लोकतन्त्र अर्थात् प्रजातन्त्रको सुन्दर पक्ष के हो भने आमजनताले रैती नभई नागरिकको महशुश गर्न पाउँछन् । यस तन्त्रमा सबैले आपूmलाई लागेको कुरा सहजै प्रकट गर्न पाउँछन् । त्यसैले पनि नेपालमा २०४६ र २०६२÷६३ को जनआन्दोलनपछि स्थापित खुल्ला परिप्रेक्ष्यमा पहिले दबाईएका आवाज क्रमशः मुखरित हुन पाएका छन् । त्यति मात्र नभई सीमान्तकृत, पिछडिएका यसमध्ये लोपोन्मुख जातजातिका आवाज तिनीहरुले नै उठाउन नसकेपनि तिनीहरुको लागि बोलिदिने, सम्झिदिने निस्केका छन् । यसरी तिनीहरुका आवाज लेख, रचना मात्र नभई साहित्यका विभिन्न विधा मार्पmत् प्रकट गर्ने, आममानिस समक्ष पु¥याउने क्रम पछिल्लो समय बढ्दो छ । यही मेसोमा केही समय अगाडि आख्यानकै रुपमा सही साहित्यकार अनन्त वाग्लेले राउटे जाति माथि कदम उपन्यास प्रकाशनमा ल्याएका छन् । भनिरहनु पर्दैन मध्यपश्चिम अर्थात् हालको कर्णाली प्रदेशमा सदियौंदेखि फिरन्ते जीवन बिताइरहेका पिछडिएका, लोपोन्मुख जाति हुन् – राउटे । नेपाली स्रष्टाहरुले आफ्नै जातिका विषयवस्तु माथि लेख्न त कति महाभारत छ ? त्यसमाथि एक अपरिचित, अनादिकालदेखि गुप्त प्रायः अर्थात् अहिले पनि अन्य समुदायमाझ सजिलै खुल्न नचाहने राउटे जाति माथि आख्यान रच्नु चानचुने साहसको विषय होइन । यही साहस देखाउने, आँट गर्ने जमर्को गरेका छन्, अनन्त वाग्लेले । अनन्त वाग्लेको दखलता बालसाहित्यमा हो । हालसम्म उनले ६५ भन्दा बढी बाल साहित्य रचेका र २०० भन्दा बढी पुस्तक (विशेषतः बालसाहित्य विषयक) सम्पादन गरिसकेबाट यही प्रमाणित हुन्छ । त्यसमाथि पछिल्लो समय बालसाहित्यको सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण दिने उद्धेश्यले नेपालभरि दगुरिरहेका हुन्छन् । राउटे युवकलाई मुख्य पात्र बनाई ३१२ पेजको उपन्यास सिर्जेका छन्, अनन्त वाग्लेले । र, उपन्यासको शिर्षक दिइएको छ – कदम । त्यो नाम जुराइनुमा पनि गहन अर्थ रहेछ, जुन कदम उपन्यास पढ्दा अवगत थाहा हुन्छ । संसारका फिरन्ताहरुमा समर्पित गरी सिर्जित यस उपन्यासमा पूर्व कथा, न्याउलीको रौतेलो, बाबुवृत्तान्त टु आत्मवृत्तान्त, रउनासँग बसिला चलाउँदै, आरनको उकालो, कोसी बन्यो बाटुलो, जालभरि गुना, घाउबाट चार पाउ कीरा, नयाँ जीवन लिएर पूजामा नृत्य र विकासे, झाँक्री बा र उनका किस्सा, अक्षरसँग हाराबारा, गाउँलेसँग झगडा, बुद्ध र मायादेवीसँग, बसपार्कतिर बरालिँदा, खलाँसी, मुखिया टोलीमा काठमाण्डु, प्रधानमन्त्री र नेताहरुसँग, सहरमा पाँच नागा, रात्रिभोज, बाईबाई काठमाण्डु, दशैं र बुलबुले एक्सप्रेस, भयानक दुर्घटना अघोरी अस्पताल र घर, तेस्रो गाडी तेस्रो मोड, बल्ल ड्युटी स्टेयरिङमा, प्रेम र प्रणय, राउटे पर्यटन, यायावर सम्मेलन, विमोचन शिर्षकमा कथालाई समेटेको छ । यसमा दुई उपकथा पनि छन् जसमा राउटे जातिले नागरिकता लिन नचाहेको र नागरिकताकै अभावमा खेप्नुपरेका समस्याहरुका साथै राउटे जस्तै सीमान्तकृत एवं लोपोन्मुख कुसुन्डा