लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो ! हेरेनन् कि क्यालेन्डर कि चाड नै अगि गयो ! जन्माष्टमी आए सँगै तीज पो लाउथ्यो पहिले ! यति चाडै आउन थाल्यो के भएर अहिले ! जन्मे की खै अर्का कृष्ण असारैमा फेरि ? मनायौ कि तीजलाई फेरि त्यहि तिथीलाइ हेरी ? टोल छिमेकमा पार्टी चले गीत नि गाइसके फेसबुक र मिडियामा तिनै छाइ सके असारे गीत सुन्ने याममा सुन्छु तीजका गीत ! उल्टीयो कि कोल्टो पर्यो चाडबाडको रीत ? बिराला र पिराला रे गीत नि कस्ता कस्ता ! क्यारी होला सुन्नी हेर्नि परिवारमा बस्दा ! तिजका गितमा पहिला हुन्थे मात्र नारी ब्यथा अहिले आए गहना र फरियाका कथा ! गितका शब्द कस्ता हुन ति फरिया त्यो सर्नि झनै माथि तान्न खोज्यो झनै तल झर्नि ! उमेर हदको सिमा तोक तीजका गीतमा पनि बयश्कले मात्र हेर्नु तीजको यो गीत भनि ! रत्यौली र दोहोरी गित भए तिजका गित बिर्सिए त्यो रिती स्थिती फेर्दीए त्यो रीत ! महिला मात्र जम्मा भै नाँच गान गर्थे पहिले लूठो न भा तिजका गित चाँहि आउन छोडे अहिले ! बहुरुपी बहुरङ्गी आ छन् लूठा बनि बिच–बिचमा हामी पनि नाँच्नु पर्छ भनि नर हुन् कि नारी हुन ति चिन्नु पनि क्यारी ? मुहार भरि दार्हि जुङ्गा हरमा ला छन् सारी ! सँस्कृति कि बिकृति हो चिन्न गार्हाे आज पहिरन पनि उस्तै अझै छैन शर्म लाज काँहा गए तने चोली कठै आज भोलि औतारी त्यो टालो लाछन् पिठ्यु पुरै खोलि त्यत्रो छाती ढाक्न कठै चार अँगुलको टालो बाक्लो हो र त्यहि नि अझ माकुराको जालो ! तीजका पार्टी कति कति खाने चिज नि अति माशु माथि मदिरा छ पिउन सके जति तीजको दरमा आज कठै आयो माशु जाँड ! तीज हो कि?हो यो कतै गहनाको चाड ? खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन आज आयो अर्को घाँडो तिन्लाइ पुर्याइ दिन ! मदिरामा लठ्ठीएका लड्लान कतै भनि घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि गहनाको प्रदर्शनी धाकको प्रतिस्पर्धा आफ्नै ज्यानलाइ जोखिम पारि चोरलाई निम्ता गर्दा काँहा जाँदो हो बुद्धी विवेक पढेकैको पनि तीज लाएसि मेसै पाउन्नन् के ले अन्धो बनि ? के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ सजिला नि हुन् र अझ गहना नि कस्ता तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता न त दिन्छ शितल कतै न त हर्छ जाडो ? बिना सित्तै हत्य गरि भिर्छन् त्यस्तो घाँडो ! पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि ? घुडा सम्मै लत्रिएको क्यारी होला स्यार्नी ! कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि त्यो लाएसी छुट पाइन्छ कि जे गरेनी भनि ? झुम्का पनि अचम्मैका रामलीलाका अरे तिम्रो लिला देखेर कि राम नि दङ्ग परे ? तिम्रा धनको तिम्रो मर्जी जे जे घिच गर बिन्ति छ है नभन्देउ है यसलाइ तिजको दर (कवि पन्त, बाग्लुङ मुलपानी हाल टेक्सास अमेरिकामा बसोबास गर्छन् ।)
