उनीहरूले देखाएको साहस र उनीहरूले बोकेको मानवीयता राष्ट्रले सधैँ सम्झिरहनेछ । प्रकृतिले आज हामीलाई फेरि सम्झाएको छ मान्छे जतिसुकै शक्तिशाली भए पनि एक भेलका अगाडि कमजोर हुन्छ, तर दुःखमा एकजुट भएको मान्छे सबैभन्दा शक्तिशाली हुन्छ । त्यसैले, आज आँसु साझा गरौँ, आज पीडा साझा गरौँ, आज आशा साझा गरौँ । किनकि बस्ती फेरि उठ्नेछ, घर फेरि बन्नेछ, घाउहरू बिस्तारै निको हुनेछन् तर त्यसका लागि हामी सबैले मिलेर मानवताको हात समात्नुपर्छ । ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली । प्रकृतिको यो कठोर प्रहारबाट घाइते भएका हरेक जीवनसँग आज सिंगो देशको मुटु सँगै धड्किरहेको छ ।