जातिका राजामामाको प्रसङ्ग पनि समेटिएको छ । यस उपन्यासमा कुनै नेपाली नेपालको दूरदराजबाट अमेरिका, बेलायत वा कुनै विकसित मुलुकमा पुगेर तिलस्मी चर्चित बनेको वा निकै ख्याती कमाएको विषय छैन । यो त हाम्रै देशमा फिरन्ते जीवन बिताई कर्णालीका विभिन्न रनबनमा चहारेर जीवनयापन गर्दै आएका जातिका कथा छ । अहिलेको समयमा कल्पना पनि गर्न सकिँदैन कि त्यस फिरन्ते जातिका बालबालिका एवं किशोरकिशारीहरु शिक्षाबाट वञ्चित छन् भने पूरै राउटे समुदाय आधुनिक समयका सुखसयलबाट निकै वञ्चित छन् । लेखक वाग्ले आपैंm यति विस्मित छन् कि उनले सिर्जेको कदम उपन्यास धरि पढ्न सक्ने कुनै राउटे युवायुवती छै्रनन् । यो निकै चिन्ताको विषय हो । कदम उपन्यास एकसरो राउटे समुदायकै कसैले पढ्न सकेको भए, मनन गर्न सकेको भए लेखक वाग्लेले उठान विषय गरेको कति सान्दर्भिक छ, यसमा कति सत्यता छ भन्ने कुरा प्रष्टिन्थ्यो तर उपन्यासका कदम पात्र राउटे समुदायमा वास्तवमै भेट्टाउन सकिएन । तर उपन्यासमा भने लेखकले शिक्षाको महत्व अनि कदमले कखरा सिक्दाताकाको संघर्ष सपाट तवरले देखाई दिएको छ । र, यसै मेसोमा लेखकले नेपालको शिक्षानीतिप्रतिको असन्तुष्टी पोख्न बाँकी राखेको देखिँदैन । उपन्यासमा ठाउँ ठाउँमा कदम अनि उनको परिवारले व्यहोर्नु परेको समस्याहरुको लर्को पाईन्छ । धन्न कदम पात्रले विभिन्न दुःख हण्डर खाईकन भएपनि अन्तिममा नायक भैंm प्रस्तुत भएको छ । कलिलै उमेरमा आफ्नो बुबाको अवसान पनि राउटे जातिको रैथाने काष्ठकला सिक्दा देखि होटल मजदुर, खलाँसी, हेल्पर हुँदै ड्राईभर अनि होटल मालिक एवं पर्यटनकर्मी बन्दाका संघर्ष पढ्न पाईन्छ । यस बीच लालटिकी र एकजना दिदी पर्नेबाटको एकोहोरो प्रेम प्रसङ्ग पनि उल्लेख छ । कदमको जीवनलाई आकार दिन रउना, होटलका साहुनी, जगत मामा, बले गुरु र समुद्र गुरुङ कसरी सहयोगीका रुपमा प्रकट भए ? अनि कर्मा दिदी र अघोरीबाबाले दुई दुई चोटी कसरी जीवनदान दिए, मुटु नै गाँठो पर्ने कथा उल्लेख छ । भलै कदम पात्रको माध्यमबाट उपन्यासको अन्तिमतिर यायावर सम्मेलनको आयोजना उल्लेख भएपनि लेखकले संसारभरिका फिरन्ताहरुमाथि कति धेरै अध्ययन अनुसन्धान गरेको रहेछ, सीधै महशुश गर्न सकिन्छ । उपन्यासमा कथिए भैंm यायावर सम्मेलनमा कदमले स्वागत गर्नासाथै विश्वभरबाट त्यहाँ उपस्थित १० वटै समुदायका प्रतिनिधिलाई मञ्चमा विराजमान गराइयो । त्यहाँ असरो, कजाक, हुली, ग्याउचो र नेनेट समुदायका नेता, त्यसैगरी टिब्टेन, हिम्बा, माओरी र रारामुरीले पनि स्टेजका कुर्सीमा ठाउँ लिए भन्ने उल्लेख छ । र, लेखकले उपन्यासलाई अझ धेरै रोचक बनाउने क्रममा पपुवा न्युगिनीका असरो, कजाकस्तानका कजाक, पपुवा न्युगिनीका हुली, अर्जेन्टिना र उरुग्वेको घाँसे मैदान क्षेत्रका ग्याउचो, दक्षिणी केन्या र उत्तरी तान्जानियाका मसाई, साइबेरियाको टुन्ड्रा क्षेत्रका नेनेट, तिब्बतका टिब्टेन, नामिबियाको पुरानो जाति हिम्बा, पूर्वी