औँठी हराएको दिन, समयले आफ्नो गोलाइ ढुङ्गा निद्रामा लुकायो । औँलाको शून्यता एउटा अदृश्य ग्रहको परिक्रमामा थियो, जगडवाल ताराहरू सुदूर ब्रम्हाण्डको घनचक्करमा मस्त थिए जहाँ नसा–नसामा थिए उम्रिरहेका सुनको पुरानो भूगोलका काला भष्म र खरानीहरू मैले औंठी खोजें कुवाको प्रतिध्वनिभित्र, अक्षरको हड्डीमा टाँसिएको चिसो घामको बोक्राभित्र, निदाएका नदीहरूका बगरमा केवल भेटें अनिद्रित अनुहारका उदासी चित्र तर औँठी कुनै धातु थिएन अब त्यो त निहारिकामा नाँचिरहेको थियो वृत्तबाट निर्वासित अनन्तको एउटा अनुवाद हातले गुमाएको छ आफ्ना सबै हिंउँद बर्षा औठी अब नवविवाहिताको पुछिएका सिंदुरका रेखाहरूसँगैं उभिएर एकअर्काको शोकसभामा काला फूलहरू चढाइरहेका छन् कसले र्चोयो त्यसलाई ? हावाले भनेन ढुङ्गाले आफ्नो मौनता अझ गहिरो बनायो र छायाले मेरो नामलाई उल्टो पढ्दै साँझको निधारमा क्षीतिजको मूल ढोकामा भोटे ताल्चा अँठ्याइदियो हराएको औँठी औँलाबाट हराएको वस्तु होइन त्यो त आफ्नै अस्तित्वको परिधिबाट चिप्लिएको आत्मसम्मान रहेछ अहिले म हरेक वृत्तलाई आधा प्रश्न र आधा शून्य सम्झेर छुन्छु, र हरेक शून्यका गर्भमा एउटा अदृश्य औँठीको धातु पगालिरहेको हुन्छु म जान्दछु चिताग्नी निभेर मुर्दा वाचाल होला ! औँठी फर्किने छैन । बरु औँलाले नै आफ्नो अनुपस्थितिलाई लगाउनेछ, र समय वृत्तभन्दा बाहिर उभिएर हराएका सम्पूर्ण ज्यामितीय नापहरू फेरि एकपटक मौनतामा लेख्नेछन् भावनाका वृत्तमा कल्पनाका औंठीहरू । नारायणगढ, चितवन
