पर्खनेहरूले गर्दा रहेछन् सबैभन्दा धेरै माया’ एकाबिहानै उज्यालोको मसिनो मोक्षहरू खोज्दै तिमी त गैगयौ– मैले तिमीलाई पर्खिएर एक जुनी बाँचिदिएँ । घरको मिर्मिरे आँगनले– क्षितिजको घाम पर्खिएझैं कुनामा थन्किएको सितारले– औंलाहरू पर्खिएझैं पर्खिरहें, भोको शिशुले– आमा पर्खिएझैं असारमा किसानले– वर्षाद पर्खिएझैं पर्खिरहें मैले एक जुनी बाँचिदिएँ । तिमी जानुअघि नै मैले देखिसकेंको थिएँ मसँग बिदा मागिरहेका तिम्रा क्षमायाचनाका आखाँहरू तिमीले नभने पनि म सुन्न तयार थिएँ तिम्रो गन्तव्यसम्मको पाइतालाको सर्सराहट तिमी गएपछि– मैले तिमीलाई टाढैबाट नछोएर स्पर्श गरेरहेँ तिम्रो चम्किलो आखाँहरूसँग, आँखा जुदाइरहें तिम्रो कपालसँग, औंलाहरू जिस्काइरहें तिम्रै यादको हत्केला समाएर मैले एक जुनी बाँचिदिएँ एका बिहानै उज्यालोको मसिनो मोक्षहरू खोज्दै तिमी त गैगयौ– मैले तिमीलाई पर्खिएर एक जुनी बाँचिदिएँ’ सिद्धार्थ ! पर्खनेहरूले गर्दा रहेछन् सबैभन्दा धेरै माया ।