पोलिनेसियाको पवित्र भूमिका माओरी, मेक्सिको आदिवासी रारामोरी अर्थात् ताराहुमारा समेटेको छ । तिनीहरुका जीवनशैलीलाई असरो माटे मानव, चील शिकारी कजाक, झगडालु, ग्याउचो गोठालो, चौपाया र गहनाका सोखिन मसाई, नेहेटका पिरामिड छाप्रा, टिब्टेन र चौंरी, हिम्बाको धुँवा स्नान, कथावाचक माओरी, एथ्लेट समुदाय रारामुरी अर्थात् ताराहुमारा उप–शिर्षकमा समेटिएको छ । तर तिनीहरुको जीवनशैलीबारे जानकारी प्राप्त भएपछि हाम्रा राउटे जाति चाहिँ साँच्चिकै अर्थमा फिरन्ता नै रहेछन् भन्ने प्रतित हुन्छ । तिनीहरु नेपालभित्रकै अन्य सीमान्तकृत जाति चेपाङ, माझी, मुसहर भन्दा पनि पिछडिए भैंm अनुभूति हुन्छ । ‘व्हाट नेक्स्ट’ भनेभैंm राउटे जातिको जीवनयापनलाई अब पनि यथास्थितिमै चल्न दिने कि ? समय अनुसार तिनीहरुलाई परिवर्तनका लागि उत्प्रेरित गर्ने कि ? तिनीहरुको न्युनतम आधारभूत आवश्यकता (गाँस, बास, कपास, अनि शिक्षा र स्वास्थ्य) का ग्यारेन्टी कसरी गरिदिने ? तिनीहरुको जीवनशैली अर्गानिक तवरमा कसरी राखिराख्ने ? अचेलका युट्युबर अनि विगतका डलरवादी गैरसरकारी संस्थाहरुबाट तिनीहरुको दैनिकीमा कसरी बिथोल्न नदिने ? अनि राउटेहरुलाई पनि जाँड, रक्सी अनि अन्य खराब बानीको लतबाट बचाउने ? तिनीहरु र वन उपभोक्ताबीचको झगडा कसरी न्यूनिकरण गर्ने ? सरकारबाट प्राप्त हुने नियमित अनुदान एवं पर्व खर्चको सही उपयोग कसरी गराउने ? मुख्य चिन्ता अनि चासोको विषय यही छ । लेखक कुनै समय एक प्रतिष्ठित दैनिकमा समाचार सम्पादकका रुपमा कार्यरत रहँदा विशेषतः त्यसबेलाको मध्य पश्चिम क्षेत्र अर्थात् हालको कर्णाली प्रदेश अन्तर्गतका दैलेख, सुर्खेत, रुकुम, सल्यान एवं जाजरकोटबाट निरन्तर जसो आईरहने राउटे लडेर अकालमा मृत्यु भएको, राउटे बालबालिका स्कुल जान अर्थात् शिक्षा पाउनबाट वञ्चित भएको, नागरिकता लिन नमानेको तर यसैकारण समस्या खेप्नुपरेको, सुत्केरी क्रममा अकालमा मृत्यु भएका खबरबाट आख्यानका रुपमा सिर्जना गर्न उत्सुकता जागेको रहेछ । पृथक जाति विषयमाथि कतिपनि बेमेलका कुराहरु नसमेटिने गरि उपन्यास नै लेख्नु कम चानचुने कुरा होइन । लेखकले आपूm यस अभियानमा दृढ भएपछि कोभिड महामारीको अवधिलाई पूरै अध्ययन, अनुसन्धान अनि डकुमेन्ट सङ्कलन, लेखनमा खर्चेको रहेछ । केही दिन त सुर्खेत छिन्चु पर भेरी किनारमा राउटे वस्तीमा गई स्थलगत अध्ययन गरेको पनि रहेछ । उपन्यासको अन्त्यमा राउटे भाषाले बोल्ने कतिपय शब्दका शब्दार्थ पनि समेटिएबाट सुनमा सुगन्ध भैंm भएको छ, यो उपन्यास । आफ्नो हिसाबले उपन्यासको पाण्डुलिपि तयार भएपछि कतिपय विज्ञहरुलाई पढ्न दिएर, तिनीहरुबाट प्राप्त फिडब्याक अनुसार परिष्कृत गरेको रहेछ । यत्तिको मेहनत गरेकैले त होला, पहिचान पुरस्कार पाउन पनि सफल भयो, लेखक अनन्त वाग्ले । सीमान्कृत जातिको, नेपालकै चर्चित फिरन्त समुदायको विषय आख्यानको रुपमा प्रस्तुत गरेर अनन्त वाग्ले धन्यवादका हकदार भएका छन् ।
